
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ ।
आईसीसीले आफ्नो वेबसाइटमा राखेको जानकारीअनुसार विजेता टोलीले २२ लाख ४० हजार अमेरिकी डलर (करिब ३० करोड ९७ लाख रुपैयाँ) पाउनेछ ।
दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार अमेरिकी डलर (करिब १५ करोड ४८ लाख रुपैयाँ) पाउनेछ ।
सेमिफाइनलमा हारेको टोलीले ५ लाख ६० हजार अमेरिकी डलर (करिब सात करोड ७४ लाख रुपैयाँ) पाउनेछन् ।
फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन् । यसको अन्तिम खेल मार्च ९ मा खेलिनेछ । यसलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली छन् ।
च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछन् । भारतका खेलहरू पाकिस्तानमा आयोजना हुनेछैनन् ।
२०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।