दुर्घटना सुखद त कुन पो होला र ? तर बालबालिका सवार सवारी साधनको दुर्घटना बढी नै दुःखलाग्दो हुन्छ । नेपालमा भने विद्यालयका बालबालिका सवार बसको दुर्घटना ‘नियमित आकस्मिकता’ जस्तो हुनपुगेको छ ।
पछिल्लोपटक काठमाडौँको चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस नगरकोटमा वनभोजबाट फर्कने क्रममा दुर्घटनाग्रस्त भयो । शङ्करापुरको जर्सिङपौवा नजिकै भएको दुर्घटनाबाट तीन जनाको ज्यान गयो भने अरू ४३ जना घाइते भएका थिए ।
दुर्घटना भएको बा २ ख ७९५८ नम्बरको बस ‘सुन्दरीमाइ यातायात’को हो । अर्थात्, विद्यालयको आफ्नो बस होइन । विद्यार्थी दुर्घटनामा परेका बसहरू प्रायः यसरी नै भाडाका हुन्छन् । यसैले जर्सिङपौवा दुर्घटनालाई प्रतिनिधि घटना मान्न सकिन्छ ।
बालबालिकालाई शैक्षिक भ्रमण वा मनोरञ्जनका लागि विद्यालयबाहिर लैजानु आवश्यक र उचित क्रियाकलाप हो । तर, त्यस क्रममा उनीहरूको सुरक्षा र सुविधामा भने विशेष ध्यान दिइनुपर्छ । अधिकांश दुर्घटनामा भने विद्यालय व्यवस्थापनका तर्फबाट लापरवाही गरिएको देखिन्छ ।
नियमित रुटमा सञ्चालनको अनुमति पाएका र बानी परेका चालकहरूले बालबालिकाका विशेष आवश्यकतालाई महत्त्व दिने गर्दैनन् । तीमध्ये अधिकांशको त सवारी चालन शैलीमात्र होइन बोलीचालीसमेत बालमैत्री हुँदैन । यसैले विद्यार्थीहरू विशेषगरी बालिकाहरूले बढी नै असहज अनुभव गर्छन् ।
यस्तै, बालबालिका सहभागी कार्यक्रममा मादक पदार्थ सेवन गरिनु हुँदैन । तर, पिकनिकजस्ता मनोरञ्जनका अवसरमा सहभागी वयस्क शिक्षकशिक्षिकालगायत सवारी चालकहरूले भने बालबालिका पनि सँगै भएको हेक्का नै नराखी ‘पिकनिक’मा रमाउने गर्दा अकल्पनीय दुर्घटना हुनपुग्छ ।
यसैले अहिले भएका अधिकांश दुर्घटना भवितव्य भन्दा पनि बढी हेलचेक्य्राइँको परिणाम हुन् भन्न हिचकिचाउनु पर्दैन । यसैले राज्यले ध्यान दिने हो यस्ता दुःखद घटना नियन्त्रण गर्न सकिने देखिन्छ । त्यसो त सार्वजनिक यातायातमा पनि यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिने हो भने धेरै दुर्घटना टर्न सक्थ्यो ।
विद्यालयहरूले सार्वजनिक यातायातका गाडीहरू भाडामा लिएर काम चलाउँदा यस्ता दुर्घटना धेरै भएको देखिएकाले त्यसको विकल्पमा ध्यान दिनुपर्ने देखियो । सार्वजनिक यातायातका सवारी साधन भाडामा लगाइँदा नियमित सेवा पाइरहेका यात्रुलाई असुविधा हुने हुनाले यसै पनि यस्तो अभ्यास बन्द गर्नु नै उपयुक्त हुनेछ ।
यसैगरी बालबालिका सवार हुने सवारी साधन चलाउनका लागि चालकहरूलाई विशेष तालिम पनि दिनु आवश्यक हुन्छ । बालबालिका सवार गाडीका चालक, सहचालकका साथै विद्यालयका कर्मचारीले पनि बालमैत्री चालचलन र बोलीचालीसम्बन्धी तालिम लिनुपर्ने देखिन्छ ।
रोक्न सकिने दुर्घटनालाई ‘भवितव्य’ भन्दै पन्छनु हुँदैन । बालमैत्री अभ्यास सिकेका सवारी चालक भएमात्र विद्यालयको बसजस्ता बालबालिका चड्ने गाडी चलाउन पाइने नियम बनाएमा दुर्घटना टर्नमात्र होइन विद्यार्थीको दैनिक यात्रा पनि सहज र सुविधाजनक हुनेछ ।