काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधारमा प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको आयोजनाले जनाएको छ ।
संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायत कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको प्राविधिक निर्देशक गिरिराज अधिकारीले जानकारी दिए ।
कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायत संरचना निर्माणाधीन छन् ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
विसं २०७२ सालको भूकम्पबाट प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण तथा अस्थायी आवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाहरूको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गरेको थियो ।
आयोजना प्रभावित आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै योजना कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।
उक्त योजनामार्फत समुदाय आफैँले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म दुई करोड बढी खर्च गरिएको जनाइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार, रोजगारी एवं जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए ।
आयोजनाले स्थानीय बासिन्दाको मागबमोजिम प्राथमिकताका आधारमा योजना छनोट गरी सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिइने उनले बताए ।
आयोजनाले हाकुबेँसीमा त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्न सात करोड ८६ लाख १४ हजार खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका–१ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दाको सडक पहुँच स्थापित भई सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौँतर्फ आवतजावत गर्न सहज भएको छ ।
प्रभावित क्षेत्रमा सडक निर्माणका लागि १८ लाख ५७ हजार खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप रु ७० लाख खर्च भएको जनाइएको छ ।
प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरणलगायत काम भएका छन् ।
हाकुस्थित तीनवटा विद्यालयलाई सन् २०१८ देखि एक÷एकजना शिक्षक उपलब्ध गराइएको छ । आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको सांस्कृतिक रीतिरिवाज संरक्षण र प्रवर्द्धनका लागि गुम्बालगायत भवन निर्माण र अन्य कार्यक्रममा सहयोग गर्दै आएको प्राविधिक निर्देशक अधिकारीले जानकारी दिए ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको लगानी छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत ‘इक्विटी’बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने जनाइएको छ । रासस