site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एउटै उद्योगको औषधि किन पटकपटक गुणस्तरहीन भेटिन्छ ?

काठमाडौं । औषधि व्यवस्था विभागले यही माघ २४ गते औषधि बजारबाट फिर्तासम्बन्धी एउटा सूचना (रिकल नोटिस) जारी गर्‍यो, जुन डेढ वर्षअघि नै बजार लाइसेन्स खारेज गरिएको औषधिबारे थियो ।

उक्त सूचना अनुसार, विभागले ०८० भदौ १८ गते उत्पादन अनुज्ञापत्र तथा बिक्री वितरण दर्ता प्रमाणपत्र रद्द गरेको औषधिका विभिन्न ब्याच बजारमा भेटिएका थिए । प्रजनन प्रक्रियामा आवश्यक हर्मोन सन्तुलन गर्न प्रयोग गरिने ‘फर्टिभेट’ नामक क्लोमिफिन साइट्रेट ट्याब्लेटका विभिन्न ब्याच बजारमा भेटिएका थिए ।

चाँगुनारायण–३ झौखेलस्थित एमडीएच फार्मास्युटिकल्स प्रालिले लाइसेन्स नै रद्द गरिएको औषधि उत्पादन गरी बिक्री वितरण गरेको पाइएको थियो ।

Dabur Nepal
NIC Asia

लाइसेन्स रद्द गरिएयता नै कम्पनीले सो औषधिका तीनवटा ब्याच उत्पादन र बिक्री वितरण गरेको पाइएको थियो । पछिल्लोपटक डिसेम्बर २०२४ मा उक्त औषधि बनेको पाइएपछि विभागले रिकल नोटिस निकालेको थियो । 

त्यसको तीन दिनअघि माघ २१ गते मात्रै विभागले तीनवटा कम्पनीका फरकफरक औषधि रिकल गरेको थियो । जसमा काभ्रेको बनेपास्थित क्युरेक्स फर्मास्युटिकल्स्बाट उत्पादित 'क्याल्बोन' नामक क्याल्सियम र भिटामिन 'डी थ्री' मिश्रित ५०० एमजीको ट्याब्लेट पनि थियो ।

क्याल्बोन ट्याब्लेटबारे विभागले यसअघि पनि पटकपटक चेतावनी सूचना निकालेको थियो । तर, सोही औषधिका ब्याच नम्बर टीसीएल २०३ देखि टीसीएल ३४१ सम्मका ट्याब्लेट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तोकिएको स्तरबमोजिम नपाइपछि विभागले उत्पादनमा नै रोक लगायो ।

माघयता विभागले फरकफरक कम्पनीका विभिन्न औषधिका एक दर्जन ब्याचलाई रिकल गर्‍यो । आर्थिक वर्ष २०८०/०८१ मा स्वदेशी र विदेशी कम्पनीका गरी १८ वटा ब्याचका औषधि बिक्री वितरणमा रोक लगाएको विभागको तथ्यांक छ । तर, यसरी बजारबाट फिर्ता गरिएका वा बिक्री रोक्का गरिएका औषधि प्रयोगशालामा लामो समय 'होल्ड' हुन्छन् । कतिपय औषधि म्याद गुज्रिन लागेका र नियमित प्रयोग भइरहेका पाइन्छन् ।

अर्थात्, औषधि प्रयोगशालामा प्रयोग गर्न नै धेरै समय लिइन्छ । एक ब्याचको औषधिको गुणस्तर परीक्षण गर्न राष्ट्रिय औषधि प्रयोगशलाले  ६ महिनादेखि एक वर्षसम्म पनि लगाउँछ । 

प्रयोगशलालो औषधि परीक्षण प्राथमिकताका आधारमा गर्दै आएको छ । जसअनुसार, बजार अनुगमनबाट ल्याइएका औषधि परीक्षणमा ढिलाइ हुने गरेको छ । प्रहरीमार्फत वा उजुरीमार्फत आएका औषधिलाई पहिलो प्राथमिकता (अर्जेन्ट)मा राखिन्छ । बजार अनुगमनका क्रममा ल्याइएका नमुनालाई 'क्यू'मा राखिन्छ । 

प्रयोगशालामा परीक्षणका लागि न्यूनतम मासिक ३० देखि ९० वटासम्म नमुना आइपुग्छन् । अर्जेन्टमा राखिएका नमुना दुईदेखि तीन दिनभित्र परीक्षण गरिन्छ । तर, 'क्यू'मा रहेका औषधि कम्तीमा दुई महिना लाग्न सक्छ । यसको मुख्य कारण प्राविधिक जनशक्तिको अभाव रहेको प्रयोगशाला बताउँछ ।

न्यून गुणस्तरीय भेटिने वा कारबाहीमा पर्नेमा अतिसंवेदनशील एन्टिबायोटिकदेखि, इन्जेक्सन तथा भिटामिन क्याल्सियमलगायत औषधि छन् । तर, प्रयोगशालाको ढिलासुस्तीका कारण आमनागरिकले आफूले प्रयोग गरिरहेको औषधि गुणस्तरीय रहे/नरहेको समयमै थाहा पाउनै सक्दैनन् । अर्कोतिर खारेजीमा परेको उद्योगले पटकपटक उत्पादन गरेर बजार पठाइरहेको विषय गम्भीर छ ।

यसमा विभागको नियमन फितलो कि उद्योगीहरू गैरजिम्मेवार भएको ? विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बजार अनुगमन र कारबाहीमा विभागले अपेक्षाकृतरूपमा काम गर्न नसकेको स्वीकार्छन् । "यसमा जनशक्ति अभाव नै मुख्य कारण बनेको छ, तर परीक्षण रिपोर्ट नआउँदासम्म रिकल गर्न मिल्दैन । यो प्राविधिक समस्या नै हो हाम्रो," उनले भने ।

तर, औषधिको गुणस्तर र नियम मिच्ने उद्योगलाई कारबाहीमा सम्झौता नगर्ने उनको दाबी छ । नेपालमा जटिल रोगको उपचारमा प्रयोग हुने ५५ प्रतिशत औषधि भारत, अमेरिका तथा युरोपियन मुलुकहरूबाट आउँछ । 

सरकारले निःशुल्क प्रदान गर्ने ९८ मध्ये ८० प्रतिशत औषधि नेपाली उद्योगका छन् । औषधि व्यवस्था विभागका अनुसार, हाल नेपालमा २० हजार ७१४ प्रकारका औषधि दर्ता भएका छन् । तिनको बिक्री तिवरणका निम्ति ३० हजार १८५ वटा फार्मेसी सक्रिय छन् ।

स्वदेशी औषधि उद्योग १८८ वटा र आयातकर्ता कम्पनी १९४ वटा दर्ता छन् । तर, औषधिको गुणस्तरको सवालमा तिनको नियमन र कारबाहीमा विभाग फितालो उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड भैरहेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro