सप्त कोसीमा बाँधिएको बाँध (ब्यारेज) सम्भवतः पूर्वपश्चिम राजमार्गकै पहिलो पुल पनि हो । सन् १९६२ मा बनिसकेको यस बाँधको आयु समाप्त भइसके पनि नेपालले नयाँ पुल बनाउन सुरु गर्नै सकेको छैन । चतरामा बनाइएको पुल कोसी तर्ने विकल्प भए पनि पूर्वपश्चिम राजमार्गभन्दा निकै टाढा छ । यसैले राजमार्ग सञ्चालनकै लागि पनि ब्यारेजको नजिकै उत्तरतर्फ अर्को पुल र सडक बनाउनै पर्छ ।
नेपाल सरकारले पुल र सडक निर्माणको लागि अध्ययन गरेको पनि छ । सडक विभागले कोसी ब्यारेजको विकल्पमा बनाइने पुल र राजमार्गको डिजाइनसमेत तयार गरिसके पनि कोसीटप्पु वन्यजन्तु आरक्षले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । आरक्षमा अधिकारीहरूका अनुसार प्रस्तावित नयाँ ठाउँमा सडक र पुल बनाइएमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्ने जोखिम भएकाले अनुमति नदिइएको हो ।
अहिले पूर्वपश्चिम राजमार्गमा कोसी पुलको रूपमा प्रयोग भइरहेको संरचना नेपाल-भारत सन्धि तथा सहयोगमा बनेको हो । यही ठाउँमा अर्को संरचना बनाउन यसैले कूटनीतिक जटिलता पनि छ । कोसीमा उच्च बाँध बनाउने प्रस्ताव गरिरहेको भारतको प्राथमिकतामा पनि अहिलेकै संरचनाको प्रतिस्थापन सायद छैन । यसैले पनि नेपालले यसको नजिकै नयाँ पुल र बाटो बनाउनै पर्ने बाध्यता छ ।
नयाँ बाटो र पुल सकेसम्म चाँडो बनाउनै पर्ने नेपालको बाध्यता सडक विभाग र आरक्ष दुवै कार्यालयका अधिकारीहरूले बुझेकै हुनुपर्छ । सडक विभागले नयाँ पुलको डिजाइन तयार गर्नुभन्दा पहिले नै वातावरणीय प्रभावको अध्ययन गरेको र आरक्षको धारणा लिएको भए सम्भवतः अहिलेको अप्ठेरो आइपर्ने पनि थिएन । यसैले अब पहिले नै समन्वय गरेर सडक र पुलको डिजाइन तत्काल पुनरवलोकन गर्नु बुद्धिमानी हुनेछ ।
कोसीटप्पुका अधिकारीले सडक विभागले प्रस्ताव गरेको ठाउँमा सडक र पुल बनाउँदा आरक्षको वातावरणमा प्रतिकूल प्रभाव पर्ने हुनाले अहिले पुल भएको ठाउँ नजिकै नयाँ संरचना निर्माण गर्नु उचित हुने सुझाव दिएका छन् । डिजाइनसमेत बनाइसकेको सडक विभाग अधिकारीहरू प्रस्तावित ठाउँमा नयाँ पुल र बाटो बनाउँदा सडक सोझो हुनेसमेत दाबी गर्छन् । यसैले दुवैतर्फको तर्क सुनेर सहमतिमा यसको निकास निकाल्नुपर्छ ।
नेपालमा यसरी विभिन्न कार्यालयहरूबीचको समन्वयको अभावमा थुप्रै योजना अलपत्र परेका छन् भने ठूलो धनराशि समेत खेर गइरहेको छ । समन्वयको अभावको यो समस्या सरकारी संयन्त्रको स्थायी अवरोधजस्तै बनेको देखिन्छ । यसैले पूर्वपश्चिम राजमार्गको कोसीमा अर्को पुल तत्काल बनाउनै पर्ने अत्यावश्यकता महसुस गरेर तत्काल निकास निकाल्न प्रधानमन्त्रीकै स्तरबाट अग्रसरता लिनुपर्ने देखिन्छ । साथै, यस्तै समस्या अन्यत्र पनि भएकाले मन्त्रालयहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास गरिनुपर्छ र आवश्यक भए त्यसका लागि संयन्त्र बनाइनुपर्छ ।