![नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पारित](https://12khari.top/uploads/posts/thumbnail_SS-4-1739285847.jpg)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले चुक्ता पुँजी आठ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
कम्पनीको २५औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले प्रस्तुत गरेको आव २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।
सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी दुई खर्ब १५ अर्ब रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोष दुई खर्ब आठ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले हालसम्म २ खर्ब ८८ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ८४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।