यसो त नेपालका सबैजसो सडकमा यात्रा गर्नु डरलाग्दो नै हुन्छ । विशेषगरी पहाडी सडकहरू भूबनोट र इन्जिनियरिङसमेतका कारण बढी जोखिमपूर्ण छन् । तैपनि सरकारले तिनलाई सुरक्षित र सुविधाजनक बनाउन भने प्राथमकिता दिएको देखिँदैन ।
जथाभावी बनाइएका ‘डोजरे सडक’ त ‘नरकयात्र’ कै पर्याय छन् बर्सौँ पुराना पक्की सडकहरूको अवस्था पनि अहिले दयनीय देखिन्छ । सडकको स्तरोन्नतिका नाममा थालिएको विस्तार कार्य सम्पन्न नभएका समेत कारणले अहिले सबैजसो मुख्य र महत्त्वपूर्ण सडकहरूको बिजोग भएको छ ।
पूर्वपश्चिम राजमार्गका विभिन्न भागहरू विशेषगरी बुटवल-नारायणगढ खण्ड बर्सौँदेखि अलपत्र छ । सडक भत्काउने काम जति तीव्र गतिमा सकियो बनाउन थालेपछि गति उत्तिकै धिमा भयो । अब त बेलायतको सहयोगमा बनेको यो सडक खण्ड कुनै बेला पक्की थियो भन्ने पनि यात्रुले थाहा पाउँदैनन् ।
काठमाडौं-पोखरा राजमार्गका विभिन्न खण्डहरू स्तरोन्नतिका नाममा भत्काएर यात्रुलाई सास्ती दिन थालिएको पनि एक दशक पुग्ने बेला भयो । स्वदेशीमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पर्ने पोखरा पुग्न प्रयोग गरिने सडकको अवस्थाले यात्रुहरू दिक्क हुन्छन् ।
अरनिको राजमार्ग भुइँचालोपछि बिग्रेको अझै राम्ररी सञ्चालन हुनसकेको छैन । गत वर्षामा आएको बाढीपहिरोका कारण भत्केको बीपी राजमार्गको पुनर्निमाणका लागि सरकारले अझै स्रोत त परै जाओस् विधिसम्म तय गर्न सकेको छैन ।
कहिल्यै सम्पन्न नहुने कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्गका विभिन्न खण्डहरू, काठमाडौं(रसुवागढी, पोखरा(जोमसोमलगायत कुनै पनि सडकमा ढुक्क भएर यात्रा गर्न सकिने अवस्था छैन । सरकार भने धमाधम सडक सञ्जाल विस्तारमा लागेको लाग्यै छ । नलागोस् पनि किन पूरा गर्नुपर्छ भन्ने छैन क्यारे १
सडक पूर्वाधारको कमजोर अवस्थाका कारण यात्रुले पाउने सास्ती, दुर्घटनाबाट हुने मानवीय क्षति, पर्यटन उद्योगमा पर्ने प्रतिकूल प्रभावको मूल्य निर्धारण गर्ने हो भने बर्सेनि खर्बौंको नोक्सानी भइरहेको देखिनेछ । विडम्बना, सरकारले त ध्यान दिएन नै संसद्मा समेत सडकहरूको दुर्दशाको खासै चर्चा भएको पाइँदैन ।
भौगोलिक र प्राकृतिक कारणले हुने क्षति रोक्न नसकिएला तर व्यवस्थापन एवं नियमन चुस्त बनाउन सके धेरै हदसम्म सडक जोगाउन सकिन्छ । सडक वा पुलको भारवहन क्षमताभन्दा बढी बोझ लिएर गुड्ने गाडीदेखि एकातिर सडकै भासिनेगरी बोझ बोक्ने टिपरहरूसम्मको बोझ नियन्त्रण गर्न त नियामक निकायले ध्यान दिएमात्रै पनि पुग्छ ।
हिउँदमा त जसोतसो यात्रुहरू २०० किलोमिटरको यात्रा १० घन्टा लगाएर पनि गर्छन् तर बर्खामा त सडक बन्दैसमेत हुनपुग्छ । राजधानी आउनेजाने सबैतिरका सडकहरूलाई यसरी बन्द हुने जोखिममा रहन दिनु त रणनीतिक दृष्टिले पनि मूर्खता हो । यसैले तत्काल सम्पन्न गर्न नसक्ने भएकाले सबै सडकहरू बर्खामा पनि सहजरूपमा सञ्चालन गर्न तत्काल योजना बनाएर बजेटको व्यवस्था गर्नु बुद्धिमानी हुनेछ ।