site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सञ्जाल विधेयकविरुद्ध विराजभक्त : संसद्‌मा सुनाए कृष्ण सेनको कविता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल विधेयकविरुद्ध मत राखेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले ल्याएको विधेयक हेर्दा धेरै मान्छे थुन्न जेल बनाइसकेको आभास हुने बताए ।

“सभामुख महोदय, के हामीसँग यति धेरै जेल छन् कि सामाजिक सञ्जाल विधेयकपछिका कसुरदारहरू राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौँ–करोडौँ जरिवानाको मेन्यु ल्याउँदै छ,” सांसद श्रेष्ठले भने, “नागरिकलाई तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर, झुटा आश्वासन दिने, भ्रम फैलाउने, असम्भव बाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति ! यो विधेयक साँच्चै न्यायका लागि हो कि आलोचकहरूलाई दमन गर्ने सरकारको हतियार मात्र ?”

Argakhachi Cement Island Ad

उनले कानुन सबैका निम्ति भन्ने सिद्धान्त स्वीकार्य भए सत्तामा बसेर झुट बोल्नेलाई कारबाही गरिनुपर्ने बताए । “यदि, कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू कारबाहीको पहिलो सूचीमा पर्नुपर्छ,” उनले भने ।

सहिद गंगालाल र धर्मभक्तहरूले लडेर अभिव्यक्ति स्वतन्त्रता ल्याएको भन्दै उनले सरकारले त्यसलाई कुण्ठित गर्न खोजेको बताए । “गंगालाल, धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो, मैले बुझ्न सकेको छैन,” उनले भने, “सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोज्दै छ ।”

उनले नागरिकले कृष्ण सेन ‘इच्छुक’को कविता गुनगुनाइरहेका भन्दै सरकारले ल्याउने ऐनले अभिव्यक्ति स्वतन्त्रता रोक्न नसक्ने बताए । अनि, उनले इच्छुकका कविता सुनाए–
हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रो ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ गाउन त गाऊ
तर, यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ
जय होस्

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्