
काठमाडौं । काठमाडौंको जडिबुटी क्षेत्रबाट दिउँसै मोटरसाइकल चोरी हुने घटना बढेको छ । शनिबार जडिबुटीस्थित रोयल टायल पसल अगाडि पार्किङमा राखिएको मोटरसाइकल १० मिनेट नहुँदै चोरी भएको हो ।
नरेश भण्डारीको बजाज कम्पनीको वाग्मती प्रदेश–०२०४९प ११८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल हराएको हो । यसअघि पनि राम कार्कीको मोटरसाइकल पनि सोही क्षेत्रबाट हराएको थियो ।
जडिबुटी क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी हुन थालेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एसपी सञ्जयबहादुर राउतले भने उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल नियन्त्रणका निम्ति विशेष टोली खटिएको बताए ।
उनले भने, ‘‘दैनिक चोरी भएका मोटरसाइकल हामीले नियन्त्रणमा लिँदै आइएका छौँ । केही दिन अघिमात्रै ३३ वटा चोरीका मोटरसाइकल फेला परेको र सवारी धनीलाई बुझायौँ । चोरीको सूचना आउनासाथ हामीले सबैठाउँमा सर्कुलेसन गर्दै आएका छौँ ।’’
एसपी राउतले केही पहिला जडिबुटी क्षेत्रबाट मोटरसाइकल हराएको सूचना बढी आउने गरे पनि पछिल्लासमय कम हुँदै गरेको दाबी गरे ।