
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आव २०८१/८२ को पुससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल नाफा ४३ करोड ३६ लाख २१ हजार रुपैयाँ थियो ।
कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रिलायन्सको कर तिरेपछिको नाफा १३ करोड ८५ लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पुससम्ममा कम्पनीको कर तिरेपछिको नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
गत आवको पुससम्ममा कम्पनीको यस्तो नाफा १ करोड ६० लाख २९ हजार रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ १९ पैसा कायम भएको छ । यसअघि चालु आवको पहिलो त्रैमासमा कम्पनीको इपीएस १९ रुपैयाँ ९५ पैसा रहेकोमा दोस्रो त्रैमासमा उल्लेख्य सुधार भएको हो । गत आवको पुसमा कम्पनीको इपीएस १.८८ रुपैयाँ थियो ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा चार अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँको व्यापार गरेको छ । यस्तै दुई करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत आवको पुससम्ममा कम्पनीले चार अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैयाँबराबरको व्यापार गरेको थियो । सो समयमा अन्य आम्दानी ८० लाख ९६ हजार रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासम्ममा रिलायन्सले ४६ करोड ८७ लाख ५४ हजार रुपैयाँ कुल खर्च रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च ४२ करोड ५६ लाख ८८ हजार रुपैयाँ थियो ।
चुक्तापुँजी एक अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्य इक्विटी ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड विसं २०५४ मा स्थापना भएको कम्पनी हो । स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ । कम्नपीमा चार हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सुती (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा रहेको छ ।