site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ‘एकाएक’ किन बढ्यो ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ‘एकाएक’ उच्च अंकले बढ्यो । यस दिन नेप्से परिसूचक ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा बन्द भयो । ३० कारोबार दिनसम्म २५÷२६ सय विन्दु वरिपरि रहेको बजार एकाएक २७ सय विन्दु पार गर्‍यो ।

यस दिन पाँच महिनायताकै उच्च मूल्यको सेयर कारोबार भयो । यसअघि गएको भदौ १९ गते १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएकोमा आइतबार उक्त रकमको रेकर्ड तोडिएको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यो बेला ३० अर्ब रुपैयाँको सेयर कारोबारबाट घटेर १२ अर्बमा झरेको थियो ।

तर, चार अर्बको हाराहारीमा झरेको सेयर कारोबार रकम पछिल्ला दिनहरूमा बढ्दै गएको छ । पछिल्ला ६ कारोबार दिनलाई हेर्दा दैनिक रकम बढ्दै गएको देखिन्छ । माघ ९ देखि २० गतेसम्मका ६ कारोबार दिनमा कुल ५७ अर्ब ४७ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

दैनिक बढेको सेयर कारोबार रकमले पनि बजार बढ्ने संकेत दिएको कुहिनोर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर ३५) का प्रबन्ध निर्देशक तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् । “केही दिन अगाडिदेखि नै बजारले बढ्ने संकेत देखाएको थियो । आइतबारको बजार अस्वभाविक हैन,” उनले बाह्रखरीसित भने ।

अर्थमन्त्रीले अर्थतन्त्रका विषयमा सकारात्मक अभिव्यक्ति दिँदै गएका र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको समय भएकाले पनि लगानीकर्तामा उत्साह छाएको रानाभाट बताउँछन् । “गभर्नर फेरिने कुराले पनि बजार केही सकारात्मक भएको हो कि जस्तो छ,” उनले भने, “अहिलेका गभर्नरका लागि यो अन्तिम समीक्षा हुने भएकाले पनि उनी केही लचक हुन्छन् भन्ने बजारमा हल्ला चलाइएको छ । यो हल्लाले पनि प्रभाव पारेको हुन सक्छ ।”

आइतबारको बजारमा ट्रेडर हाबी भएको भन्ने नदेखाउने रानाभाटको बुझाइ छ । यस दिन सबै समूहका कम्पनीमा लगानीकर्ता उत्साहित भएर लागेको र कारोबार रकम पनि बढेकाले बजारमा लगानी गर्नेहरू नै हाबी भएको उनी बताउँछन् ।

बजार बढ्नुमा अहिलेको न्यून ब्याजदर, गर्भनर परिवर्तन, बैंकमा प्रशस्त तरलता र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै प्रमुख कारण मान्न सकिने सेयर लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनका अनुसार २६ सयको साइकललाई बजारले केही दिनदेखि नै तोड्न खोजिरहेको थियो ।

“बजार २६ सयको विन्दुको साइकलमा चलिरहेको थियो । यसलाई तोड्न केही समयदेखि बजार लागेको जस्तो देखिन्थ्यो,” उनले बाह्रखरीसित भने, “यसका साथै गभर्नरको बहिरगमन, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, न्यून विन्दुको ब्याजदर र बैंकहरूमा पर्याप्त तरलता, बजार बढ्नुका कारण यी नै हुन सक्छन् ।”

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर बजारप्रति केही खुकुलो हुने बजारमा हल्ला हुन थालेको रौनियार बताउँछन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंसिर २६ गतेयता ३२ कारोबार दिनमा १४ कारोबार दिन बजार घटेर बन्द भयो । बाँकी १८ कारोबार दिन बजार बढेर बन्द भयो । त्यस्तै, कारोबार रकम पनि यी ३२ कारोबार दिनमा ५/६ को हाराहारी थियो । तर, पछिल्ला दिनमा कारोबार रकम ८/९ अर्बभन्दामाथि पुग्न थालेको छ ।

आइतबार २०२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३७ कम्पनीको सेयर मूल्य घटेको छ । हिमालयन हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स र सिद्धार्थ बैंकको सेयर मूल्य स्थिर  छ । आइतबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेका छन् । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले वृद्धि भएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro