मनको कुनै कुना
(स्मृति : शैलेन्द्र साकार)
कवि शैलेन्द्र साकारको अर्को कृति बजारमा उपलब्ध छ, ‘मनको कुनै कुना’ । उनका यसअघि थुप्रै कविताकृति प्रकाशित छन् । कविता मात्र होइन, उनका उपन्यास, संस्मरण र नियात्राकृति पनि प्रकाशित भइसकेको छ ।
‘मनको कुनै कुना’मा उनले विभिन्न समयमा भोगेका भोगाइ प्रस्तुत छ । ‘कुन कुनामा थन्क्याउँ सम्झना ?’ शीर्षकको आलेखमा साकारले लेखेका छन्, “बाह्र वर्षपहिले अमेरिकाबाट फर्कने बेला मैले एउटा गीत लेखेको थिएँ । छिन्नलता पुरस्कार गुठीमा विगत तीस वर्षभन्दा पहिलेदेखि नै कार्यसमिति एवं प्रबन्ध समितिमा कैयौँपल्ट निर्णायक भएर बस्ने अवसर मिले पनि गीत रचनामा मेरो त्यति रुचि रहेन ।
गीतकार किरण खरेल र राजेन्द्र थापाका गीतहरू मन पर्थे, रुचाउँथेँ, त्यति हो । नगेन्द्र थापाको ‘मेरो गीत कसैले सुनेन भने यहाँको चुपचापले सुनोस्’जस्ता गहिरा कवितात्मक संवेदनशीलता मन पर्थ्यो र त्यस्तै लेख्न सके लेखुँला भन्ने थियो तर कहिल्यै गम्भीरतापूर्वक सोचेको थिइन ।’ (पृष्ठ—७३)
यस्तैयस्तै भावना साकारले विभिन्न शीर्षकमा प्रस्तुत गरेका छन् ।
शिखा बुक्सद्वारा प्रकाशित १३८ पृष्ठको यो पुस्तकको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।
०००
यात्रा र संस्मरण
(संस्मरणात्मक निबन्ध : चूडामणि बन्धु)
साहित्यकार तथा लोकसंस्कृतिका ज्ञाता चूडामणि बन्धुको प्रकाशित अर्को पुस्तक हो, ‘यात्रा र संस्मरण’ । यो पुस्तक केही समयअघि सार्वजनिक गरिएको हो ।
लेखकीयमा कृतिकार बन्धुले लेखेका छन्, “यात्रा र संस्मरण मेरा २०३० देखि २०७५ सालसम्मका देशविदेश यात्राका अनुभवमा आधारित आलेख हुन् । यिनमा केही यात्राकालमा लेखिएका नियात्रा जस्ता होलान्, अनि केही यात्राका टिपोटका आधारमा पछि लेखिएका संस्मरण होलान् । यी मेरा आत्मकथाका अंश पनि हुन सक्छन् ।...।”
साहित्यकार बन्धुको यो पुस्तकभित्र देशविदेशका गरी कुल ३० नियात्रा र संस्मरण पढ्न सकिन्छ ।
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १७२ पृष्ठको यो कृतिको मूल्य ३९५/– रुपैयाँ राखिएको छ ।
०००
अर्थहीन अर्थहरू
(निबन्धसंग्रह : श्रीओम श्रेष्ठ ‘रोदन’)
निबन्ध र लघुकथाका क्षेत्रमा क्रियाशील साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को निबन्धकृति ‘अर्थहीन अर्थहरू’को दोस्रो संस्करण बजारमा ल्याइएको छ । पहिलोपटक २०५४ सालमा प्रकाशित यो निबन्धकृतिले उत्तम शान्ति पुरस्कार पाइसकेको छ । उनका यसअघि निबन्ध, नियात्रा, लघुकथालगायत थुप्रै कृति प्रकाशित भइसकेको छ ।
२६ वर्षपछि प्रकाशित दोस्रो संस्करणमा लेखक ‘रोदन’ले लेखेका छन्, “अहिले ‘अर्थहीन अर्थहरू’को दोस्रो संस्करणमा त्यही समयमा लेखिएका चारवटा निबन्धहरू थप गरेको छु । पहिलेका केही शीर्षकलाई परिवर्तन गरिएको छ । निबन्धमा प्रयोग भएका पहिलेकै भाषा, शैलीमा कुनै परिमार्जन गरिएको छैन ।”
कृतिभित्र मन्तव्यमा वसन्त चौधरीले लेखेका छन्, “यी निबन्धले समय, काल र अवस्था पनि बताएका छन् । रोदनजीको ‘अर्थहीन अर्थहरू’भित्रका निबन्धहरूको पाना छिचोल्दै जाँदा त्यहाँ त्यसबेलाको देश, काल, परिस्थितिको स्मृतिबोध हुन्छ ।...।”
‘अर्थहीन अर्थहरू’भित्र रोदनका २१ निबन्ध समावेश छ ।
श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा प्रकाशित १४० पृष्ठको यो निबन्धकृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
भर्जुअल लभ
(उपन्यास : शुकदेव उपाध्याय)
वीरगन्जमा रहेर प्राध्यापन क्षेत्रमा लामो समय बिताएका शुकदेव उपाध्यायको पहिलो कृतिका रूपमा उपन्यास ‘भर्चुअल लभ (अलौकिक प्रेम)’ बजारमा उपलब्ध छ ।
कृतिको ब्लर्बमा आख्यानकार डा. धु्रवचन्द्र गौतमले लेखेका छन्, “यो उपन्यासमा स्थानीय शब्दहरू, शायरी र सूक्तिहरू आएका छन्, जुन त्यसबाट परिचित पाठकहरूलाई बढी रुचिकर लाग्दछ ।...।”
साहित्यकार निर्मोही व्यासले ‘शिवास्ते सन्तु पन्थान: !’ मा आफ्ना सहोदार भाइको उपन्यासबारे लेखेका छन्, “शुकदेवले आफ्नो यस उपन्यासको शीर्षक ‘भर्चुअल लभ (अलौकिक प्रेम)’ राखेको हुँदा विषयगत दृष्टिले यो औपन्यासिक कृति नारीपुरुषको प्रीति–प्रणयमा केन्द्रित रहेको कुरा शीर्षकबाटै प्रस्टिएको छ । प्रेम अनादि, अनन्त, सार्वभौम र शाश्वत कुरा हो । यो मानवजातिको नैसर्गिक गुण हो र आदिम प्रवृत्ति पनि सम्भवतः यही हो ।...।” (पृष्ठ–६)
सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित २१६ पृष्ठको यो उपन्यासको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००
लौ भन्नोस् त !
(कथासंग्रह : नवराज रिजाल)
कथाकार तथा साहित्यिक पत्रकार नवराज रिजालको पाँचौँ कथाकृति हो, ‘लौ भन्नेस् त !’ ३० को दशकको अन्तिमदेखि कथाकारितामा लागेका रिजालले कथासँगै लघुकथा, नियात्रा, बालसाहित्य, कवितालगायत दुई दर्जनभन्दा बढी पुस्तक पाठकसामु पस्किइसकेका छन् ।
पुस्तकको मन्तव्यमा प्रा.डा. दयाराम श्रेष्ठले लेखेका छन्, “समसामयिक जीवनका विविध पक्षहरूप्रतिको चेतना, देशप्रति आमनागरिकहरूको दायित्वका सन्दर्भ, तराईका बासिन्दाहरूको जीवनशैली तथा बढ्दो सामाजिक विकृति आदिलाई मूल रूपमा समेटी तयार पारिएको यस संग्रहका कथाहरू अभिधामूलकस्तरका हुनु आफैँमा अत्यन्तै महत्त्वपूर्ण छ ।...।”
यो कृतिभित्र रिजालका १९ कथा प्रस्तुत छ ।
शब्दार्थ प्रकाशनद्वारा प्रकाशित १९२ पृष्ठको यो पुस्तकको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००
पाकाको रमाइलो र पिरलो
(ज्येष्ठ नागरिकसम्बन्धी सामग्री : प्रा.डा. मुकेशकुमार चालिसे)
पछिल्लो समय प्रा. डा. मुकेशकुमार चालिसेको कर्म भएको छ लेखन । चर्चित प्राणीशास्त्री एवं वैज्ञानिक चालिसेको केही समयअघि प्रकाशित पुस्तक हो, ‘पाकाको रमाइलो र पिरलो’ (ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री) । डा. चालिसेले यसै विषयमा पहिले पनि तीन पुस्तक ल्याइसकेका छन् ।
लेखकीयमा डा. चालिसेले लेखेका छन्, “अरू किताबमा झैँ यसका लेखहरूमा उमेरिएका पाका मान्छेका विविध आँकडा, उमेर, बढ्दै गएपछि भोग्नुपर्ने मानसिक र शारीरिक समस्याहरू साथै परिवार तथा सामाजिक परिवेशमा आइलाग्ने बिब्ल्याँटाहरू बारेमा प्रस्ट्याउन खोजिएका छन् ।...।”
एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले पुस्तकमा लेखेका छन्, “बुढ्यौली विज्ञान विषयलाई नेपाली शिक्षा प्रणालीको अभिन्न अंग बनाउँदै लैजाने अभियानमा श्री चालिसेका चार पुस्तकहरू पहिलो उल्लेखनीय कोसेढुंगाको रूपमा स्थापित भएका छन् ।...।”
प्रा. डा. चालिसेले यो पुस्तकभित्र ३२ शीर्षकमा विविध सामग्री प्रस्तुत गरेका छन् ।
ज्ञानगुन प्रकाशनद्वारा प्रकाशित ३०४ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००
अस्तित्व
(कथासंग्रह : रेजिना पाण्डे)
कथाकार रेजिना पाण्डेको कथासंग्रह हो, ‘अस्तित्व’ । कवितासँगै कथामा पनि कलम चलाउने पाण्डेको यो कृति केही समयअघि सार्वजनिक गरिएको हो ।
लेखकीयमा कथाकार पाण्डेले लेखेकी छन्, “म बाल्यकालदेखि नै लेख्ने गर्थें । लेखनप्रति धेरै रुचि थियो । विभिन्न पत्रपत्रिकाहरूमा मेरा रचनाहरू प्रकाशित हुँदै गए । रचना प्रकाशनसँगै धेरै ठाउँबाट प्रशंसा पाएँ र लेखनमा हौसलासँगै रहरहरू बढ्दै गए ।...।”
कथाकृतिको भूमिकामा साहित्यकार मणि लोहनीले लेखेका छन्, “त्यसो त केही कथाहरू सिकारु कथाकारका जस्ता सामान्य पनि छन् । थुप्रै ठाउँहरू छन्– मिलाउन र छाँटकाँट गर्न सकिने । तर पनि ती कथाहरूले संग्रहलाई कमजोर बनाएको छैन ।...।”
पाण्डेले यो कृतिमा १७ कथा पस्किएकी छन् ।
कथाकार आफैँले प्रकाशनमा ल्याएको १०४ पृष्ठको यो पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
अभ्यन्तर
(कथासंग्रह : सुमन वर्षा)
साहित्यका विविध विधामा कलम चलाउँदै आएकी सुमन वर्षाको पछिल्लो कथाकृति हो, ‘अभ्यन्तर’ । उनको यसअघि एउटा उपन्यास पनि बजारमा उपलब्ध छ ।
पुस्तकको ब्लर्बमा उल्लेख छ, “‘बाह्य जे देखिन्छ वा सोचिन्छ, भित्र–भित्र, अभ्यन्तरमा केही अरू नै हुँदो रहेछ र यो थाहा नभइन्जेल मान्छे बाह्यतिर रुमल्लिने रहेछ, अनि जब त्यही अभ्यन्तरका कुरा बाहिरिँदो रहेछ त मान्छे अरू नै सोचमा बहनुपर्ने हुँदो रहेछ ।”
संग्रहमार्फत उनले १८ कथा पाठकलाई सुम्पिएकी छन् ।
शिखा बुक्सद्वारा प्रकाशित २०० पृष्ठको यो कृतिको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००
हावामा अल्झिएको स्वर
(कवितासंग्रह : सिजन श्रेष्ठ)
कवि सिजन श्रेष्ठ पहिलो कवितासंग्रह ‘हावामा अल्झिएको स्वर’मार्फत प्रस्तुत भएका छ । बेलाबखत निबन्ध लेखे पनि उनी कविता, गीत र गजलमै रमाउँछन् ।
‘यसरी म प्रेममा छु—कविताको’मा कवि श्रेष्ठले लेखेका छन्, “कविता मेरो लागि थेरापी हो । तनावको बेला सधैँ म सुन्दर कविताहरू पढ्ने गर्छु । र, तनावबाट दूर हुन्छु । माया गर्ने मानिसहरूको माया नपाउँदा, साथ नपाउँदा कविता पढ्ने गर्छु र लेख्ने गर्छु । र, प्रेमको अनुभूति गर्ने गर्छु ।...।”
पुस्तकको ब्लर्बमा कवि मञ्जुलले लेखेका छन्, “उनी शहरमा भन्दा गाउँमा नै बढी देखा पर्छन् । उनलाई गाउँवासी र गाउँको प्रकृतिमै बढी रमाएको देख्न पाइन्छ । उनका कविताहरूमा गाउँ, गाउँको प्रकृति, गाउँका मानिसहरू प्रखर रूपमा देख्न पाइन्छ ।’
यो संग्रहभित्र ५२ कविता पढ्न सकिन्छ ।
इटर्नल पब्लिकेसनद्वारा प्रकाशित १०४ पृष्ठको यो कृतिको मूल्य ४०५/– रुपैयाँ राखिएको छ ।
०००
ननसेन्स भर्सेज
(कविताकृति : मणि दीक्षित)
मणि दीक्षितका नामबाट साहित्यिक कृति लेख्ने विख्यात बालरोग विशेषज्ञ चिकित्सक प्रा. हेमाङ्गमणि आचार्य दीक्षित नै हुन् भन्ने ठम्याउन सजिलै सकिँदैन । यद्यपि, सन् १९३७ मा जन्मेका अर्थात् ९० वर्ष पुग्नै लागेका यी डाक्टरको साहित्यिक व्यक्तित्व चिकित्सकजत्तिकै अग्लो छ ।
उनको ६ दशक लामो लेखन यात्रामा जासुसी उपन्यासदेखि बालसाहित्यका समेत अनगिन्ती पुस्तक प्रकाशित छन् । नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने मणि दीक्षितले ‘चेतन प्रवाह’मा भन्न मिल्ने गरी विषय टिपेर अंग्रेजीमा लेखेका छोटा कविताहरूको संग्रह हो, ‘ननसेन्स भर्सेज’ ।
यसमा उनले सम्भवतः संसारमा विशेष गरी नेपालका सबैजसो नाम चलेका मान्छे, ठाउँ र घटनाका ‘चार हरफे’ वर्णन लेखेका छन् । उनका वर्णनहरू कतिपय उटपट्याङे लाग्न सक्छन् भने कतिपय गम्भीर र दार्शनिक कोटीका छन् ।
‘माई नेपाल माई प्राइड’देखि ‘मिस्केलनियस’सम्म गरी १५ विषयमा विभाजन गरिएका विविध विषयहरू मूलतः व्यक्ति चित्रण नेपाली समाजको ‘हु इज हु’ नै बन्न पुगेको छ ।
कतिपय राजनीतिक नेताहरूलाई व्यंग्यवाणले प्रहार गरिएको भए पनि धेरैको चित्रण कवि डाक्टरको मायालु मनबाट गरिएको छ ।
आजका पाठकले कहिल्यै नसुनेका नामहरूको चरित्र छोटकरीमा चित्रण गरिएको छ भने भृकुटी, अरनिकोदेखि दामन र दसैँ अनि हर्क साम्पाङ र नानीमैयाँ दाहालसम्मको चित्रण निकै रोचक शैलीमा गरिएको छ ।
केही व्यक्तिको चित्रण भने चिन्नेले मात्रै चिन्छन् । तिनको नाम सानै अक्षरमा भए पनि खुलाइएको भए धेरैलाई लाभ हुन्थ्यो ।
मकालु पब्लिकेसन हाउस, कालिकास्थानबाट वितरित २६० पृष्ठको मणि दीक्षितको यो पुस्तकको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।