काठमाडौं । पूर्वसांसद प्रमोद साहले जनता समाजवादी पार्टी (जसपा) छाडेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमा प्रश्न उठाउँदै साहले राजीनामा दिएका हुन् ।
उनले आफूले सचिव पदमा उमेदवारी दिइसकेपछि अध्यक्ष यादवले चुनाव रोकेर मनोमानी नियुक्ति गरेको र पार्टीलाई एकाधिकारमा चलाइरहेको आरोप लगाएका छन् ।
“यसै वर्ष असारमा जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा भएको महाधिवेशन हुँदा सचिव पदमा उमेदवारी दिएको थिएँ । तर, पार्टी नेतृत्वको कारण चुनाव हुन सकेन र सबै अधिकार केन्द्रीय अध्यक्षमा निहीत गरियो,” साहले बाह्रखरीसँग भने, “त्यसपछि केन्द्रीय अध्यक्षज्यूबाट आफ्नो मन पर्ने व्यक्तिहरूलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरियो । सर्लाही जिल्लालाई यी पदहरूबाट वञ्चित रह्यो अर्थात् हामी कतै अटाएनौँ ।”
साहले अन्य पार्टीमा जाने कुनै तयारी नरहेको पनि बताए । अहिले पनि आफूसँग ठूलो समूह रहेकाले एक्लै कुनै निर्णय नलिने उनको भनाइ छ ।
साह ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही १ मा राजपाबाट निर्वाचित भएका थिए । उनी राजपा हुँदै पार्टी एकता भएर जसपा बनेपछि जसपा पुगेका थिए ।