काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा गृहमन्त्री रमेश लेखकले सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गरेका छन् । मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।
शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरूसँग छलफल सुरु गरेका हुन् ।
उक्त घटनामा २१ जना प्रहरी कर्मचारी र तीन प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सबै घाइतेहरूको उपचार नेपाल सरकारले गर्ने प्रबन्ध मिलाइसकेको गृहमन्त्री लेखकले जानकारी दिए ।