काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले मंगलबार आयोजना गरेको एक कार्यक्रममा अतिथि थिए, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल । उनीहरूसँगै प्रमुख अतिथिको रूपमा थिए, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेल ।
‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक कार्यक्रममा महासंघ अध्यक्ष र नेफ्स्कूनका अध्यक्षबीच एक–अर्कालाई ‘छेडछाड’सम्मको स्थिति बन्यो । सरकारले ल्याएका अध्यादेश, नेपाल राष्ट्र बैंकले ल्याएका निर्देशन तथा मापदण्डमा बहस भए पनि दुई संस्थाबीच भएका आक्रोश कार्यक्रममा पोखिए । महासंघ अध्यक्षभन्दा पहिले बोल्ने पालो पाएका नेफ्स्कूनका अध्यक्ष ढकालले महासंघले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने बताए । बचत तथा ऋणको कारोबार गर्ने क्षेत्र र अरू क्षेत्रलाई महासंघले छुट्याउनुपर्ने उनको माग थियो ।
महासंघले बनाएका केन्द्रय संघको विषयमा पनि अध्यक्ष ढकालले प्रश्न उठाए । “अध्यादेशले हामीलाई छुट्याइसक्यो, बचत तथा ऋणको कारोबार गर्ने क्षेत्र र अरू क्षेत्र महासंघले छुट्याउनुपर्यो,” ढकालले भने, “पाँचवटाभन्दा बढी केन्द्रय संघको परिकल्पना ऐनले गरेको छैन, अनि कसरी १९ वटा केन्द्रीय संघ बनाएर हिँड्नुभएको छ ?, मलाई चाहिएर बनाएका हुन् कि, तपाईंलाई चाहिएर बनाएका हुन् ? के आवश्यकताले यस्ता केन्द्रीय संघ बनाइएको हो ?”
आवश्यकताभन्दा मान्छेअनुसार सहज हुने तरिकाले आफूकेन्द्रित काम गरिएको ढकालको भनाइ छ । बचतको कार्य गर्ने सहकारीले अन्य प्रेसर थेग्न नसक्ने उनले बताए ।
त्यसैगरी कार्यक्रममा ढकालपछि बोल्ने पालो पाएकी महासंघकी अध्यक्ष मल्लले अफ्नो कार्यक्षेत्र र सदस्यलाई संघहरूले अनुशासित बनाउनुपर्ने बताइन् । तह–तहका संघहरू भएको भन्दै मल्लले सहकारीका प्रारम्भिक संस्थालाई अनुगमन र नियमन महासंघले नै गर्नुपर्ने भन्ने भनाइ उपयुक्त नहुने धारणा राखिन् । “सबै अनुशासनमा बसेर आफ्नो कार्यक्षेत्र के हो बुझ्नुपर्छ । अहिलेका समस्यालाई महासंघले मात्र जिम्मा लिनुपर्ने हो ? तह–तहका संघले आफ्नामातहतका प्रारम्भिक संस्थालाई अनुशासित बनाउनुपर्छ,” अध्यक्ष मल्लले भनिन्, “नेफ्स्कूनले चार हजार सदस्य बनाएर बचत तथा ऋणको कारोबार गर्नेको नेतृत्व गरेको छु भनेर हुन्छ ? बचत तथा ऋणको कारोबार गर्ने कति छन् ? यहाँ धेरै कुरा छन् साथी हो । आपसमा बसेर समाधान गर्ने हो ।”
यसरी जहाँ पनि आन्तरिक कुरा निकाल्न उपयुक्त नहुने अध्यक्ष मल्लको भनाइ थियो । सबैले आफ्नो पक्षबाट कर्तव्य पलना गरे महासंघ राम्रो हुने पनि उनले बताइन् । अनुशासन र पारदर्शितामा सबै संस्था बस्नुपर्ने उनको भनाइ थियो ।
केही सहकारीका गलत कामले गर्दा बाहिर मुख देखाएर हिँड्न नसक्ने स्थिति बनेको उनको भनाइ छ । सम्बन्धित संघहरूले प्रारम्भिक संस्थालाई अनुशासनमा राखेर यसको जिम्मेवारी लिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा दुई अध्यक्षको भाषण सुनेका मन्त्रालयका सचिव तथा प्राधिकरणका अध्यक्ष पोखरेल मध्यमार्गी बने । उनले सहकारीकर्मीहरू आपसमा झगडा गरेर बस्न नहुने बताए । “तपाईंहरूले आफूलाई बिर्सिएर मुलुक र जनतालाई माया गरेर सुझाव दिनुभयो भने सोलुसन निस्किन्छ,” पोखरेलले भने, “मैले हेरिरहेको छु, तपाईंहरू यहीँनेर प्रारम्भिक संस्था, वित्तीय संस्था, गैरवित्तीय सहकारी भनेर विरोधमा हुनुहुन्छ । जे–जे भए पनि कानुनले तोकेअनुसार हुन्छ । कानुनअनुसार तपाईंहरू काम गर्नुहोस् ।”
जो जहाँ भए पनि आफ्नो भूमिका सहकारीकर्मीले इमानदारीका साथ निर्वाह गर्नुपर्ने पोखरेलले बताए । सहकारीलाई नियमन गर्ने र अनुगमन गर्ने काम प्राधिकरणले मापदण्ड बनाएर गर्ने उनको भनाइ थियो ।