site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने भारत र चीनबीच सहमति
तस्बिर : एपी ।

काठमाडौं । भारत र चीनबीच यसै वर्ष (सन् २०२५)देखि कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेशसचिव विक्रम मिश्रीले यही माघ १३ र १४ गते चीनको भ्रमण गर्दा दुई देशबीच उक्त सहमति भएको हो ।

“दुवै पक्षले २०२५ को गर्मीमा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरे,” भारतीय विदेश मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यमान सम्झौताअनुसार सम्बन्धित संयन्त्रले छलफल गरी कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने ‘मोडालिटी’ तयार पार्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारी सुरु भएसँगै सन् २०१९ देखि चीनले रोकेको कैलाश मानसरोवर यात्रालाई पुनः यसै वर्ष सुचारु गर्न भारत र चीन सहमत भएका हुन् ।

सन् २०१९ को अन्त्यबाट विश्वभर कोभिड–१९ महामारी सुरु भएपछि र सीमाका विषयमा विवाद उत्कर्षमा पुगेपछि चीनले कैलाश मानसरोवर यात्रा रोकेको थियो ।

भारतीयले चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाँदा तीन मार्ग प्रयोग गर्दै आएका छन् । पहिलो, सिक्किमको नाथुला पास, दोस्रो, नेपाल आएर र तेस्रो, लिपुलेक हुँदै – त्यो नेपाली भूमि हाल भारतको नियन्त्रणमा छ ।

भारत र चीनको संयन्त्रले छिटै तयार पार्ने मोडालिटीमा नाथुला पास वा लिपुलेकमध्ये एउटा मार्ग सुचारु गर्ने वा दुवै भन्ने उल्लेख गरिनेछ ।

चीनले कैलाश मानसरोवर यात्रा रोक्दा लिपुलेक हुँदै भारतीय तीर्थयात्री त्यहाँ जान पाएका थिएनन्, किनभने लिपुलेकमा भारतीय नियन्त्रण छ ।

यदि, लिपुलेकको मार्ग खोल्ने सहमति भएमा यो नेपालका निम्ति आपत्तिको विषय हुनेछ । नेपालले लिपुलेक क्षेत्रमा भारतले गर्ने गतिविधिको विरोध गर्दै आएको छ ।

भारतीय विदेशसचिव मिश्रीको चीन भ्रमणका क्रममा दुवै पक्षले दुई देशका नागरिकबीच आपसी सम्पर्क बढाउन आवश्यक कदम चाल्ने पनि सहमति गरेका छन् । मिश्री र चीनका उपविदेशमन्त्रीबीचको संयन्त्रको बैठक सोमबार भएको थियो ।

गएको अक्टोबरमा कजानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीचको भेटमा समझदारी भएअनुसार उक्त संयन्त्रले यसै वर्षदेखि कैलाश मानसरोवर यात्रा सुरु गर्ने सहमति गरेको हो ।

मोदी–सीको भेटवार्तापछि डिसेम्बर १८ मा भारत र चीनका विशेष प्रतिनिधिबीच बेइजिङमा बैठक बसेको थियो । बैठकमा भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चीनका विदेशमन्त्री वाङ यी सहभागी थिए । कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न निर्देशन दिने निर्णय बैठकबाट गरिएको थियो ।

त्यसपछि सोमबार बसेको भारतीय विदेशसचिव र चिनियाँ उपविदेशमन्त्रीबीचको बैठकमा कैलाश मानसरोवर यात्रा पुनः यही वर्षको गर्मी सिजनदेखि सुरु गर्ने सहमति गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro