काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभले आफ्ना ग्राहकको सुरक्षा पहिलो प्राथमिकता भएको बताएको छ । कम्पनीका एसिया प्यासिफिक क्षेत्रका निर्देशकले खासगरी महिला सुरक्षालाई आफूहरूले महत्त्वपूर्ण प्राथमिकतामा राखेको बताएका हुन् ।
केही दिनअघि इनड्राइभका एक चालक यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । उक्त घटनामा इनड्राइभका क्षेत्रीय निर्देशक मार्क टलीले पश्चाताप व्यक्ति गर्दै कम्पनीका तर्फबाट क्षमा मागेका छन् ।
एक भिडियो सन्देशमार्फत उनले आफ्ना सेवाग्राहीहरूमाथि गरिने आपत्तिजनक, दुर्व्यवहारपूर्ण वा गैरकानुनीजस्ता कुनै पनि कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राखेको बताएका छन् । कम्पनीले यस्तो व्यवहारको कडा निन्दा गर्ने उनले बताए ।
“इनड्राइभमा हाम्रो प्रयोगकर्ता सुरक्षा र सन्तुष्टि, विशेष गरी महिला सुरक्षा र उनीहरूको अनुभव सधैँ सबैभन्दा प्राथमिकतामा रहन्छ र हामी हाम्रो प्रयोगकर्ताले भोगेको हालैको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै क्षमा चाहन्छौँ,” निर्देशक टलीले भनेका छन् ।
उनले इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरूलाई अग्रस्थानमा राख्ने कम्पनी भएको बताए ।
उक्त घटनापछि कम्पनीले पूर्ण निष्पक्षता र न्याय सुनिश्चित गर्न यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएका छन् ।
कम्पनी निरन्तर सेवा सुधार गर्न प्रतिबद्ध रहेको उनले बताए ।
यसबाहेक इनड्राइभमा सुरक्षाको लागि परिवार तथा आफन्त, प्रहरी वा एम्बुलेन्सलाई तत्काल फो गर्न सेफ्टी बटन रहेको बताएका छन् ।
यस्तै, राइड सेयर गर्न सकिने र ड्राइभरलाई रेट गर्न सकिने जस्ता फिचरले इनड्राइभलाई भविष्यमा थप सुरक्षित बनाउँदै लैजाने उनको भनाइ छ ।