विराटनगर । ७८ वर्षअघि सप्तरीको राजविराजमा धमाधम नयाँ घरहरू बन्दै थिए । एउटा व्यवस्थित सहरको परिकल्पना गर्दै नयाँ सहर बसाउने सरकारको योजना थियो । त्यसबेला भारतका विभिन्न सहरबाट वास्तुविद् र ज्यामी सहर निर्माणमा खटाइएका थिए । तिनकै कलाकौशलको बलमा त्यसबेला भारतीय शैलीका दर्जनौँ घर बने ।
अन्ततः नेपाल–भारतको सिमान्त स्थानमा भर्खरै स्वतन्त्र भएको भारतका विभिन्न सहरमा प्रयोग भएका कलाशैली र वास्तु झल्काउने संरचनासहितको नयाँ सहर बस्यो । त्यसबेला त्रिभुवन चोक ( हालको गजेन्द्रनारायण चोक)मा निर्माण भएका कलात्मक घर इतिहास बनेर अहिले पनि उभिएका छन् । भलै, त्यहीँबाट व्यापार सुरु गरेका घरानाका प्रतिनिधि हिजोआज यहाँ नभेटिएलान् । धेरै घर त आज पनि सग्ला नै देख्न सकिन्छ । अनि उत्तिकै भव्य र सुन्दर पनि । राजबिराजको पुरानो वैभवको कल्पना तिनलाई हेरेर आजपर्यन्त गर्न सकिन्छ ।
सन् १९४५ ताका नै स्थानीय सुरज सुरानाका हजुरबुबा भव्य महल बनाउन तल्लीन थिए । गजेन्द्र नारायण चोकमा अवस्थित पुष्पनिवासको कलात्मक र सुन्दर महल अहिले पनि बरकरार छ । त्यससँगै टाँसिएको दासजीको भवन पुरानो, तर सुन्दर देखिन्छ । यद्यपि संरक्षण, पुनर्निर्माण र रेखदेखको अभावमा रंग खुइलिइसकेको छ । केही पर छ, केशरी चन्द भवरीलाल भवन । यो नेपालको प्रतिष्ठित व्यापारिक घराना हो ।
राजविराजबाट सन् १९४८ मा सुरु भएको व्यावसायिक यात्रा निकै उचाइमा पुगिसकेको छ। पुर्खाको बिरासतको चिनो हिजोआज पनि जस्ताको तस्तै संरक्षित छ । गजेन्द्रनारायण चोक आसपास मारवाडी समुदायको एकसय जति परिवारिक बिरासत सम्झाउने निवास र महल अझै रहेको स्थानीयको दाबी छ । नेपाल वाणिज्य बैंक राखिएको भवन होस् अथवा त्यसको पारिपट्टिका पुराना भवन, हेरेर त्यहाँ पुग्नेले एकपटक इतिहास बुझ्ने कोसिस गरेकै हुन्छन् ।
पुष्पनिवासको हालका मालिक सुरज सुराना भन्छन्,‘‘हाम्रो हजुरबुवाले भारतको मद्रासबाट ज्यामी र कामदार झिकाएर बनाउनु भएको थियो । घरको पछिल्लो भाग भने पछि मेरो बुवाले पूरा गर्नुभयो ।’’ अहिले उनी पुष्पनिवासकै तल्लो तलामा आफ्नो व्यवसाय गर्छन् ।
राजविराज देशकै पहिलो ‘प्लान सिटी हो’ तथापि मधेस आन्दोलनपछि मुर्झाएको छ । कोभिड कहरपछि त झन् थिलथिलो हुन पुग्यो । गणतन्त्र कालमा पुनः बौरिने प्रयास गरिरहेको छ । रैपनि प्रदेश र संघीय सरकारको रवैयासँग स्थानीय सन्तुष्ट छैनन् ।
‘‘भारतको जयपुर सरहकै मिररुको रुपमा सहर बसाउने सरकारको योजना थियो,’’ स्थानीय पत्रकार ललिता साह भन्छिन्, ‘‘तर, राजनीतिक उतारचढाव आदि धेरै कारणले राजविराज पछि परेको छ । अहिले सरकारले यो ठाँउको विकास गर्न पूरै अनदेखा गरेको छ ।’’ तर, हुलाकी राजमार्ग कालोपत्रे भएसँगै यो ठाउँ पूर्ववत् अवस्थामा फर्कने प्रयासमा रहेको उनले सुनाइन् ।
कसरी बस्यो सहर, के छ विशेषता ?
सप्तकोशी नदीले धार छाडेर हनुमानगरमा बाढी पसेपछि नयाँ ठाउँको खोजी भयो । यस क्रममा तत्कालीन बडा हाकिम जबराले उपयुक्त स्थान खोजी गरेर सहर बसाउने जिम्मेवारी इन्जिनीयर डिल्लीजंगलाई सुम्पिए । त्यसवेला भारतीय सुन्दर सहर जयपुरको मानचित्रको आधारमा राजविराज सहर बसाइयो ।
२०१६ सालमै नगरपालिकाका रूपमा स्थापित राजविराजमा फराकिला सडक छन् । कुच्रुक्क परेका बस्ती छैनन् । सबै सरकारी अड्डा र कार्यालय वरिपरी छन् । सेवा लिन धेरै भौँतारिनुपर्दैन । एक लहरमा बसेका घरले सहरको शोभा बढाएका छन् । गणतन्त्र स्थापनापछि नयाँ स्मारक बनाइएको छ । फराकिलो चौरस्तासहितको गजेन्द्रनारायण चोक सुन्दर र सफा छ । पहिले यो ठाउँलाई त्रिभुवन चोक भनिन्थ्यो ।
आन्दोलनका क्रममा पूर्वराजा त्रिभुवनको सालिक ढालेर लोकतान्त्रिक आन्दोलनका अगुवा गजेन्द्रनारायण सिंह (गज्जुबाबु)को सालिक स्थापित गरिएको छ । नजिकै रहेको ठाडी भन्सार नाका भएर कारोबार हुन्छ । धर्मको कुरा गर्दा छिन्नमस्ता मन्दिर दर्शन गर्न बर्सेनि हजारौँ धर्मावलम्बी पुग्छन् ।