काठमाडौं । चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दिएको ऋण अनुदानमा परिणत गर्न नचाहेपछि किन चिनियाँ लगानीको ‘ट्याग’ झुन्ड्याइरहने भन्ने बहस सुरू भएको छ ।
चिनियाँ ऋणका कारण अन्तर्राष्ट्रिय उडान नभएपछि विमानस्थल निम्ति लिएको चिनियाँ ऋण चुक्ता गरी नेपाली बैंकमा सार्ने बहस सुरू भएको हो । चिनियाँ ऋणका कारण पोखरा विमानस्थल नचलेपछि ‘ट्याग’ हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा नयाँ बहस सुरू भएको छ ।
“नेपाली बैंकहरूमा पैसा थुप्रिएको छ । उनीहरूसँगै ऋण लिँदै पोखरा विमानस्थलमा लिएको चिनियाँ ऋण तिरी विमानस्थल चिनियाँ ऋणमुक्त गराउने,” मन्त्रालय स्रोत भन्छ, “यसले पोखरामा चिनियाँ ऋणबाट मुक्त भएको भनेर सरकारले डिल गर्न सक्छ ।”
दुई वर्षअघि उद्घाटन भएको पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा हालसम्म निरन्तर घाटा खाइरहेका छन् । नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रूपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिएको थियो ।
२०७९ पुस १७ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । सञ्चालनमा आएको दुईवर्ष बित्दा पनि पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सरकारले औपचारिक रूपमै ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरिसकेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा चिनियाँ राजदूत छन सोङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निम्ति लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षसँग आग्रह गरिएको थियो ।
अर्थ मन्त्रालयले गत भदौ ७ गते अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयका महाशाखा प्रमुख धनीराम शर्माले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनलाई पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न पत्र हस्तान्तरण गरेका थिए । तर, चिनियाँ पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।
चिनियाँ लगानीका कारण भारतले पोखरा विमानस्थलमा उडान गर्न नमानेको टीकाटिप्पणी हुँदै आएको छ ।
विशेषगरी पोखराबाट भारतीय सहरमा उडान निम्ति नेपाली सरकार प्रयत्नरत छ । नेपालमा चिनियाँ लगानी निषेध होस् भन्ने भारत चाहन्छ । नेपालमा चिनियाँ कम्पनीले बनाएका जलविद्युत् आयोजना होस् वा चिनियाँ ठेकेदार संलग्न भएका आयोजना नै किन नहोस् दुवै भारतीय बजारमा बिक्रीको अनुमति दिइँदैन ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको बिजुली बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरण विगत चार वर्षदेखि प्रस्ताव गरेको थियो । तर, उक्त आयोजनाको विद्युत् खरिदबारे भारतले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
तर, अनौपचारिक रूपमा चिनियाँ ठेकेदार र लगानी भएका आयोजनाका फाइल नपठाउँ भन्ने गरेको अधिकारीहरू बताउँछन् । चिनियाँ ऋणमा निर्मित पोखरा विमानस्थलमा चिनियाँ ‘ट्याग’ लागेको छ । त्यो ‘ट्याग’ हटेमा विमानस्थल नियमित सञ्चालन हुने अपेक्षासहित ऋण नेपाली बैंकमा सार्ने चाहेको अधिकारीहरू बताउँछन् ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का ले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गरिरहेको छ ।
उक्त अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ३० प्रतिशत उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरातर्फ जानको लागि सर्कुलर गरेको थियो ।
तर, भैरहवातर्फ केही गए पनि पोखरामा डोमेस्टिक उडानमात्रै भइरहेको छ । काठमाडौं आउने विमानहरू भैरहवातर्फ गएपनि पोखरा जान चाहेका छैनन् । पोखरामा अन्तर्राष्ट्रिय उडान भर्र्न सम्पूर्ण पूर्वाधार तयार छ । बेला–बेला चीनबाट चार्टर्ड विमान आउने गरेको छ ।
न्यारोबडी उडान गर्न कुनै समस्या नरहेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता जशोदा सुवेदी बताउँछिन् । पोखरामा वाइड–बडी विमान उडान र अवतरण हुन सक्दैन ।
“पूर्वाधारका सबै काम भइसकेका छन् । हामी फ्लाइट कुरेर बसेका छौं । चार्टर्ड फ्लाइट भइसकेका छन्, नियमित भएको छैन” उनले भनिन्, “एयरपोर्टको पार्टबाट केही पनि समस्या छैन । फ्लाइट हुने भयो भने हामीलाई खबर आउँछ । त्यही पत्रका आधारमा हामी अघि बढ्ने हो ।”
गौतमबुद्ध विमानस्थलको तुलनामा पोखरा विमानस्थल सानो छ । पोखरा विमानस्थलमा वाइडबडी विमान उडान–अवतरण गर्न नसकिने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् ।
“तर, हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो दिएका छैनन् । वायु सेवा कम्पनीहरूसँग् हामीले उनीहरूलाई भनिरहेको छौं,” उनले भने, “इन्टरन्यासनल उडान गर्न क्यानको तर्फबाट पूरा गर्नुपर्ने सबै आवश्यकता पूरा भइसकेका छन् । काठमाडौं र भैरहवामा जुन साइजको जहाज ल्याण्ड गर्न सक्छ, पोखरामा त्यो सक्दैन । न्यारोबडी मात्रै ल्याण्ड गर्न सकिन्छ । भैरहवा र पोखरामा फरक त्यति नै हो ।”
क्यानले विमान कम्पनीहरूलाई पोखरा विमानस्थलबाट पनि उडान गर्न दबाब दिए पनि कुनै पनि कम्पनी त्यहाँ जाने इच्छा जनाएका छैनन् ।
‘विमानस्थलको ट्याक्सी वे’ निर्माण गर्न क्यानले ५ महिनाका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १० घण्टा बन्द हुने भएपछि क्यानले ३० प्रतिशत उडान भैरहवाबाट गर्नुपर्ने सर्त राखेसँगै केही कम्पनीहरू भैरहवातर्फ गए । भैरहवामा पनि भारतीय विमान कम्पनीहरू उडान गर्न इच्छुक देखिएका छैनन् ।
बद्रीप्रसाद पाण्डेले पर्यटन मन्त्रालय सम्हाल्ने बित्तिकै गौतबुद्ध र पोखरा विमानस्थल नियमित सञ्चालन निम्ति निकै चासो देखाएका थिए । मन्त्री पाण्डेले साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गराएका थिए ।