काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा स्वदेशी उत्पादन तथा सेवाहरूको प्रदर्शनी आजबाट सुरु भएको छ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारबाट सुरु भएको प्रदर्शनी माघ १२ सम्म चल्नेछ । नेपाल पस्मिना इन्डस्ट्री एसोसिएसनले प्रदर्शनी आयोजना गरेको हो ।
‘आउनुहोस् सहभागी बनौँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका थिए ।
प्रदर्शनीमा एक सयभन्दा बढी स्वदेशी उत्पादनका स्टलमा ४० भन्दा बढी पस्मिना स्टलमा एक हजार प्रकारका पस्मिना सामान, प्रत्यक्ष पस्मिना उत्पादन, कृषिजन्य स्वदेशी उत्पादनहरू त्यसैगरी हस्तकला घरेलु उद्योगका उत्पादन, हर्बलका उत्पादन, नेपाली गलैँचा, कार्पेट उत्पादनका साथै नेपाली रैथाने खानाका परिकार प्रदर्शनीमा राखिएका छन् ।