site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चिनियाँ दूतावाससँग किन रिसायो काठमाडौं महानगर ?

काठमाडौं । चिनियाँ दूतावासले ठमेलमा चिनियाँ नयाँ वर्षको कार्यक्रम गर्न काठमाडौं महानगरसँग अनुमति मग्दै पत्र पठायो । जवाफमा महानगरले ठमेलको सट्टा कलंकी–महाराजगञ्ज सडकखण्डमा कार्यक्रम आयोजना गर्न भन्यो ।

चक्रपथ सुधार आयोजनाअन्तर्गत चिनियाँ कम्पनी साङघाई कन्सट्रक्सनले चक्रपथ विस्तारको ठेक्का लिएको छ । तर, ठेक्का लिएको वर्षौं बितिसक्दा पनि काम नगरेको र सडक धुलाम्मे बनाएको भन्दै महानगर आक्रोशित छ ।

काठमाडौं महानगरले कलंकी–महाराजगञ्ज सडक विस्तारको काम आफूले नभई नेपाल सरकार चिनियाँ निर्माण कम्पनीले गरिरहेको सूचना लेखेर बोर्ड नै टाँसेको थियो । उक्त बोर्ड सडक विभागले हटाएको थियो । त्यसपछि महानगरका मेयर बालेन्द्र (बालेन) शाहले फेसबुकमार्फत आक्रोश पोखेका थिए । उनले त्यतिखेर लेखेका थिए, “सन् २०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिङरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरले चक्रपथ सडक क्षेत्रमा बोर्ड राखेर चिनियाँ कम्पनीले सम्झौता अवधि सकिदा पनि काम नसकिएको बताएपछि चिनियाँ दूतावासले नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको थियो । दूतावासले कूटनीतिक नोट पठाएपछि बालेन रुष्ट बनेका थिए । उनले फेसबुकमा लेखेका थिए, “समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिनेबित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा एक दिनमा अस्पताल बनाउनेले कूटनैतिक नोट लेखेछन् ।”

आफ्नो देशमा २४ घण्टामा पूर्वाधार निर्माण गरिसक्ने चीनले नेपालमा भने वर्षौंसम्म काम नगर्ने चिनियाँ प्रवृति रहेको बताएका थिए । उनले फेसबुकमा लेखेका थिए, “४० (तीन वर्ष चार महिना) महिनाभित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ (१२ वर्ष) महिना बितिसक्दा थालनी हुनेसम्मको पनि संकेत देखिँदैन । यो अवस्था भोगेका हामी नेपालीले, चीनले २४ घण्टामा ठूला ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु ?”

यति मात्र होइन उनले चिनियाँ राजदूतसँगै चक्रपथ क्षेत्र अवलोकन गरेको बताउँदै उनैलाई प्रश्न गरेका थिए । “२०७९ को फागुनमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङसहितको टिमले स्थलगत अवलोकन गरेका थियौँ,” बालेनले लेखेका थिए, “स्थलगत भ्रमणका क्रममा महामहिम राजदूत छन सोङले आगामी ६ महिनामा आयोजना विस्तारका लागि जनशक्ति परिचालन हुने बताउनु भएको थियो । तर खै जनशक्ति परिचालन भएको ?”

चक्रपथ विस्तारको काम नगर्दा आसपासका बासिन्दाले सास्ती भोग्नु परेको भन्दै मेयर बालेनले १३ जेठमा सडक विभागअगाडि चक्रपथको धुलो थुपारेका थिए ।

चीन सरकारले वाचाअनुसार काम नगरेको भन्दै महानगरले चीनलाई ठमेलमा नयाँ वर्षका लागि कार्यक्रम गर्ने अनुमति नदिएको महानगर बताउँछ । चिनियाँ दूतावासले जनवरी २६ देखि फेब्रुअरी २५ सम्म विभिन्न कार्यक्रम गरेर ठमेल क्षेत्रमा चिनियाँ नयाँ वर्षको कार्यक्रम गर्न अनुमति मागेको थियो । चीनले २९ जनवरीमा नयाँ वर्ष मनाउँछ । यही छेकोमा चिनियाँ दूतावासले ठमेल क्षेत्रमा एक महिना लामो कार्यक्रम आयोजना गर्न अनुमति मागेको थियो ।

तर, महानगरले भने चीनलाई कलंकी–महाराजगञ्ज सडकमा जान भन्दियो । महानगर भन्छ, “ठमेल क्षेत्रमा महानगरले नै काम गरिरहेको छ । चीनले ठेक्का लिएको वर्षौं भइसक्दा पनि कलंकी–महाराजगञ्ज सडक निर्माण गर्न सकेको छैन, त्यसैले हामीले उसले धुलाम्मे बनाएको सडकमै कार्यक्रम गर्नु भनेका हौँ ।”

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्