काठमाडौं । याथशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी गरेको छ । सरकार र संघबीच यसअघि भएका सहमति पूरा गर्न चाँडो ऐन ल्याउनुपर्नेमा विलम्ब भएको महासंघले जनाएको छ ।
संघका पदाधिकारीले सोमबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई भेटेर यसबारे ध्यानाकर्षणपत्र बुझाएका थिए । “विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी हुनुपर्यो भन्ने हाम्रो एकसूत्रीय माग हो । यही सन्दर्भमा हिजो शिक्षामन्त्रीलाई भेटेका थियौँ । प्रधानमन्त्रीलाई पनि छिट्टै भेट्दै छौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बाह्रखरीसित भने ।
विगतमा भएका सहमति ऐनमार्फत मात्र सम्बोधन हुने उनले बताए । ऐन संसदीय प्रक्रियामा रहेका बेला अध्यादेश जारी हुनु शिक्षकको भावनाविपरीत रहेको संघको ठहर छ । “शिक्षक कर्मचारीमैत्री ऐन जारी गराउन हामी आन्दोलनमा जाने निश्चयमा पुगेका छौँ,” ध्यानाकर्षणपत्रमा लेखिएको छ ।
यही माग १८ र १९ गते हुने शिक्षकको राष्ट्रिय भेलाले आन्दोलनको दिन र कार्यक्रम निश्चित गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।
हाल विद्यालय शिक्षा ऐन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा छ ।