site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

संसारको सबैभन्दा शक्तिशाली देश संयुक्त राज्य अमेरिकाका ४७ औं राष्ट्रपतिको रूपमा डोनल्ड जोन ट्रम्पको शासन सन् २०२५ को जनवरी २० देखि सुरुभएको छ । अहिले बाहिरिएका राष्ट्रपति जो बाइडेनभन्दा अघिल्ला चार वर्ष पनि राष्ट्रपति बनिसकेका ट्रम्पको यो दोस्रो कार्यकाल हो । 

पहिलो कार्यकालमा उनले लिएका धेरै निर्णय विवादास्पद भए पनि कतिपय त्यस्ता निर्णयलाई पुनः निरन्तरता दिने उद्घोषका साथ राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेका छन् । उनको सबैभन्दा महत्त्वपूर्ण प्रतिज्ञा अमेरिकालाई पुनः महान् देश बनाउने र हरेक विषयमा अमेरिकी हितलाई अघि बढाउनुपर्छ भन्ने हो । पदभार ग्रहण गरेकै दिन राष्ट्रपति ट्रम्पले १०० वटाभन्दा बढी कार्यकारी आदेशमा सही गरेर अमेरिकाले अबका दिनमा लिने दिशा निर्देश गरेका छन् । 

नेपालमात्र होइन संसारभरका सबै देशका लागि अमेरिका र अमेरिकी राष्ट्रपतिको निर्णयले आर्थिक, सामाजिक र सामरिकरूपमा महत्त्वपूर्ण अर्थ राख्छ । नेपालको हकमा अमेरिका अझ महत्त्वपूर्ण  किन छ भने देशको आकार र अर्थतन्त्रको तुलनामा अरु देशभन्दा नेपालको अमेरिकाप्रतिको निर्भरता निकै बढी छ ।

Dabur Nepal
NIC Asia

अमेरिकामा पढ्ने विदेशी विद्यार्थीको संख्यामा नेपाल दसौं नंबरभित्र पर्छ । नेपालको निर्यात भारतपछि सबैभन्दा धेरै अमेरिकामा हुन्छ । नेपालबाट हरेक वर्ष आप्रवास भिसा ९डाइभर्सिटी भिसा० प्राप्त गरेर करिब तीन चार हजार नेपाली परिवार अमेरिका प्रवेश गर्छन् । भारत र चीनपछि नेपालको आन्तरिक राजनीतिमा अमेरिकाको प्रभाव स्पष्ट अनुभव गर्न सकिन्छ । 

अमेरिका मूलतः दुई दलीय शासन प्रणाली भएको देश हो । कहिले डेमोक्र्याटिक पार्टीले सरकार चलाउँछ भने कहिले रिपब्लिकनले । यी दलहरूको आन्तरिक राजनीतिमा ठूलो मतभिन्नता भए पनि अन्तर्राष्ट्रिय नीतिमा खासै फरक देखिँदैन । 

भारत, चीन, रसिया, मेक्सिकोजस्ता देशका लागि डेमोक्र्याट्स वा रिपब्लिकनको आगमनले व्यापार र सामरिक सम्बन्धमा केही फरक देखिएको पनि विगतमा नेपालमा त्यस्तो ठूलो असर देखिएको छैन । तथापि, यसपल्टको ट्रम्प शासन कालमा नेपालमा केही असर पर्ने देखिन्छ र त्यसको व्यवस्थापनका लागि नेपालले बेलैमा तयारी गर्नुपर्छ ।
 
नेपालका लागि ट्रम्प मित्रराष्ट्र अमेरिकाका राष्ट्रपति हुन् । हामीले आफ्नो राजनीतिक आस्थाको चस्माबाट उनलाई हेर्नु सर्वथा गलत हुनेछ । आजको अमेरिकी जनताका प्रतिनिधि ट्रम्प हुन् र हामीले उनलाई सोही रुपमा मात्र हेर्दा हाम्रो सम्बन्धमा ठूलो उतारचढाव आउँदैन । अमेरिकी जनताका सर्वोच्च प्रतिनिधिबाट नेपालको आर्थिक र सामाजिक विकासका लागि बढीभन्दा बढी फाइदा उठाउन कोसिस गर्नु नै हाम्रो अभीष्ट हुनुपर्छ । 

राष्ट्रपति ट्रम्पले लिएको कडा आप्रवास नीतिले कतिपय नेपालीको सपनामा तुषारापात भए पनि देशको रूपमा नेपाललाई बेफाइदा हुँदैन । गैरकानुनी तवरले अमेरिकामा बस्दै आएका नेपालीहरू नेपाल फर्कनुपर्ने अवस्था आउँदैछ । अमेरिकामा मेहनतकासाथ कमाइ गरेर परिवार पाल्न सफल व्यक्तिहरू नेपाल फर्के भने नेपाललाई केही सक्षम र संसार बुझेका व्यक्ति प्राप्त हुनेछ । त्यसले देशमा केही ज्ञान र पुँजी भित्रिनेछ ।

धेरै पढेलेखेका सक्षम नेपालीहरू हरेक वर्ष अमेरिकाले खोल्ने डाइभर्सिटी भिसा कुरेर बस्ने मानसिकतामा हुन्छन् र देशभित्र खासै उत्पादनशील कार्यमा होमिदैनन् । ट्रम्पले डाईभर्सिटी भिसा रोक्ने निर्णय गरेका छन् । त्यसैले अब अमेरिकी सपना पाल्नुभन्दा नेपाललाईनै राम्रो बनाउन तर्फ धेरै युवाको ध्यान मोडिनसक्छ । 

नयाँ अमेरिकी राष्ट्रपतिले लिएका ठूला निर्णयमा अमेरिका प्रवेश गर्ने सम्पूर्ण सामग्रीमा १० प्रतिशत भन्सार शुल्क बढाएका छन् । क्यानडा र मेक्सिकोबाट आयातित सामानमा २५ प्रतिशत र चीनका सामानमा ६० प्रतिशत सम्म भन्सार बढाउने घोषणा गरेका छन् । नेपालको सामानमा १० प्रतिशत भन्सार पनि बढेन भने नेपालले अमेरिकामा गर्ने निर्यात बढ्ने अवस्था देखिन्छ । 

राष्ट्रपति ट्रम्पले पेरिस वातावरणीय सम्झौताबाट पहिलो कार्यकालमा जस्तै यसपल्ट पनि अमेरिका बाहिरिने घोषणा गरेका छन् । यो निर्णयले नेपालमा नकारात्मक असर गर्नसक्छ । नेपालका हिमालयहरूमा वातावरणीय परिवर्तनको निकै ठूलो असर देखिएको छ । अमेरिकाले वातावरण संरक्षणबाट हात झिकेको अवस्थामा नेपालको वातावरण संरक्षण कार्यमा पनि निकै असर पर्नसक्छ । यस निर्णयले कतिपय वातावरण संरक्षणमा काम गर्ने गैरसरकारी संस्थालाई स्रोत पुँजीको अभाव हुनसक्छ ।

त्यस्तै असर स्वास्थ्य क्षेत्रमा पनि पर्न सक्छ । किनभने अमेरिकाले विश्व स्वास्थ्य संगठनको पनि सदस्यता त्याग्ने निर्णय गरेको छ । हुनत, विश्व स्वास्थ्य संगठनलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले गर्ने सहयोग रकम अमेरिकाले दिनेभन्दा बढी छ । तैपनि, अमेरिकी सरकारको निर्णयले गरिब देशको स्वास्थ्य सेवामा नकारात्मक असर पर्ने देखिन्छ ।

यीबाहेक पनि अमेरिकामा भएको परिवर्तनले नेपालमा व्यापक असर पर्ने संभावना रहेकाले नेपालले आफूलाई त्यसका लागि तयार गर्नु आवश्यक छ । नेपालले पाउने सुविधा सकभर बढाउने र घट्ने सुविधाहरूको नकारात्मक असर समयमै अध्ययन गरेर कूटनीतिक पहल मार्फत् त्यस्तो असरबाट नेपाललाई जोगाउन ध्यान दिनुपर्छ । यसका लागि सरकारले एक अध्ययन कार्यदल बनाएर सकभर चाँडो अमेरिकासँगको आर्थिक, सामाजिक र सामरिक सम्बन्धलाई अझ मजबुत बनाउने कार्यमा तदारुकता अपनाउनु आवश्यकत देखिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro