काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मोबाइल चोरी गरी रकम ठगी गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर रौतामाई गापा ७ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका २४ बस्ने ३५ वर्षीय ध्रुवकुमार राय र काठमाडौं जिल्ला कामनपा २४ बस्ने राजन डंगोल छन् ।
उनीहरूको साथबाट प्रहरीले एप्पलको आईफोन एक थान, ओप्पो कम्पनीको मोबाइल एक थान, रेडमी कमपनीको मोबाइल दुई थान, किप्याड मोबाइल दुई थान, सवारी चालक अनुमतिपत्रको प्रतिलिपि एक थान र ब्लुबुक एक थान बरामद गरेको छ ।
प्रहरीले उनीहरूलाई ०८१ माघ ७ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।