site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लस भेगासको रंगीन रात

जर्जिया राज्यको एटलान्टाबाट चार घन्टाको हवाई यात्रापछि लस भेगास ओर्लिएका छौँ । भाइको गाडी हवाई अड्डामै पार्किङ भएकाले सजिलै भयो । छोरा लोकेशले विद्यावारिधि गरेको दीक्षान्त समारोहमा भाग लिन लस एन्जेलसबाट भाइ डिल्ली, बुहारी गीता, तथा छोरा शुभम् र श्रीयम अलावामा आएका थिए । 

हामी पनि नेपालबाट अलावामा पुगेका छौँ । दीक्षान्त समारोह सकिएलगत्तै हामी उनीहरूसँगै लस एन्जेलस जाने क्रममा चारदिने लस भेगासको व्यापार मेलामा पुगेका थियौँ । भाइ एएसडी सोका लागि केही दिनदेखि लस भेगासमै थियो । यही अवसरमा हामीले पनि लस भेगास घुम्ने मौका पायौँ । अमेरिकाको व्यापारिक पद्धतिका बारेमा केही सिक्ने अवसर पनि मिल्यो ।

एटलान्टाको होटेलमा छोराद्वय शुभु, श्रीयम तथा गीता र तुलसालाई छाडेर डिल्ली भाइ र म सबेरै लस भेगासतर्फ उडिरहेका थियौँ । बिहानै सात बजेको जहाजमा हामी लस भेगासको लागि प्रस्थान गर्‍यौँ । करिब चार घन्टाको उडान समयमा केही समय निदाउँछौँ । मलाई निद्रा लाग्दैन । मनमा लस भेगासको माटो चुम्ने तीव्र इच्छा जागेको छ । मैले सुनेको जुवाको सहर कस्तो होला ? मनभरि उत्सुकता छ । 

Dabur Nepal
NIC Asia

समय–समयमा एयर होस्टेज केही चाहियो कि ! भन्दै आउँछिन् । एक मनले सोच्छ, घरमा नाति–नातिना खेलाएर बस्ने उमेरमा यी यहाँ काम गरिरहेका छन्, आखिर काम गर्नलाई उमेरले कहाँ छेक्दो रहेछ र ? मलाई लाग्छ कामको सम्मान गर्न सक्यो भने धेरै कुरा आफैँ सुध्रिने रहेछ । 

हाम्रो देशका अगुवाहरूले यो कुरा कहिले बुझ्ने होला, सम्झिँदा पनि मन अमिलो हुन्छ । भाइ निदाइरहेको छ, मेरो मनमा अनेक कुरा खेल्छन् । १६ दिनसम्म छोरासँग रमेको थिएँ, हिँड्ने वेलामा संवेदनाका आँसु कहाँ थाम्न सक्नु । छोरालाई एक्लै छाडेर हिँड्नुपर्दा मन घायल छ ।

अमेरिकामा हामी अझैँ एक हप्ता हुन्छौँ, मनलाई सान्त्वना दिन्छु । यादव भाइ, रेशु तथा ससुरा बा र आमा हाम्रो प्रतीक्षामा हुनुहुन्छ, लस एन्जेलसमा । हवाईजहाजबाट नियाल्छु, कहिले समुद्र त कहिले मरुभूमि देखिन्छ । आँखा लस भेगास सहर नियाल्न आतुर छ । तर, आफ्नो हातमा भए पो, समय नभई कुनै कुरा हुँदैनन् । 

यतिखेर हामी ११ हजार फिटमाथि उडिरहेका छौँ । कृपया आफ्ना इलेक्ट्रिक डिभाइसहरू बन्द गर्नुहोला र सिट बेल्ट बाँध्नुहोला भन्ने आवाजले म मख्ख पर्छु । भाइ डिल्ली पनि उठिसकेको छ । ऊ मलाई जहाजबाट ठाउँहरू देखाउँदै छ । म साउथवेस्ट जहाजबाट अमेरिका नियालिरहेको छु । एटलान्टाबाट धेरै राज्यहरू पार गरेर हामी लस भेगासमा पुग्नै लागेका छौँ । 

अमेरिकाको नेभाडामा राज्यमा पर्छ ‘लस भेगास’ । ‘लस भेगास’को अर्थ स्पेनिस भाषामा ‘घाँसेमैदान’ भन्ने बुझिन्छ । अहिले ‘लस भेगास’लाई जुवाको सहर पनि भनिन्छ, यस सहरका बारेमा धेरैभन्दा धेरै कुरा जान्न उत्सुक हुन्छु, म । यहाँका विभिन्न स्थानमा घुम्नु पनि छ । तर, समयावधि दुई दिनको मात्र छ । 

लस भेगासको नाम सन् १८२९ मा त्यहाँ पुगेका स्पेनिस अन्वेषकहरूले दिएका रहेछन् । लस भेगास क्षेत्रमा पानीका स्रोतहरू थिए, जसले हरियाली र जीवनका लागि आधार प्रदान गर्थे । ती घाँसेमैदान र पानीका स्रोतहरू यात्रा गर्ने व्यक्तिहरूका लागि विश्रामस्थल थिए, जसका कारण यस क्षेत्रलाई यो नाम दिइएको रहेछ । हाल लस भेगास संसारकै प्रसिद्ध सहरमध्ये एक हो, यद्यपि अब यो घाँसेमैदानभन्दा मनोरञ्जन, जुवा, र भव्य होटेलहरूको सहरको रूपमा चिनिन्छ । 

सोचेँ, कसरी लस भेगास ‘घाँसेमैदान’ भयो ! म देखिरहेको छु, मरुभूमि नै मरुभूमि । वरिपरि बन्जर सानासाना पहाड र बीचमा रहेको छ, सहर । हरियाली कतै देखिँदैन । धेरै वर्ष पहिला मानवबस्ती बस्नुपूर्व घाँसेमैदान नै थियो होला, सायद । जे होस् यो मेरो कल्पना मात्र हो । म हाम्रा उखानहरू सम्झन्छु, ‘जसको सिङ छैन, उसको नाम तिखे’, ‘जोसँग धन छैन, ऊ धनीराम’ भन्दैमा के जान्छ र ? 

गन्तव्यमा पुगेउप्रान्त गाडीको स्टेरिङमा भाइ छ । बिहानको करिब ११ बजेको छ, गाडीबाट ओर्लेपछि हपक्कै घामको रापले सेकाउँछ । गाडी पार्क गरेर हत्तपत्त व्यापार मेला भइरहेको हलतर्फ लाग्छौँ । यादव र पुकार सामान मिलाइरहेका छन् । यादव मेरा लागि पासको व्यवस्था गर्न लाग्छ, कार्ड भिरेर हामी प्रदर्शनी हलतर्फ प्रस्थान गर्छौँ । अमेरिकाको व्यापार मेलाको मेरो पहिलो अनुभव थियो, यो । यद्यपि, चीन तथा चीनको स्वशासित राज्य तिब्बतमा सम्पन्न व्यापार मेलामा मैले भाग लिएको छु । अति नै भव्य हल थियो र व्यापारको शैली पनि फरक लाग्यो । 

लस भेगासको स्थापना सन् १९०५ मा भएको रहेछ । यो अमेरिकी राज्य नेभाडामा पर्ने सहर हो, जसलाई आज ‘दुईपक्षीय मनोरञ्जन र जुवाको राजधानी’ भनेर चिनिन्छ । लस भेगासको पहिलो औपचारिक विकास सन् १९३१ मा सुरु भएको थियो । जब नेभाडाले जुवा खेललाई वैध बनायो र यस क्षेत्रमा ठूला निर्माण परियोजना, जस्तै : हुबर बाँध, सुरु भए । यो बाँधले धेरै मानिसलाई यहाँ ल्यायो, जसले सहरलाई अझ बढी विकास गर्न मद्दत पुर्‍याएको थियोे । 

अहिले लस भेगास विश्वको मनोरञ्जन र पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात छ । लस भेगासमा लगभग एक लाख ५० हजारभन्दा बढी होटेलका कोठा छन्, र सहरको मुख्य क्षेत्र (लस भेगास स्ट्रिप)मा धेरैजसो ठूला होटेल छन् । त्यहाँ लगभग एक सय ३६ होटेल–संलग्न क्यासिनोहरू छन् भने लस भेगासआसपासका क्षेत्रमा अरू दर्जनौँ छुट्टै क्यासिनो पाइन्छन् । 

लस भेगास स्ट्रिपको प्रसिद्ध क्यासिनोमा वेलाजियो, भेनिसियन, एमजीएम ग्रान्ड, र विन समावेश छन् । साथै, डाउनटाउन क्षेत्रमा पनि केही चर्चित क्यासिनो छन्, जस्तै : गोल्डेन नगेट र फोर क्विन्स आदि । 

अमेरिकाको डोमेस्टिक जहाज पनि ठूलै हुँदो रहेछ ! हाम्रोमा डोमेस्टिक जहाज भनेपछि सानो हुन्छ । भैरहवा, विराटनगर, नेपालगन्जतिर भने अलि ठूलै छ । एयर होस्टेज हुनका लागि उमेरले छेक्दो रहेनछ । 

हामी चढेको विमानमा करिब सत्तरी वर्षकी एयर होस्टेजले यात्रुलाई सेवा दिइरहेकी थिइन् । आमा समानकी एयर होस्टेजले खानेकुरा दिइरहँदा मैले आमालाई सम्झिएँ । 

अमेरिका कामको सम्मान हुने देश हो । नेपालको पद्धतिसँग कुनै पनि कुरामा मेल खाँदैन । मलाई लाग्यो, नेपालमा हामी मजाक गरिरहेका छौँ । एकले अर्कालाई दोषारोपण गरेर आफैँमात्र लालिपप चुसिरहेका छन्, राज्य निर्माताहरू ! 

यहाँको विकास र पद्धति देखेर मैले नेपालमा अबको सय वर्षमा पनि यस्तो विकास हुन सक्लाजस्तो मलाई लागेन । त्यसैले त नेपालीहरू अमेरिका पुगेपछि नेपाल बिर्सिंदा रहेछन् । अनि भन्दारहेछन्, अमेरिका सपनाको देश हो । यहाँको भूलभूलैया नै यस्तै रहेछ । 

हामीले करिब २४ दिन अमेरिका बसाइमा बुझेको कुरा यही थियो । यहाँ कसैलाई कसैको वास्ता हुँदो रहेनछ । एकले अर्काको कुरा काटेर समय बिताउने फुर्सद उनीहरूलाई कहाँ हुनु । बिहान सबेरैदेखि बेलुका अबेरसम्म मेसिनझैँ चल्नुपर्ने दैनिकी । सेकेन्ड–सेकेन्डको महत्त्व हुने देश रहेछ, अमेरिका । 

नेपाली समुदाय भने व्यस्तताका बाबजुद पनि एकआपसमा रमाउने गर्दा रहेछन् । आखिर जन्मभूमिभन्दा ठूलो केही होइन रहेछ । मान्छे संसारका जुनै कुनामा पुगे पनि आफ्नो धर्म, संस्कृति, रीतिरिवाजलाई अँगालिरहेका छन् । आफ्ना बालबच्चालाई नेपाली सिकाउनका लागि नेपाली पाठशाला निर्माण गरेका छन् । हिन्दू मन्दिरहरूको निर्माण गरेका छन् । 

उनीहरू आफ्नो धर्म–संस्कृति, रीतिरिवाजलाई कायम राख्न सफल रहेका कैयौँ प्रत्यक्ष प्रमाण हामीले देख्यौँ । हुन त अमेरिका गएर ठूलाठूला कुरा लेख्छ भन्नुहोला, तर यात्राका क्रममा आफूलाई लागेका कुरा कोर्नैपर्छ जस्तो लाग्छ । यही त हो यात्राको असली मजा ।

हामी बाहिर निस्केर गाडी पार्किङतर्फ लाग्यौँ । बिहानै भए पनि बाहिर निस्कँदै गर्दा हपक्क भइहाल्यौ । डेर्जड एरिया हो यो, नौलो कुरा थिएन । घाम मस्त लागेको छ । हामीसँग एकजना भारतीय मूलका साथी पनि थिए । उनलाई उनी बस्ने होटेलमा छोडेर हामी सेन्ट्रल हलतर्फ लाग्यौँ, जहाँ व्यापार मेला भइरहेको थियो । 

करिब १५ दिनदेखि यही व्यापार मेलामा भाग लिइरहेको थियो भाइले । अझै चार दिनसम्म चल्ने उक्त मेला निकै प्रख्यात व्यापार मेला रहेछ । यहाँ सामान बिक्री गर्न नपाइने रहेछ, अर्डरमात्र लिने मेला रहेछ ! नेपाली सामान पनि उल्लेख्य मात्रामा मेलामा देखिए । हामी जहाँजहाँ पुग्छौँ, नेपाल र नेपालीको पहिचान जमाउँछौँ, यो मेलामा पनि नेपाली वस्तु देख्दा मेरो छाती चौडा भएको थियो । नेपाली साथी थुप्रै थिए । पहिलो दिन भएकाले चहलपहल भने कमै थियो । विगत दुई दशकदेखि भाइ डिल्ली अमेरिकामै व्यापार गरिरहेको छ । नेपालमा उसले सुरुवात गरेको व्यापारमा म संलग्न छु । 

अमेरिकामा भने म पहिलोपटक पुग्दै छु । मेरो अमेरिका बसाइ करिब २४ दिन रहेकोमा १५ दिन अलावामामा बित्यो । अबको लगभग एक हप्तामा लस भेगास तथा लस एन्जेलसमा हुन्छु । भाइको उन्नति प्रगतिमा म रमाएको छु । उसले कर्मभूमिमा ठूलै संघर्ष गरेर नै आजको दिनमा राम्रो प्रगति गरेको छ । 

मैले गर्व गर्ने भनेकै भाइहरूको उन्नति प्रगतिमा हो । दुःख गरेर हुर्काउनुभएको बुबाले हाम्रा प्रगति देख्न पाउनुभएन । आमाले भने देख्नुभयो । आमा दुईपटक अमेरिका पुग्नुभयो । बुबाले माथिबाटै हामीलाई आशीर्वाद दिइरहनुभएको छ । दुई वर्षअगाडि आमाले पनि छाडेर जानुभएको छ । संसारको रीत यस्तै रहेछ, जन्मेपछि मर्नैपर्ने । 

हलभित्र चिसो महसुस भएको छ, यादव र पुकार भाइले सजाएको स्टल निकै आर्कषक थियो । हामी पुगेपछि खाना खाएर यादव लस एन्जेलसतर्फ लाग्यो । भोलि मलाई लिन बुहारी गीता आउँछिन् भन्दै थियो भाइ । एटलान्टामा हामी उनीहरूलाई होटेलमै छोडेर आएका थियौँ । केही समय रनभुल्लमा पर्छु म । चीनको व्यापार मेलामा भाग लिएको थिएँ । चीनमा भन्दा कैयौँ ठूलो मेला रहेछ, लस भेगासमा । भाइहरू व्यापारमा व्यस्त हुन्छन् । म वरिपरि घुमेर मेलाको रौनक हेर्छु । 

धेरै देशबाट यहाँ सामेल भएका छन् व्यापार गर्नेहरू । घुम्दै कहिले परफ्यूमको स्टल, कहिले खानाको स्टलमा पुग्छु म । प्रायः मेक्सिकन खानाको बाहुल्यता रहेछ । स्टारबक्समा पुगेर कफिको तलतल मेटाउँछु । क्यालिफोर्निया राज्यका वाणिज्यदूत ऋषि ढकालजी तथा साथी अर्जुन बन्जरासँग उहाँहरूको स्टलमा भेट हुन्छ । रमाइलो अनुभूति हुन्छ । 

मन स्थिर छैन, चञ्चल भइरहेछ । लस भेगासको अन्य दृश्यहरूको अवलोकन मेला सकिएपछि हुन्छ नै, दुई दिनको लस भेगासको बसाइ सुमधुर भइरहेछ । पहिलो दिन व्यापार मेलामै कहिले यता, कहिले उताका दृश्यहरूमा नजर दिँदै दिन बितेको पत्तो भएन । व्यापार कस्तो भयो त्यो भने मलाई थाहा भएन । मान्छेहरूको भीड भने क्रमशः बढ्दै जाने रहेछ । चार बजेपछि क्रमशः शून्यता बढ्दो रहेछ ! पाँच बजे बन्द गर्नैपर्ने कडा नियम जो बाँधिएको छ । 

स्टल बन्द गरेर बाहिर निस्किँदा हपक्कै बनायो । आँखै हेर्न नसकिने तातो राप छिचोल्दै हामी गाडी पार्किङमा पुग्यौँ । मैले दिल्लीको ५० डिग्रीको गर्मीको पीडा सम्झेँ । गाडीमा कतिवेला पुगौँजस्तो भयो ! बेलुकीपखको त्यो उखरमाउलो गर्मीलाई गाडीको एसीले केही मत्थर बनायो । 

करिब १५ मिनेटको गाडी यात्रापछि हामी फ्ल्याटमा पुग्यौँ । साथी अर्जुन पनि सँगसँगै पुगे । बेलुकाको खाना पुकार भाइले बनाएर खुवाए । दिनभरको थकानले गर्दा विश्राम खोजेको थियो, ज्यानले । अघिल्लो दिन पनि राम्ररी निदाउन पाएका थिएनौँ । तात्तातो खाना खाएपछि तुरुन्तै निदाइएछ । एउटा अनुभव मैले लिएँ, अमेरिकामा वास्तवमै राम्ररी निदाउन नपाइने रहेछ । 

नौ बजे मेलामा पुगिसक्नुपर्ने हतारो छँदै छ, बिहान सबै काम सकिएपछि ब्रेकफास्ट लिएर सेन्ट्रल हलतर्फ लाग्यौँ । बिहानै भए पनि हपक्क भइरहेको थियो । गाडीबाटै मैले लस भेगासका चित्रहरू क्यामरामा कैद गरेँ । रातभरि जागेको भेगास, बिहान केही भएको छैनझैँ गरिरहेको भान भयो, मलाई । 

मैले सुनेको जुुवाको सहर लस भेगासमा जुवाका कुनै निसानी देखिनँ, यो बिहानीमा । अघिल्लो रात थकानले निदाइयो । भाइ जिस्क्याउँदै थियो मलाई, “आज बेलुका जुवा खेल्नुपर्छ । कति डलर ल्याएको छ नेपालबाट ?” 

“व्यापारी भाइ भएपछि डलरको के कमी भयो र ! खेलौँला र जितौँला लाखौँलाख डलर...’, म पनि भाइसँग जिस्किएँ । लस भेगासको फोटो पोस्ट गरेपछि, दुर्गा अधिकारी भमरकोटे दाजुलाई सम्झिएँ । फोनवार्ता पनि भयो । उहाँ धेरै वर्ष यहाँको क्यासिनोमा बस्नुभएको थियो । 

म अब एक दिनको पाहुना छु भेगासमा । आज बेलुका गीताले तुलसालाई सँगै ल्याउँछिन्, उनीसँगै हामीलाई भाइबुहारीले लस भेगासका रात्रिजीवनमा प्रवेश गराउने सल्लाह भएको छ । म आतुर थिएँ, भेगासको रात्रिजीवनको अनुभव बटुल्न । 

मेलामा व्यापार गर्ने भाइ र पुकार छँदै थिए । म मेलामा टहलिन थालेँ । कहिले ऋषि ढकालजी त कहिले अर्जुन बन्जाराजीको स्टलमा पुग्थेँ । त्यहाँको रमणीय पललाई क्यामरामा कैद गर्थेँ । 

एएसडी व्यापार मेला त्यहाँको प्रख्यात मेला रहेछ । धेरै राष्ट्रका व्यापारीको जमघट हुने सो स्थल निकै चर्चित पनि रहेछ । क्रेता, बिक्रेतालाई एकै थलोमा ल्याउने यस्ता व्यापारिक मेलाहरू अमेरिकामा धेरै हुने रहेछ । यस्ता धेरै मेलामा भाग लिएको अनुभव भाइ डिल्लीसँग छ । अहिले ऊ निकै ठूलो व्यवसायी बनेको छ । निश्चय पनि उसले गरेको मिहिनेत र प्रगति देख्दा मेरो मन प्रफुल्ल भएको छ । 

व्यवसायमात्र नभएर समाजसेवामा पनि ऊ रमाएको देखेँ । पशुपति बुद्ध मन्दिर तथा अन्य संघ–संस्थामा रहेर राम्रो कामको अनुशरण गरेको मैले पाएँ । उसले गरेका धेरै कुरा छन्, समाजमा प्रत्यक्ष प्रभाव पार्ने । अमेरिका यात्रामा भन्दा पनि उसले गरेका कामको नजिकको साक्षी म आफैँ पनि छु । आखिर मान्छेले मिहिनेत गरेमा आफ्नै बुताले चन्द्रमा छुन सकिने रहेछ भन्ने उदाहरण स्वयं मेरो भाइ छ । 

मैले यो यात्रामा आफ्नै आँखाले देखेको भाइको प्रगतिले मन गर्विलो बनेको छ । स्टारबक्समा कफी लिन गएको म लाइन बस्दाबस्दै के–के सोचिरहेको छु । आखिर यात्रा न हो जीवन ! 

लामो लाइन छ, कफीको । मैले पैसा दिएँ, तर पैसा लिन मानिनन् । उनले कार्र्ड पो लेऊ भनिन् ! तै तै कार्ड पनि बोकेको थिएँ र सजिलै भयो । दुई कप कफी लिएर म स्टलमा फर्किएँ । 

लस भेगासको दोस्रो दिन पुकार र म लन्चका लागि फुड स्टलतिर लाग्छौँ । उसलाई मन पर्ने त्यही मेक्सिकन खाना रहेछ । मलाई पनि स्वादिलै लाग्यो । भोजनभन्दा पनि भोकको कुरा हो जस्तो लाग्यो मलाई । 

आज पनि म एएसडी मेलाको रौनक हेरिरहेको छु । भेगासमा यस्ता चारवटा हल रहेछन् । समय–समयमा सबैमा मेला लाग्दो रहेछ । अमेरिकाको व्यापार मेलामा संसारका धेरै देशहरूले भाग लिँदा रहेछन् । प्रायः सामानको क्याटेगोरीअनुसारका मेला पनि हुँदा रहेछन् । हाम्रो देशमा लाग्ने हाट बजारको बृहत् रूप रहेछ । 

मान्छेहरू ठूला मलमा भन्दा यस्ता मेलामा सामानका भेराइटी पाइने हुँदा यस्ता मेलामा आकर्षित भएका पनि हुन सक्छन् । नेपालमा पनि यस्ता मेला हुन्छन्, तर सामान किन्ने भन्दा तमासे बढी देखिन्छन् । व्यापारीहरू जहिल्यै मर्कामा पर्ने । तै पनि हस्तकला महासंघले समय–समयमा भृकुटीमण्डपमा व्यापारिक मेला आयोजना गरिरहेको हुन्छ । 

बेलुकीको पाँच बजेको छ, बाहिर तातो हावा चलिरहेछ । स्टल बन्द गरेर भारतीय रेस्टुरेन्टमा डिनरका लागि जाने कार्यक्रम बनेको रहेछ । म र पुकार अर्जुन बन्जराजीको गाडीमा चढ्यौँ । भाइ डिल्ली, ऋषि ढकालजीकोमा पार्किङ गरेर आउने भयो । 

हामी रेस्टुरेन्टमा पुग्दा डिल्ली, ऋषिजी, नारायणजी पुगिसकेका थिए । गीता र तुलसा पनि त्यहीँ आइपुगे । भारतीय भने पनि कामदार सबै नेपाली थिए । करिब एक दर्जनको हाम्रो टोलीले अमेरिकामा नेपाली मिश्रित इन्डियन खाना खायौँ । खाना खाएसँगै हामी डिल्ली, गीता, म र तुलसा भेगासको रात्रिजीवन हेर्न भनेर बाहिरियौँ ।  

केही समयपछि हामी लाग्यौँ, क्यासिनोतिर । नेपालको क्यासिनोमा खेल्नभन्दा पनि हेर्नकै लागि एकाधपटक पुगेको भन्दा अरू बढी अनुभव मलाई थिएन । हेर्दै जाँदा भव्य लाग्दै गयो । 

क्रमशः मान्छेहरूका भीड बढिरहेको छ । एउटा होटेलबाट पसेका हामी कहाँ र कता जाँदै छौँ भन्ने पत्तो मलाई भएन ! बस्, भाइबुहारीले जताजता हिँडाउँछिन् उतै पाइला लम्किरहेको थियो हाम्रो । 

मान्छेहरू सबै आ–आफ्नै धुनमा छन् । लाग्छ, एउटा अलग्गै ब्रह्माण्ड हो भेगास र यहाँको रात्रिजीवन । एउटा होटेलबाट पसेपछि घुम्दै अर्को होटेलमा पुगिन्छ । जता देखे पनि क्यासिनो खेलिरहेका, खाइरहेका तथा घुमिरहेका मान्छे मान्छे देखिन्छन् ! 

हामी पनि त्यही भीडमा घुमिरहेका छौँ । लाग्छ, भेगासमा रात होइन दिनै छ यतिखेर । सजावटका हिसाबले उत्कृष्ट कारिगरीको नमुना त्यहाँ देख्न सकिन्छ । हामीले सम्झनास्वरूप तस्बिरहरू खिच्यौँ । नीलो कृत्रिम आकाश मध्यरातमा हामी देखिरहेका थियौँ । 

वाटर फाउन्टेनको रमाइलोमा हामी केही समय भुल्यौँ । बाटोमा अनेक प्रकारका सामान बेच्ने पनि छन् । मध्यरातमा पनि हपक्क छ गर्मी । हपक्क गर्मीले नथाकेका हामी निरन्तर भेगासको रात्रिजीवनमा रमाइरहेका छौँ । मलाई लाग्यो, भेगास दिनमा भन्दा रातमा भव्यताका साथ रमाउने रहेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro