site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले आश्वस्त पारेपछि भूमिसम्बन्धी अध्यादेश जारी गर्न तयार भए राष्ट्रपति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वस्त पारेपछि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेको खुलेको छ । ओलीले बुधबार टेलिफोन गरी राष्ट्रपतिलाई भूमिसम्बन्धी अध्यादेशका विषयमा आश्वस्त पारेको स्रोत बताउँछ ।

२६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २९ पुसमा राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ र लगानीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए । तर, त्यतिबेला उनले भूमिसम्बन्धी अध्यादेश रोकिदिएका थिए ।

तर, ओलीले आज टेलिफोन नै गरेर आश्वस्त पारेपछि भूमिसम्बन्धी अध्यादेश जारी गरेका हुन् । 'वन बुट्यान भएको वन र राष्ट्रिय निकुञ्जको जग्गा नापजाँच गरेर अद्यावधिक गर्ने' बुँदामा प्रधानमन्त्री ओलीले एक पटकका लागि भनेर उल्लेख गर्ने प्रतिबद्धता गरेपछि अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

वन तथा वातावरण मन्त्रालय स्रोतका अनुसार, अध्यादेशमा, “अभिलेखमा वन बुट्यान भएको क्षेत्रलाई नाम/नक्सांकन गरी नेपाल सरकारले विवरण अद्यावधिक गर्न सक्ने” व्यवस्था गरिएको छ ।

जसलाई लिएर राष्ट्रपतिले चिन्ता जाहेर गरेका थिए । तर, बुधबार प्रधानमन्त्रीले एकपटकका लागि मात्र उल्लेख गर्ने भनी आश्वस्त पारेपछि उनले जारी गरिदिएका हुन् ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई फोन गरेर जग्गा बाँड्ने प्रयोजनका लागि अध्यादेश नल्याइएको बताएका थिए । "संसद् बोलाउनबित्तिकै प्रतिस्थापन विधेयक दर्ता गर्छु । पटकपटक जग्गा नबाँड्ने व्यवस्था ऐनमै गराउनुपर्छ," ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, अध्यादेशमा राखिएको नयाँ व्यवस्था भनेको लामो समयदेखि बसोबास रहेको तर, अभिलेखमा वन बुट्यान देखिएको क्षेत्रलाई नेपाल सरकारले अद्यावधिक गर्न सक्ने भनिएको हो ।

अद्यावधिक केका लागि गर्ने ? वनको जग्गा वन क्षेत्र भनिनु त ठिकै होला ? बाह्रखरीको जिज्ञासामा ती अधिकारीले भने, “त्यसरी बसेका मानिसहरूलाई त्यो जमिन उपलब्ध गराउने विषयसँग त्यो बुँदाको सम्बन्ध रहेको छ ।”

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro