site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन वर्षमा ४० लाख ३१ हजार ई–पासपोर्ट जारी, आठ महिनापछि प्रक्रिया नटुंगिए समस्या आउने !

काठमाडौं । राहदानी विभागले पछिल्लो तीन वर्षमा ४० लाख ३१ हजार विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) जारी गरेको छ । ०७८ मंसिरदेखि हालसम्मको अवधिमा विभागले उक्त संख्यामा ई–पासपोर्ट जारी गरेको हो । बितेको तीन वर्षमा विभागले औसतमा प्रत्येक वर्ष १३ लाख ४३ हजार ६६६ भन्दा बढी ई–पासपोर्ट जारी गरेको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार, विभिन्न समयमा खरिद गरिएका ५१ लाख ई–पासपोर्टमध्ये ४० लाख ३१ हजार जारी भइसकेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ सुरु भएयता मात्र विभागले पाँच लाख ४७ हजार ३९१ थान ई–पासपोर्ट जारी गरिसकेको छ । विभागले २०७८ मंसिरदेखि ई–पासपोर्ट जारी गर्न सुरु गरेको हो ।

“अब हामीसँग साढे १० लाखको हाराहारीमा ई–पासपोर्ट बाँकी छ । यसले ८–१० महिना धान्छ,” महानिर्देशक अर्यालले भने । 

अबको ८–१० महिनाभित्र नयाँ पासपोर्ट खरिद प्रक्रिया नटुंग्याए वितरणमै समस्या आउने देखिन्छ । नयाँ पासपोर्ट खरिद प्रक्रिया सोही अवधिमा सक्ने गरी अघि बढेको महानिर्देशक अर्यालले बताए । “नयाँ पासपोर्टको खरिद प्रक्रिया हाम्रो कार्यतालिकाभित्रै सकिन्छ भन्ने लाग्छ,” उनले जनाए । 

विभागले आगामी पाँच वर्षमा ६४ लाख थान ई–पासपोर्ट छपाइ गर्नेसम्बन्धी खरिद प्रक्रिया अघि बढाइसकेको छ । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई ई–पासपोर्ट छपाइ गर्न करिब १२ अर्ब रुपैयाँको स्रोत तथा बजेट सहमति प्रदान गरेको छ ।

गत कात्तिकमा पासपोर्ट छपाइसम्बन्धी कार्य गर्न परराष्ट्रलाई बहुवर्षीय ठेक्काको स्रोत सहमति तथा बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको हो । 

बजेट सुनिश्चित भएपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले पाँच वर्षमा ६४ लाख थान ई–पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गरिसकेको छ । विभागले सुरुमा सन् २०२५ जनवरी १२ (पुस २८ गते) सम्मको म्याद राखेर ६४ लाख थान पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गरेको थियो । विभागले गत मंसिर १३ गते पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गरेको थियो ।

विभागले यही जनवरी ५ मा पहिले निकालेको टेन्डरलाई सशोधन गरी पुन: आह्वान गरेको छ । संशोधन गरिएको सूचनामा टेन्डरको अन्तिम मिति फ्रेब्रुअरी ११, २०२५ बनाइएको छ ।

पछिल्ला वर्षमा विभागले प्रत्येक महिना औसतमा एक लाखभन्दा बढी पासपोर्ट जारी गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा विभागले १४ लाख ७३ हजार ३२५ थान ई–पासपोर्ट जारी गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १४ लाख ७१ हजार २६४ थान ई–पासपोर्ट जारी भएको थियो ।

विभागका अनुसार, बितेको साढे १४ वर्षमा नेपालले एक करोड १० लाख ४५ हजार ६१७ थान पासपोर्ट जारी गरेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०८१/८२ को पुससम्मको अवधिमा ती पासपोर्ट जारी गरिएको हो ।

यो संख्या राहदानी विभागमा बनेर विभाग, जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगले जारी गरेको पासपोर्टको हो ।

नेपालले हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेपछि उक्त संख्यामा पासपोर्ट जारी गरेको हो । यसमा ई–पासपोर्ट पनि समावेश छ । राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो । यस्तै, विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro