site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायल–हमासबीच युद्धविरामको सम्भावना, पहिलो नभए दोस्रो चरणमा विपीन रिहाइ हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीबीच टेलिफोनवार्ता भएको छ ।

मंगलबार भएको वार्तामा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका सम्बन्धमा कुराकानी भएको थियो ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री राणाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपीनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्दै आएकी छन् ।

यसैबीच मंगलबार इजरायल र हमासबीचको युद्धविराम वार्ताका प्रमुख वार्ताकार, मध्यस्तकर्ता तथा कतारका विदेश राज्यमन्त्री अल–खुलाइफीसँग उनले कुराकानी गरेकी हुन् ।

“कतारका मन्त्रीले इजरायल र हमासबीच आज (मंगलबार) राति युद्धविराम हुने उच्च सम्भावना रहेको जानकारी दिनुभयो,” टेलिफोन वार्ताबारे परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीलाई सकेसम्म बन्धक रिहाइको पहिलो चरणमा, त्यो नभए दोस्रो चरणमा पर्नेगरी उच्च प्राथमिकतामा राखिएको जानकारी समेत उहाँले दिनुभयो ।”

नेपाल र कतार असल मित्रराष्ट्र भएको र गत वर्ष कतारका राजाले नेपाल भ्रमण गरेको स्मरण गर्दै कतारका विदश राज्यमन्त्रीले विपीनको रिहाइलाई उच्च प्राथमिकतामा राखिएको बताएका थिए ।

त्यसअघि मन्त्री राणाले कतारका मन्त्री अल–खुलाइफीसँग हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपीनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् ।

मन्त्री राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसंग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी थिइन् ।

यसअघि मन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपीनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

गत हप्ता मन्त्री राणाले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपीनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन् ।    

गत साता नै मन्त्री राणाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन् ।

राजदूत बासले मन्त्री राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी दिएका थिए ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार २०० जनाको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई बन्धक बनाइ लगेकामा विपीन पनि रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro