site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको दुम्कीवास नजिकको विनयी पुलमा पुलको क्षमताभन्दा बढी भार बोकेको भारतीय मालवाहक गाडी गुडाइँदा गत शुक्रबार पुलै भाँचियो । भाग्यवश, दुर्घटनामा मानवीय क्षति भएन । 

व्यक्ति, वस्तु, भौतिक संरचनामात्र होइन धर्तीको समेत भारवहन क्षमता हुन्छ । तर, स्वार्थ, लोभ तथा हेलचेक्य्राइँजन्य मूर्खताका कारण भारवहन क्षमताको प्रायः बेवास्ता गरिन्छ । भारवहन क्षमताको हेक्का नराख्दाको परिणाम भयावह पनि हुन पुग्छ । यसअघि यसरी नै गाडी वा सडकको क्षमताको बेवास्ता गर्दा मूलतः पहाडी सडकहरूमा थुप्रै भयावह दुर्घटना भइसकेका छन् । 

विनयी खेलाको पुलमा मालवाहक गाडीको सट्टा यात्रुवाहक बस भएको भए यात्रुहरू अत्यासमा भाग्दासमेत ठूलो मानवीय क्षति पनि त हुन सक्थ्यो । यसैले राजमार्गलगायत सडकहरूमा संरचनाको भारवहन क्षमताभन्दा बढीका सवारी साधन गुड्न नदिने नियम बनाइएको हो । 

दुर्भाग्य, नेपालका नियामक निकायमा भने नियमको उपेक्षा गर्ने चलन परम्परा नै बनेको छ । नियामक निकायका कर्मचारी र तिनका तालुकवालाहरूको हेलचेक्य्राइँको परिणाम भने प्रायः जनसाधारणले मात्र भोग्नुपर्छ । सम्भवतः त्यही कारणले यस्ता भयावह हेलचेक्य्राइँ दोहोरिइरहेका हुन् । 

नेपालका अधिकांश ठूला सडक कम्तीमा ५० वर्ष पुराना छन् । तिनको डिजाइन उतिबेलाको आवश्यकता र प्रक्षेपणअनुसार भएको हो । त्यसमाथि तिनको हालको अवस्था पक्कै कमजोर भइसकेको हुनुपर्छ । त्यस्ता राजमार्गहरू र तिनमा उतिबेला बनाइएका पुलहरूको भारवहन क्षमता पनि अहिलेको सापेक्षतामा निकै कम हुनु स्वाभाविकै हुन्छ । यसैले त्यस्ता सडक वा पुलमा तिनको क्षमताभन्दा बढीको भार बोकेका साधन गुडाउन नदिने नियम बनाइएको हो ।

नेपालमा भने प्रायः यस्ता नियमको बेवास्ता गरिएको देखिन्छ । नियम पालन गराउने निकायका अधिकारीहरूको हेलचेक्य्राइँका कारण निजी वा सार्वजनिक सम्पत्तिको क्षति हुँदा पनि त्यस्ता कर्मचारीलाई जिम्मेवार बनाउने गरिँदैन । सम्भवतः दुम्कीवास नजिकको विनयी खोलाको पुल भाँच्ने बढी भार बोकेको गाडी बाटैमा नरोकिनुको कारण पनि यही नै हो । 

यस्ता अरू दुर्घटना हुन नदिनमात्र होइन सडक, पुललगायत भौतिक संरचनाको आयु लम्ब्याउन पनि तिनको भारवहन क्षमतासम्बन्धी नियम कडाइका साथ पालन गराउनु आवश्यक देखिन्छ । नयाँ बनेका संरचनाको पनि त भारवहन क्षमता त हुन्छ । यसैगरी पुराना पुलहरूको निरन्तर रेखदेख तथा तिनको मर्मतसम्भार वा पुनर्निर्माणको प्रावधानको पनि कडाइका साथ कार्यान्वयन गरिनुपर्छ ।

दुम्कीवास पुल दुर्घटनाको राम्ररी छानबिन गरेर त्यसको जिम्मेवार व्यक्तिलाई सजायभागी बनाउनु सरकारको कर्तव्य हो । यसैगरी अब यस्तै दुर्घटना हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्छ । यस क्रममा लापरबाही गर्ने कर्मचारीलाई पनि कारबाही गर्नु न्यायसम्मत हुन्छ ।

पक्कै पनि अब नयाँ सडक वा पुलहरू बनाउँदा तिनको भारवहन क्षमता अहिलेको आवश्यकता सापेक्ष हुने गरी बनाइनेछ । तर, त्यस अवस्थामा पनि त संरचनाले क्षमताभन्दा बढी भार त थेग्न सक्तैन । यसैले सरकारले विनयी खोला पुलको दुर्घटनाबाट सावधान भएर यस्ता घटना फेरि हुनन दिन आवश्यक सबै उपाय गरोस् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro