site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटका चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।

जंगली हात्ती विगत वर्षमा केही दिन आएर बसेर जाने गरेका थिए । यो वर्ष भने असारदेखि नै यस क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् ।

हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ ।

Dabur Nepal
NIC Asia

हात्तीको बथानले रौतहटको चन्द्रपुर–३, गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ । हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाइएको केराखेती नष्ट गरेको गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करिब ७०० केराको बोट नष्ट गरेको उनको गुनासो छ ।

दोङले चन्द्रपुर–२, जुडिबेलामा जमिन भाडामा लिएर केराखेती गर्दै आएका छन् । केराखेतीको बिमा नहँुदा समस्या भएको उनको भनाइ छ ।

जुडिबेलामा उनीसहित हर्क घिसिङ, चमेलीमायालगायत किसानको बिघौँबिघा जमिनमा लगाइएको केराबारी हात्तीले नष्ट गरेको छ ।

यस्तै, चन्द्रपुर–३, गैँडाटारमा पनि हात्तीले केराबारीमा विध्वंस मच्चाएको छ । उक्त गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको ४०० बोट, दीपक गौतमको ८५, सम्पूर्ण चौहानको २५० र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए । उनका अनुसार, खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति पुर्‍याएको छ ।

हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार घर भत्काएको छ । हात्तीले चन्द्रपुर–३, गैँडाटारमा सात र वडा नम्बर–२, जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।

गैँडाटारमा सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुवास थोकर र साइँला गोलेको घर हात्तीले भत्काएको स्थानीय राजु धामीले जानकारी दिए ।

यस्तै, कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्मित उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पुर्‍याएको छ । फतुवा विजयपुर नगरपालिका–११, भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ । स्थानीय विजय चौधरीका अनुसार, उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पुर्‍याएको हो ।

हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले इनालाइजर (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताए । हात्तीले उपद्रो मच्चाउन थालेपछि रोकथामका निम्ति उक्त उपकरण प्रयोग गर्नुपर्ने उनले उल्लेख गरे ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परार्मश गरेर उक्त इनालाइजर प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए । इनालाइजर खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका निम्ति आफूले पत्राचार गरेको प्रमुख साहले जानकारी दिए ।

हात्तीले क्षति पुर्‍याएका व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro