site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका परिमार्जन, अब विद्यार्थी नै स्वास्थ्यदूत

काठमाडौं । अब सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थी नै स्वास्थ्यदूत (हेल्थ एम्बेसडर) बन्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम निर्देशिका २०८१ मा यस्तो व्यवस्था गरिएको हो । विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रोत्साहन गर्न नयाँ निर्देशिकामा स्वास्थ्य दूत र स्वास्थ्य प्रवर्द्धनात्मक मापदण्ड थप गरिएको मन्त्रालयले जनाएको छ । 

कस्ता विद्यार्थी बन्छन् स्वास्थ्यदूत ? के गर्नुपर्छ ?
  
निर्देशिकाअनुसार विद्यालयले कक्षा ७ वा ८ मा अध्ययनरत एक छात्र र एक छात्रा हेल्थ एम्बेसडर तोक्नुपर्नेछ । विद्यार्थी संख्या पाँच सयसम्म भए दुईजना र सोभन्दा बढी भए विद्यार्थी अनुपातका आधारमा थप्न सकिने निर्देशिकामा उल्लेख छ ।

हेल्थ एम्बेसडरले रोलमोडलका रूपमा आफूलाई स्थापित गर्नुपर्नेछ । उसलाई सोहीअनुरूपको भूमिका दिइनेछ । विद्यार्थीको प्रत्यक्ष सहभागितामा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवालाई थप प्रभावकारी बनाउन हेल्थ एम्बेसडरको अवधारणा राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिराकुमारी निरौला बताउँछिन् । 

उनीहरू विद्यालय स्वास्थ्य एकाइमा समेत सदस्य रहनेछन् । हेल्थ एम्बेसडरलाई विद्यालय नर्सको सहकार्य र समन्वयमा बृहत् यौनिकता शिक्षा, पोषण, खोप, किशोर– किशोरीको प्रजनन स्वास्थ्य तथा स्वास्थ्यसम्बन्धी सामग्रीबारे सूचना प्रवाह गर्ने जिम्मेवारी दिइनेछ । 

उनीहरूले विद्यालयको प्रार्थना समय (एसेम्ब्ली)मा आवश्यकताअनुसार एक मिनेट स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने, विपद् प्रकोपसम्बन्धी नाटक प्रदर्शनी, हाजिरी–जवाफलगायत सचेतना कार्यक्रम सञ्चालनमा सहयोग गर्र्नुपर्नेछ । 

त्यसैगरी, विद्यालय पोषण कार्यक्रममा प्रत्यक्ष सहभागी भई कार्यक्रमको योजना बनाउने, हेल्थ क्याम्पमा सहयोग गर्नेजस्ता जिम्मेवारी पनि दिइनेछ । विद्यालयले उनीहरूलाई विभिन्न तालिम तथा कार्यक्रममा सहभागी गराई अभिमुखीकरणमा सहयोग गर्नुपर्नेछ । 
 
मापदण्ड भेट्ने विद्यालयलाई प्रमाणीकरण गरिने

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम निर्देशिका २०८१ मा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ । विश्व स्वास्थ्य संगठनको अवधारणाअनुसार आठवटा मापदण्ड तोकी त्यसभित्र फरक–फरक सूचक समावेश गरिएको छ । 

जसमा राष्ट्रिय नीति तथा स्रोत सुनिश्चितता, विद्यालय नीति, सुशासन र नेतृत्व, साझेदारी र समन्वय, पाठ्यक्रम, सामाजिक भावनात्मक वातावरण, भौतिक वातावरण र विद्यालय स्वास्थ्य सेवालाई आधार बनाइएको छ । 

विद्यालय सुरक्षित, स्वस्थ र सिकाइमैत्री हुनुपर्ने, भौतिक तथा भावनात्मक आधारमा विद्यार्थीमैत्री हुनुपर्ने, पिउने पानी, सरसफाइ, अपांगमैत्री भौतिक पूर्वाधार, योग ध्यान खेलकुदका सामग्री र मैदान, विपद् महामारी आदिबारे दूरशिक्षा, बालबालिकामैत्री स्वास्थ्य सेवालगायत सूचक समेटिएको छ । 

निर्देशिकाअनुसार विद्यालयले हरेक मापदण्डमा ६० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ । ६० प्रतिशत अंक पाउने विद्यालयलाई स्वास्थ्य प्रवद्र्धनात्मक विद्यालयको प्रमाणपत्र दिइने महाशाखा प्रमुख निरौलाले बताइन् । 

निर्देशिकामा उल्लेखित मापदण्डले विद्यालय स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको विश्वास छ । हाल देशभरका एक हजार ३८६ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएको छ ।

मन्त्रालयले संस्थागत विद्यालयलाई समेत कार्यक्रम लागु गर्न निर्देश गरेको भए पनि हालसम्म निजी विद्यालय भने उल्लेख्य रूपमा सहभागी भएका छैनन् । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro