काठमाडौं । पोखराबाट काठमाडौंको गाडी चढ्दा वसन्त (सापकोटा)को सपना थियो, रंगीन दुनियाँमा फक्रक्क फक्रने । लोकमा गायकको अग्लो कद बनाउने । त्यसमा घिउ थप्ने काम गरेका थिए, विद्यालय र स्थानीयस्तरमा हुने गायन प्रतियोगिताले, जहाँ उनले आफूभन्दा अगाडि लाग्न अरूलाई दिएनन् । हमेसा उनी प्रथम भइरहे । हातमा प्रथम पुरस्कारको सानातिनो शिल्ड, कपीकलम र खाममा पैसा बोकेरै फर्किए ।
बुवा (कलाधर) आफूजस्तै शिक्षक बन्नुपर्छ भन्थे । वसन्तको दिलचस्पी गायनमा गएर अड्किएको थियो । बुवाले शिक्षा संकायमा भर्ना गरिदिए । उनलाई रहर थियो, हार्मोनियममा औँला राखेर सा रे ग म प... भन्दै रियाज गर्ने । काँचो स्वरलाई सुरसँगै बगाउने । कलाधरले रोक्न सकेनन्, अझ भनौँ– चाहेनन् । वसन्त काठमाडौं आएर ललितकला क्याम्पसमा पढ्न थाले ।
संगीतका सुरहरूसँग खेल्न थाले । जति धेरै सुरसँग खेल्यो, त्यति बढी स्वरको आरोहअवरोह लचिलो हुन्छ । उनको पनि त्यही भयो । स्वर थप माझियो । गीतहरू रेकर्ड गराउन थाले ।
त्यही समय वसनलाई पोखराबाट हाउस वाइरिङको अफर आयो । उनी हाउस वाइरिङको काम गर्न जान्ने, त्यसैले यो पनि अवसर हो भन्ने सोच आयो । त्यतैतर्फ लागे ।
पात्रो २०६१ को पल्टिरहेको थियो । उनलाई माधव पराजुलीले एक दिन अफर गरे– तिमी संगीत पढेको मान्छे, एउटा चलचित्र बन्दै छ, संगीत गर्नुपर्यो । चलचित्र थियो, दोषी ।
दुई गीत वसन्त आफैँले गाए । तीनवटा अरूलाई गाउन दिए । यो काम उनले एक हप्तामा गरेका थिए । व्यक्तिअनुसार सिर्जना गर्ने तौरतरिका हुन्छ होला, वसन्तको आफ्नै स्टाइल छ । उनलाई सिर्जना गर्न लामो समय कुर्नु पर्दैन । शान्त ठाउँ र तलाउको किनार पुग्नु पर्दैन । मात्र गम्ने समय भए पुग्छ । त्यसैले त पाँच गीत निर्मातालाई सात दिनमा उपलब्ध गराए ।
त्यो समय कर्णदास गायनको पिकमा थिए । वसन्तको संगीत सुनेर उनले भने, ‘एउटा गीत म पनि गाउँछु ।’ नेपाली सुगम संगीतको शिखरमा रहेका व्यक्तिले वसन्तको सिर्जना मन पराउनु उनी संगीतको परीक्षामा पास हुनु पनि थियो । त्यसले उनको आत्मविश्वासको पारो उचालियो । हौसला थपियो ।
त्यसपछि उनको बसाइ काठमाडौंमा स्थायी भयो । ०६३ मा ‘वसन्त’ एल्बम नै निकाले । ‘माया अन्त्यै सार’ हिट भयो । यसले आत्मविश्वास थप बुस्ट भयो ।
समयको पात्रो ०६५ को थियो । ‘माया अन्त्यै सार’ सेमी हिट भइसकेको थियो । त्यसबाट थोरबहुत वसन्त परिचित भइसकेका थिए । सांगीतिक सर्कलमा त चिनजान हुने नै भयो ।
चलचित्र ‘सिलसिला’ बन्ने भयो । संगीतको अफर आयो । ‘सागरसरी’ गीतमा संगीत भरे । राजेशपायल राई र अञ्जु पन्तले स्वर भरे ।
यो गीत यति हिट भयो, आमसंगीतप्रेमीको जिब्रोमा झुन्डियो । धेरैले वसन्तको संगीत भनेर उनलाई चिने । यो गीतमार्फत उनको सांगीतिक शिल्पले फणा फिजायो । वसन्तको सांगीतिक करिअरकै टर्निङ पोइन्ट बन्यो । अब के गरौँ, कसो गरौँ सोच्नु परेन । वाइरिङको काम गर्न फेरि पोखरा फर्कनु परेन ।
“सायद यो गीत यसरी हिट नभइदिएको भए म मेरो जिन्दगीको कोसेढुंगा ‘माया अन्त्यै सार’लाई नै लिन्थेँ होला, तर ‘सागरसरी’ हिट भएपछि मेरो सांगीतिक करिअरको टर्निङ पोइन्ट यसैलाई मानेँ,” उनी नोस्टाल्जिक हुन्छन् ।
आफ्नै स्वरमा सुर खेलाउन आएका उनी गाउन त गाउँदै थिए, तर गाउनेभन्दा संगीत गर्ने क्रम बाक्लियो । उनले गाएका गीतको संख्याभन्दा संगीत भरेर अरूलाई दिएकाको पल्ला भारी हुन थाल्यो । बजारमा चल्तीमा रहेका गायकगायिकाका गीत उनका पनि हुन थाले । रियाज गर्ने क्रम पातलियो ।
संगीतकारमा आफैँ गाउन पाए हुन्थ्यो भन्ने लोभ कति हुन्छ ? यो त व्यक्तिको स्वभावानुसार फरक–फरक होला । वसन्त संगीत भरेर दिमाग फैलाउँछन्– यो आरोहअवरोहमा कसको स्वर फिट हुन्छ ? सोच्छन् । जसमा उनले सबैभन्दा धेरै सम्भावना देख्छन्, उसैलाई अफर गर्छन् ।
कसको स्वर उपयुक्त हुन्छ, त्यसमा संगीतकारले सम्झौता गर्न नहुनेमा उनी जोड दिन्छन् । त्यसैले त पुरानादेखि नयाँ कलाकारसम्मका गायकगायिकाले वसन्तको संगीतमा गाएका सिर्जना लोकप्रिय छन् ।
वसन्तका करिब सय गीत हिट छन् । ‘माया अन्त्यै सार’देखि सुरु भएको हिट नम्बर दिनेक्रम आजपर्यन्त जारी छ । यसमध्ये ५० सुपरहिट र बाँकी ५० सेमी हिट रहेको उनको भनाइ छ ।
‘सागरसरी’, ‘ढल्कियो ढल्कियो’, ‘सिम्पल सिम्पल कान्छीको’, ‘यो आँखामा तिमी छौ’, ‘कम्मरमाथि पटुकी’, ‘गाला रातैै’, ‘स्लोली स्लोली’, ‘फिगर कोकोकोला’, ‘सिरैमा सिरबन्दी’लगायत उनका ५० गीत सुपरहिट छन् ।
सिर्जना कसरी हिट हुन्छन् ? यसमा वसन्तको आफ्नै धारणा छ । जस्तै ? सन्तानले जसरी आफ्नो करिअर आफैँ खोज्छन्, त्यसैगरी सिर्जनालाई मूर्तरूप दिएपछि त्यसले आफैँ बजार खोज्ने उनको भनाइ छ ।
कुनै व्यक्ति जति दक्ष छ, त्यहीअनुसारको काम पाउने भन्दै वसन्त गीतको सन्दर्भमा पनि यस्तै लागु हुने सुनाउँछन् । गीत जति धेरै बलियो छ, त्यति नै उसले आफैँ माइलेज बढाउँदै जाने वसन्तको अनुभव छ ।
कुनै उदाहरण ?
वसन्त ‘सागरसरी’तिरै फर्किए । सिनेमाका १९ निर्माता र निर्देशकले यो नपत्याएको गीत थियो । वसन्तले यो गीत तयार पारेर १९ निर्माता र निर्देशकको ढोका ढकढक्याए । “२० औँजनाको पालोमा परेका निर्माताले यो गीत मन पराउनुभयो,” वसन्त सुनाउँछन्, “१९ जनापछि २० जनामा पुग्दा ‘सिलसिला’ले यो गीत राख्यो । सीआरबीटीमा सबैभन्दा धेरै डाउनलोड हुने चलचित्रको गीतमा यो गीत पर्छ ।”
अनौठो के थियो भने डान्सिङ नम्बर चलिरहेका बेला वसन्तले फरक मेलोडीमा तयार पारेको गीतले पूरै बजार लिएको थियो ।
वसन्त अलिकति अगाडि फर्किन्छन् र संगीतकारले गीत गाउन रहर गर्नुको बढ्दो कारणबारे प्रस्ट पार्छन् । यसको जरोमा पुग्दा जोडिएर रोयल्टी आउँछ । पफर्मरले रोयल्टी एकलौटी लिने गरेकाले ठिकठाक स्वर छ भने म आफैँ किन नगाऊँ भन्ने तहमा संगीतकार पुगेको उनले अनुभव गरेका छन् ।
“प्रायः अधिकांश संगीतकारले आफ्नै लगानी गरेर अरूलाई गीत गाउन लगाइरहेका हुन्छन् । गीत हिट भए पनि उसले रोयल्टी पाउँदैन । जबकि, गायकले सुरुमै पारिश्रमिक लिएर गाएको हुन्छ,” वसन्त भन्छन्, “संगीतकारले आफैँ लगानी गरेर बनाएको ट्रयाक बोकेर स्टेजमा गाउन हिँड्ने पफर्मरले रोयल्टी नदिने भएपछि आफैँ गाऊँ, हिट भयो भने स्टेज त पाइन्छ भन्ने हुन थालेको छ ।”
त्यसैले त वसन्त पनि आजकाल दैनिक रियाज गर्न थालेका छन् । गीत गाउनेक्रम बढाएका छन् । बिहान उठेर कम्तीमा एक घण्टा हार्मोनियमका सुरहरूसँग स्वर खेलाएपछि मात्र बाँकी कामतिर लाग्ने गरेका छन् ।
समय फेरियो, रोयल्टी आउने प्लेटफर्म फेरिए । रोयल्टी प्राप्त हुने प्लेटफर्मको संख्या पनि बढ्यो । देशदेखि विदेशबाट रोयल्टी आउने भयो । कानुन पनि छ, तर कार्यान्वयन भएको छैन – जसका कारण संकलन हुनुपर्नेजति रोयल्टी उठाउन सकिएको छैन । रोयल्टी वितरण कसरी भइरहेको छ ? सबै सन्तुष्ट छैनन् । कारण के हो ? विस्तृतमा जान्न भिडियो कुराकानी हेर्नोस्–