काठमाडौं । देशका ठूला सहरका सटरहरू केही वर्षयता बन्द हुने क्रम बढेको र आर्थिक गतिविधि ओरालो लागेको समाचार दैनिक पढ्न, सुन्न र हेर्न पाइन्छ । देशको अर्थतन्त्र कमजोर बनेको टिकाटिप्पणी चलिरहेको छ ।
कमाई नभई बैंकको ऋण तिर्न नसक्दा केही व्यापारी तथा व्यवसायीले आत्महत्याको बाटो रोजेको उनीहरूकै ‘सुसाइड नोट’ बाट बुझिन्छ ।
बैंकबाट ऋण लिनेहरू नहुँदा निक्षेपको व्याजदर ओरालो लागेको धेरै भइसक्यो । मानिसहरूसँग पैसा नहुँदा घरजग्गा कारोबारमा निरासा छाएको पनि धेरै भइसक्यो ।
सरकारी अधिकारीहरूले सार्वजनिक रूपमा आर्थिक अवस्था सुध्रिन अझै समय लाग्ने बताइरहेका छन् । आर्थिक मन्दीले यसरी ढाड सेकिरहेको बेला ‘भिजिट भिसा’मा विदेश जाने नेपालीको संख्या भने ह्वात्तै बढेको छ । कुनै पनि देश घुम्न भिजिट भिसा प्रयोग गरिन्छ ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले बाह्रखरीलाई उपलब्ध गरेको विवरणअनुसार सन् २०२४ मा विदेश घुम्न जाने अर्थात् भिजिट भिसामा विदेश जाने नेपालीको संख्या ३४.१८ प्रतिशतले वृद्धि भएको छ ।
विभागको तथ्याङ्क अनुसार, सन् २०२४ मा २ लाख ७४ हजार ४२८ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् । अघिल्लो वर्ष सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए ।
सन् २०२३ को तुलनामा २०२४ मा ६९ हजार ९१० जना बढी नेपाली भिजिट भिसामा विदेश गएको देखिन्छ । “भिजिट भिसामा विदेश जानेको संख्या बढी नै देखिन्छ,” अध्यागमन विभागका महानिर्देशक गोबिन्दप्रसाद रिजालले बाह्रखरीसँग भने ।
सन् २०२४ मा भिजिट भिसामा सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (यूएई) गएको देखिन्छ । उक्त वर्ष ९९ हजार ८८६ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए । यूएईपछि भिजिट भिसामा क्रमशः भारत, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, मलेसिया, सिंगापुर, ओमान, अमेरिका, जापान, बेलायत, कतार र साउदी अरेबिया गएको देखिन्छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२४ मा ६४ हजार ६७८ जना भारत, ३२ हजार ५६४ जना थाइल्याण्ड, १२ हजार ३५५ जना चीन, ९ हजार ६३६ जना अष्ट्रेलिया, ५ हजार ४२४ जना मलेसिया, ५ हजार ३२५ जना सिंगापुर, ५ हजार २७० जना ओमान, ५ हजार २४४ जना अमेरिका, ४ हजार ८६१ जना जापान, २ हजार ५७९ जना बेलायत, १ हजार ५९१ जना कतार र १ हजार ४५३ जना नेपाली भिजिट भिसामा साउदी अरेबिया गएका छन् । बाँकी २३ हजार ५६२ जना नेपाली भिजिट भिसामा अन्य देश गएका थिए ।
सन् २०२३ को तुलनामा २०२४ मा भिजिट भिसामा यूएई जाने नेपालीको संख्या झण्डै दुई गुणाले वृद्धि भएको छ । सन् २०२३ मा ५५ हजार ६१८ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ४४ हजार २६८ जना बढी नेपाली भिजिट भिसामा यूएई गएको विभागको तथ्याङ्कले देखाउँछ ।
भिजिट भिसामा थाइल्याण्ड जानेको संख्या पनि अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा वृद्धि भएको छ । सन् २०२३ मा २१ हजार २६० जना नेपाली भिजिट भिसामा थाइल्याण्ड गएका थिए । सन् २०२४ मा यो संख्या ३२ हजार ५६४ पुगेको छ ।
यस्तै, भिजिट भिसामा चीन जाने नेपालीको संख्या दुई गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२३ मा ६ हजार ९३ जना नेपाली भिजिट भिसामा चीन पुगेका थिए । सन् २०२४ मा यो संख्या १२ हजार ३५५ पुगेको छ ।
भिजिट भिसामा अष्ट्रेलिया जाने नेपालीको संख्या पनि ह्वात्तै बढेको छ । सन् २०२३ मा ५ हजार ८०१ जना भिजिट भिसामा अष्ट्रेलिया गएका थिए । सन् २०२४ मा ९ हजार ६३६ जना नेपाली भिजिट भिसामा अष्ट्रेलिया गएको विभागको तथ्याङ्कले देखाउँछ ।
भिजिट भिसाको दुरूपयोग
भिजिट भिसामा विदेश जानेहरू घुम्ने उद्देश्यले मात्र गएका भने होइनन् । मानव तस्करहरूले ठूलो संख्यामा नेपालीलाई भिजिट भिसामा यूएई, थाइल्याण्ड र सिंगापुर पु¥याई दक्षिणपूर्र्वी एसियाली राष्ट्र, युरोप र अमेरिका लैजाने गरेका छन् ।
केही दिनअघि मात्र मानव तस्करहरूले भिजिट भिसामा नेपालीलाई थाइल्याण्ड हुँदै म्यानमार, कम्बोडिया र लाओस पु¥याई बन्धक बनाएर काममा लगाएको पाएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको थियो । परराष्ट्रले श्रम स्वीकृति नलिई ती देशमा नजान भनेको थियो ।
थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासले पछिल्ला वर्षहरूमा पटक–पटक विज्ञप्ति जारी गर्दै मानव तस्करको प्रलोभनमा परी ती देश पुगेका ठूलो संख्यामा नेपाली अलपत्र परेको बताएका थिए । ती दूतावासले केही दिनअघि मात्र विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति नलिई नआउन अनुरोध गरेका थिए ।
मानव तस्करहरूले नेपालीलाई भिजिट भिसामा यूएईको दुबई पु¥याई त्यहाँबाट मस्को लग्दै रुसी सेनामा भर्ती गराएको समेत पाइएको छ । यसको भेउ पाएपछि गतवर्ष नेपाल सरकारले भिजिट भिसा र रुस जानेहरूमाथि कडाई गरेको थियो ।
मानव तस्करहरूले भिजिट भिसामा नेपालीलाई खाडी राष्ट्र (यूएई, साउदी अरब, ओमान, कुवेत) लग्ने, अनि त्यहाँबाट युरोप र अमेरिका पु¥याउने गरेका छन् । अमेरिका जानेहरूलाई ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल हुँदै सडक, रेल, जंगलको बाटोबाट त्यहाँ पु¥याउने गरिएको छ ।
“अध्यागमनले भिजिट भिसा देखाउँदैमा जान दिँदैन । उनीहरूको भएको कागजात हामी जाँच गर्छौं । ६ बुँदे मापदण्डभित्र पर्छन् वा पर्दैनन् त्यो हेर्छौैं । मापदण्ड पुरा भएकाहरूलाई मात्र जान दिन्छौं,” अध्यागमन विभागका महानिर्देशक रिजालले भने ।
भिजिट भिसामा विदेश जाने बढ्दै
अनेक कारणले गर्दा पछिल्ला वर्षहरूमा भिजिट भिसामा विदेश जानेको संख्या बढ्दो छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या मात्र ७ हजार ७४९ थियो । सन् २०२१ मा आउँदा भिजिट भिसामा यूएई जानेको संख्या ७२ हजार ९४ पुगेको थियो ।
सन् २०२२ मा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना नेपालीले भिजिट भिसाको प्रयोग गरेका थिए । सन् २०२४ मा यो संख्या २ लाख ७४ हजार ४२८ पुगेको छ ।
भिजिट भिसामा कडाइ
सरकारले भिजिट भिसामा कडाई गर्न लागेको छ । भिजिट भिसामार्फत मानव तस्करी बढेको पाइएपछि सरकारले कडाई गर्न लागेको हो ।
मुख्यसचिव एकनारायण अर्यातको अध्यक्षतामा केही साताअघि बसेको सचिव बैठकले भिजिट भीसामा कडाई गर्ने निर्णय गरेको हो । “भिजिट भिसामार्फत मानव तस्करीको सम्भावना बढेको भन्ने परिप्रेक्ष्यमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरी अविलम्ब आवश्यक रणनीति बनाइ लागू गर्ने,” सचिव बैठकको निर्णयमा भनिएको छ ।
पछिल्ला वर्षहरूमा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको छ । भिजिट भीसाको दुरूपयोग भएको थाहा पाएपछि त्यसमा कडाइ गर्ने उद्देश्यले सरकारले २०८० माघ १० गतेबाट लागू गर्ने गरी यात्रा परामर्श (ट्राभल एड्भाइजरी) जारी गरेको थियो ।
एड्भाइजरीमा श्रम गन्तव्य मुलुकहरू कुवेत, ओमन, यूएई र बहराईन जस्ता देशहरूमा विचौलिया प्रभावमा महिलाहरूलाई भिजिट भिसामा लग्ने गरेको उल्लेख गरिएको थियो । महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउने गरिएको पनि जनाइएको थियो ।
काम गर्ने मनसायले विदेश जाँदा भिजिट भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न एड्भाइजरीमा अनुरोध गरेको थियो ।
“भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेश सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने,” एड्भाइजरीमा भनिएको थियो ।
गतवर्ष कडाई गर्दा पनि भिजिट भिसाको दुरूपयोग गर्नेको संख्या घटेन । मानवतस्करले भिजिट भिसामा विभिन्न देश पुर्याइ नेपालीलाई अलपत्र पार्ने कार्य जारी छ । यसैलाई रोक्न फेरि भिजिट भिसामा कडाई गर्न लागिएको छ ।