काठमाडौं । भैरहवा विमानस्थलबाट पाँच अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान सुरू गरेका थिए । तर, सरकारले विमानस्थल सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार, भिसा सेन्टर, श्रम मेडिकल लगायतका व्यवस्था नगरेपछि तिनले उडान बन्द गरे ।
नेपाल वायुसेवा निगमबाहेक अन्य कम्पनीले भिजिबिलिटीको बहाना देखाउँदै उडान बन्द गरिसकेका छन् । भिजिबिलिटीको बहाना देखाएपछि नेपाल नागरिक उड्ड्यन प्राधिकरणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली लागू गर्ने तयारीमा छ ।
आरएनपी–एआर लागू हुने बित्तिकै विमानस्थल सञ्चालनपछि कम भिजिविलिटीमा पनि अवतरण गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिरकणको भनाइ छ ।
विमानस्थलमा यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम) प्रणाली जडानको तयारी थियो । तर, भारतले अनुमति नदिएपछि भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणाली जडान प्रक्रियामा छ । सरकार र प्राधिकरण अन्य समस्या समाधान गर्नभन्दा पनि आरएनपी–एआर जडानपछि समस्या हट्नेमा छ ।
भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भइसकेको हुँदा जनवरी २३ (माघ १०) देखि कम भिजिविलिटीमा पनि उडान÷अवतरण गर्न मिल्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी बताउँछन् ।
तर, विमानस्थलमा यात्रुहरूका लागि आवश्यक पर्ने पूर्वाधार नहुँदा विमानस्थल कसरी प्रभावकारी रूपमा सञ्चालन हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘‘सरकारले त्यसका लागि प्रयास गरिरहेको छ ।’’
मंसिर पहिलो सातादेखि उडान सुरू गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए ।
“२३ जनवरीदखि लागू हुन्छ । लागू हुने बित्तिकै पनि पूर्ण सञ्चालन हुने भन्ने होइन । त्यसको जाँच गर्नुपर्छ । पाइलटलाई तालिम दिनुपर्छ,” तिवारीले भने, “यसमा उडान गर्ने विमानले पनि अनुमति लिनुपर्छ । क्यानसँग पनि अनुमति लिनुपर्ने हुन्छ । त्यसकारण यसमा समय लाग्छ ।”
आरएनपी–एआर प्रणाली जडान गर्न प्राधिकरणले ४२ दिने नोटिस यसअघि नै पब्लिस गरिसकेको उनले जनाए । भैरहवामा हाल यांत्रिक विधि (आईएफआर)मा उडान गर्दा न्यूनतम भिजिबिलिटी एक हजार आठसय मिटर चाहिने अवस्था छ । यो प्रविधि जडान भए ८ सय देखि ९ सय भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्नेछन् ।
भिजिबिलिटीको समस्या समाधान भएपछि उडान रोकेका कम्पनीहरूले पनि उडान सुरू गर्ने तिवारी बताउँछन् । फ्लाई दुबईले १३ जनवरीबाट र जजिराले जनवरी ३१ बाट पुनः उडान गर्ने जानकारी दिएको तिवारीले जनाए ।
सरकारले भिसा, मेडिकल, श्रमलगायतका झन्झट हटाउन कार्यविधि ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन बाँकी रहेका कारण उडान प्रभावकारी नभएको स्वीकार गर्छन् ।
सरकारले श्रम स्वीकृति, मेडिकल, विद्यार्थीको नो अब्जेक्सन सर्टिफिकेट लेटरलगायतका कामका लागि काठमाडौं आउनुपर्ने बाध्यताका कारण यात्रुहरू यतैबाट उड्ने हुँदा पनि भैरहवाबाट उड्ने विमानले यात्रु पाएका छैनन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सार्वजनिक गरेको अघिल्लो एक महिनाको तथ्यांकअनुसार जम्मा चार हजार ७७१ यात्रुले यात्रा गरेका थिए । नोभेम्बर ३ देखि डिसेम्बर ३ सम्मको तथ्यांकानुसार दुई हजार २३८ यात्रु विदेश जाँदा दुई हजार ५३३ यात्रु अवतरण गरेका थिए ।
नोभेम्बर–डिसेम्बर नेपाल पर्यटकीय सिजन हो । उक्त सिजनमा पाँच वटा विमानमा करिब पाँच हजारको हाराहारीमा मात्रै यात्रुले यात्रा गरेका छन् । एक महिनामा कुल १५६ उडान/अवतरण थिए ।
उक्त अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको थियो । जजिराले तीन हजार ३४, फ्लाई दुबईले १ हजार १३२, थाई एयर एसियाले ४४७, कतारले ९३ र नेपाल एयरलायन्सले जम्मा ३९ यात्रु बोकेका थिए ।
सुरूमा विन्टर सेड्युलभरी उडान गर्ने प्रतिबद्धता जनाएका विमान कम्पनीहरूले यात्रु नै नपाएपछि उडान रोकेका थिए । राष्ट्रियध्वजा बाहक नेपाल वायु सेवा निगमले भने निरन्तर उडान गरिरहेको छ । एक महिनामा जम्मा ३९ अन्तर्राष्ट्रिय यात्रु बोकेको निगमले काठमाडौं हुँदै भैरहवा टेकेर अन्तर्राष्ट्रिय गन्तव्यमा गइरहेको प्रवक्ता रमेश पौडेल बताउँछन् ।
नेपालबाट वैदेशिक रोजगारीमा दैनिक तीन हजारको हाराहारीमा विदेशिन्छन् । विदेशिने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । सरकारले तराई क्षेत्रबाट रोजगारीका लागि भैरहवाबाटै उड्ने व्यवस्था गर्न साउन २८ गते गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालनको कार्यविधि स्वीकृत गरेको थियो । साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको कार्यविधि नै पूर्ण रूपमा कार्यन्वयन नगर्दा उडान गरिरहेका विमान कम्पनीहरू समेत उडान रोके ।
सरकारले ल्याएको २७ बुँदे कार्ययोजना राम्रोसँग कार्यान्वयन नभएका कारण पनि भैरहवामा “म्यानपावरहरू ल्याउने कुरा, भिसा सेन्टर, मेडिकल लगायतका कुराहरू भएका छैनन्,” उनले भने, “म्यानपावर, मेडिकल, भिसा सेन्टरलगायतका काम भएमा केही यात्रुहरू बढ्ने थिए ।”
संस्कृति नागरिक उड्ड्यन मन्त्री बद्री पाण्डेले आफ्नो कार्यकालमा सुधारका लागि ल्याएको २८ बुँदे कार्ययोजना अन्य मन्त्रालयले चासो दिएका छैनन् ।
पाण्डेले तुरून्त लागू गर्नेदेखि चार वर्षसम्म सुधार गर्न सकिने कार्ययोजना ल्याएका थिए । तर, अन्य मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मले चासो कम दिएपछि सुधारको कार्ययोजना प्रभावकारी रूपमा लागू गर्न समस्या भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिषा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत छ ।
यसमा भ्याट छुट, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, भिसा सेन्टरलगायतका कार्यन्वयन भएको छैन् । श्रमका लागि यात्रुहरू काठमाडौं आउनुपर्ने बाध्यता छ । काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै श्रम गन्तव्य लाग्ने गरेका छन् । यसकै कारण काठामाडौंमा यात्रुको चाप र भैरहवा यात्रु अभाव रहेको तिवारी बताउँछन् ।
कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका लागि १० घण्टा बन्द छ । काठमाडौंको ट्राफिक ३० प्रतिशत भैरहवा र पोखरा लैजाने भनी कार्ययोजना बनाएपनि अन्य मन्त्रालयले सहयोग नगरेका कारण कार्ययोजना लागू गर्न समस्या भएको मन्त्री पाण्डेले बताउँदै आएका छन् ।
सरकारकै कारण राम्रोसँग सञ्चालनमा आउन लागेको भैरहवा विमानस्थल पुनः उडान बिहिन हुने जानकारहरू बताउँछन् । गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड लागेको थियो ।