site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पीएचडी नै नगरी डाक्टर, कारबाही अघि बढाउन त्रिवि उदासीन

काठमाडौं । पास नै नगरेको विद्यावारिधि उपाधि दुरुपयाेग गरी पदबहाली भएका सह-परीक्षा नियन्त्रकमाथि कारबाहीका निम्ति त्रिभुवन विश्वविद्यालय उदासीन देखिएको छ ।  उजुरी परेको एक महिना बित्न लाग्दा पनि त्रिविले छानबिन प्रक्रिया अघि बढाएको छैन ।
 
क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी उत्तीर्ण नै नगरी डाक्टर लेखेको र नियुक्तिका क्रममा सो योग्यताबराबरको फाइदा उठाएको पाइएको छ । 

गएको कात्तिक २४ गते अन्तर्वार्ताबाट सो पदमा छनोट भएका प्रसाईंले छनोट प्रक्रियामा पीएचडी उपाधि उल्लेख गरेकै कारण मुख्य उमेदवारमा नाम निकालिएको भन्दै उजुरी परेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले प्रसाईंका सम्बन्धमा मंसिर २४ गते त्रिवि उपकुलपति कार्यालयमा उजुरी दर्ता गराएको थियो । 

यसबारे छानबिनका लागि हालसम्म कुनै समिति गठन नभएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले जानकारी दिए । “भीसी अफिसमा परेको उजुरी त्यहाँबाट रजिस्ट्रार कार्यालयमा प्रक्रियाका लागि पठाइएको छ, छानबिन प्रक्रिया अघि बढाउनेबारे छलफल भए पनि अहिलेसम्म समितिचाहिँ गठन भएको छैन,” बोहराले बाह्रखरीसित भने । 

पीएचडी उत्तीर्ण नै नगरी नाममा डाक्टर, धमाधम नियुक्ति

प्रदेशअन्तर्गतका सह–परीक्षा नियन्त्रक पद कार्यविधिअनुसार खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाइएको थियो । सो प्रक्रियामा काम गरेको अवधि, कृति, प्राज्ञिक पदलगायतलाई आधार बनाइएको थियो । 

कार्यविधिमा विधावारिधि उपाधिबापत आठ अंक स्वतः जोडिने उल्लेख छ । प्रसाईंले भने आफ्नो व्यक्तिगत विवरण (सीभी)मा डाक्टर लेखेर नै पेस गरेको पाइएको थियो । सामाजिक शास्त्रमा पीएचडी दाबी गरेका प्रसाईंले हालसम्म पनि विद्यावारिधि उत्तीर्ण नगरेको त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायले पुष्टि गरेको छ । 

“उहाँले विद्यावारिधि पढ्नुभएको हो, तर पूरा गर्नुभएको छैन, हामीले उहाँलाई अहिलेसम्म पीएचडी सर्टिफिकेट प्रदान गरेका छैनौँ,” संकायका डिन द्विविनन्द ढकालले बाह्रखरीसँग भने । 

सह–परीक्षा नियन्त्रक पदमा दोस्रो कार्यकालका लागि जिम्मेवारी पाएका प्रसाईंले आफ्नो कार्यकक्षमा प्रयोग गर्ने नेम्प्लेटमा अघिल्लो कार्यकालदेखि नै डाक्टर डिल्ली प्रसाईं लेखाएका थिए । सोही नामबाट उनले मातहतका पदहरूमा नियुक्ति दिएको पनि पाइएको छ । 

कारबाहीमा त्रिवि किन उदासीन ? 

प्रसाईंको कसुरबारे राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको छ । प्रजातान्त्रिक प्राध्यापक संघले दिएको उजुरीमा नक्कली डाक्टरलाई सक्कली बनाई त्रिवि छनोट समितिले गोप्य नियुक्ति दिएको आरोप छ । 

सो पदको नियुक्ति प्रक्रिया खारेज गरी पुनः प्रक्रियामा जानुपर्ने संघको माग छ । प्रसाईंलाई पदीय दुरुपयोग र भ्रष्टाचारजन्य अपराधमा तत्काल निलम्बन र कारबाही गर्न पनि माग गरिएको छ । 

उनीसँगै ‘सर्टलिस्ट’मा परेका सबैको व्यक्तिगत विवरण सार्वजनिक गरी अंक थपको स्पष्ट कारण पेस गर्न पनि संघको माग छ । भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा १५ मा ‘नपाएको उपाधि पाएँ भन्दै निस्सा देखाएमा कसुरको मात्राअनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने’ व्यवस्था छ । 

यस्तै, झुटा विवरण पेस गरी ओहोदामा रहनेलाई कसुरको मात्राअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । 

तर त्रिवि भने हालसम्म यो घटनामा गम्भीर नभएको देखिन्छ । त्रिवि प्रवक्ता बोहरा प्रसाईंका सम्बन्धमा छानबिन तथा कारबाही प्रक्रिया रजिस्ट्रार कार्यालयबाट नै अघि बढाइने बताउँछन् । तर, कहिले र कसरी भन्ने जवाफ उनीसँग छैन । 

यता, प्रसाईंलाई भने त्रिविले दैनिक कामकाजमा कुनै रोकटोक लगाएको छैन । उजुरी परेलगत्तै उनले नेमप्लेट परिवर्तन गरी नामको अगाडि डाक्टर हटाएका छन् । “मेरो पीएचडी उपाधिबारे डिन कार्यालयलाई सबै थाहा छ, मलाई अब केही टीकाटिप्पणी गर्नु छैन, डिन कार्यालयले जे भन्छ, त्यही मान्य छ”, प्रसाईंले बाह्रखरीसँग भने । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro