site stats
बाह्रखरी :: Baahrakhari
कला
३८ करोडमा डेढ वर्षभित्र सिनेमा छायांकन स्टुडियो बन्ने दाबी 

काठमाडौं । सरकारले चलचित्र छायांकन स्टुडियो निर्माणका लागि टेन्डर आह्वानको तयारी गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा छायांकन स्टुडियो निर्माणका लागि सरकारले टेन्डर आह्वान गर्न लागेको हो ।

यो बजेटमै परेको योजना हो । अक्सर हरेक वर्षको बजेट वक्तव्यमा पर्ने तर निर्माण नहुने योजनामध्य यो पनि एक हो ।   

Argakhachi Cement Island Ad

स्टुडियो निर्माणका लागि अर्थ मन्त्रालयबाट बहुवर्षिय ठेक्काको सहमति लिई टेन्डर आह्वान गर्ने चरणमा रहेको चलचित्र विकास बोर्डले जनाएको छ । 

“हाम्रो चलचित्र उद्योगमा हालसम्म एउटा पनि सुटिङ स्टुडियो छैन । अर्थ मन्त्रालयबाट सम्भवत चाँडै सहमति आउला, त्यसपछि टेन्डरको सबै प्रक्रिया तयार भइसकेको छ । सहमति आउनबित्तिकै टेन्डर आउट गर्छौं,” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बाह्रखरीसँग भन्छन्, “टेन्डर आह्वान भएपछि त्यसको केही समयपछि नै शिलान्यास हुन्छ ।” 

स्टुडियो डेढ वर्षभित्र बनाइसक्ने आफ्नो लक्ष्य रहेको उनले बताए । “मैले नै उद्घाटन गर्नुपर्छ भन्ने मेरो चाहना होइन तर, मेरो कार्यकालभित्रै उद्घाटन होस् भन्ने मेरो चाहना हो ।” 

स्टुडियो निर्माणमा ३८ करोड बजेट लाग्ने अनुमान गरिएको उनले बताए । 

“तर, यो तीन/चार वर्षअगाडिको बजेट हो । यसमा केही परिमार्जित हुनेछ,” उनी भन्छन्, “पहिला स्टुडियो बनाउन सुरु गरिहालौँ, पछि बजेट पुगेन भने मन्त्रालयबाट रकमान्तर गर्दै जाउँला । बहुवर्षिय ठेक्कामा अर्थ मन्त्रालयले बजेट थप्दै जाला ।” 

दोलखाको डाङडुङे डाडामा फिल्म सिटी बनाउन भने आफूले पहल नगर्ने दिनेश बताउँछन् । फिल्म सिटी सानो बजेटले नबन्ने र तत्काल बनाउन पनि नसकिने भएकाले त्यो प्रयासमा आफू नलाग्ने उनले प्रष्ट पारे । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्