काठमाडौं । चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ । मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर निर्माणपक्षले छायांकन गरिरहेको छ ।
इटहरीको बीएमसी स्टुडियो, मोरङको कानेपोखरी र हसिना सिमसारमा स्टुडियो बनाएर छायांकन गरिरहेको निर्देशक सन्तोष सेनले जानकारी दिए ।
तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको उनले बताए । “तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च लागेको छ,” सन्तोषले बाह्रखरीसँग भने ।
क्लाइमेक्स सिनका लागि जंगलको बीचमा भब्य सेट लगाएर छायांकन भइरहेको छ । “हसिना सिमसार क्षेत्रमा क्लाइमेक्सका लागि करिब ४० फिट अग्लो कालीदेवीको स्ट्याचु बनाएका छौँ,” उनले भने । उनले बस्ती नै निर्माण गरेको बताए ।
‘बलिदान’को छायांकन सक्न करिब १० प्रतिशत बाँकी रहेको छ । १३/१४ दिनमा सबै छायांकन सकिने उनले जानकारी दिए ।
सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतकाे अभिनय रहनेछ ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी छन् ।
चलचित्रको बजेट करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाे थियो । “६ करोडमा चलचित्र बन्छ भनेर सुरु गरे पनि अहिले बजेट धेरै माथि पुगेको छ,” उनले भने ।