site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घाम लाग्दै जाँदा बिहान–बेलुका चिसो बढ्ने 
फाइल तस्बिर ।

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली केही कमजोर हुँदै जाँदा आजबाट मौसम खुल्न सुरु भएको छ । केही स्थानमा बिहानैबाट घाम लाग्न सुरु भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“केही ठाउँमा बिहानैबाट घाम लाग्न सुरु भइसकेको छ । केही ठाउँमा दिउँसोबाट घाम लाग्नेछ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “आजबाट मौसम खुल्दा दिउँसो न्यानो हुनेछ ।” 

अब कम्तीमा चार दिन केही पहाडी भू–भागमा बाहेक वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । “तराई तथा उपत्यकामा हुस्सु र कुहिरो र केही पहाडी भू–भागमा छिटपुटदेखि हल्का वर्षाबाहेक पानी पर्ने सम्भावना छैन,” उनी भन्छन् । 

मौसम सफा हुँदा चिसो भने बढ्दै जाने उनको भनाइ छ । रातको समयमा बादल नलागेर आकाश सफा हुँदा बिहान र बेलुका चिसो बढ्ने मौसमविद् अधिकारी बताउँछन् । 

काठमाडौंमा यो वर्ष हालसम्मको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस पुगिसकेको छ । मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । 

त्यसयता भने काठमाडौंको न्यूनतम तापक्रम उक्त बिन्दूमा पुगेको छैन । 

तापक्रम बढ्ने र घट्नेक्रम जारी रहने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । डिसेम्बर र जनवरी न्यूनतम तापक्रम घटबढ भइरहने महिना भएको उनी बताउँछिन् । 

जनवरी सबैभन्दा चिसो महिना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको उनको भनाइ छ । 

“जनवरीको पनि पहिलो र दोस्रो साता सबैभन्दा धेरै चिसो समय हो,” मौसमविद् मानन्धर भन्छिन्, “त्यसैले काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसभन्दा कम हुने सम्भावना छ । तर, हुन्छ नै भनेर निश्चित भने गर्न सकिन्न ।” 

न्यूनतम तापक्रम २ डिग्री सेल्सियसकै आसपासमा रहन पनि सक्ने उनी बताउँछिन् । यद्यपि, यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम माइनसमा भने नजाने निश्चित रहेको उनको भनाइ छ । 

न्यूनतम तापक्रमका हरेक रेकर्ड जनवरी महिनामै बनेकाले चिसो अझै बढ्ने उनी बताउँछिन् । 

फेब्रुअरी तेस्रो हप्ताबाट चिसो कम हुँदै तापक्रम बढ्नेक्रम सुरु हुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro