site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बागमती प्रदेशको बजेट पाँच महिनामा १२ प्रतिशत खर्च

बागमती । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालू आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालू आव २०८१/८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालू आवका निम्ति प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालूको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । 

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । 

आवको पहिलो चौमासिकसम्म चालू खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए । रासस

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्