काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन् । शुक्रबार नवरपरासीको गैडाकोटमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको बताए ।
३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनको भनाइ छ । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गरे ।
अहिले ठूला दल मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनमा बस्न नसकेका कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टीले स्पष्टीकरण मागे पनि त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलको भनाइ छ ।
अन्य दुई नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उनले बताए । निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभावकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन उक्त कार्य गरिएको पोखरेलको भनाइ छ ।