site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जो महिनामा चार दिन आकाशमै बिताउँछन्...

काठमाडौं । देशभरका विभिन्न ठाउँमा मेलामहोत्सव हुँदा कलाकार पनि सांगीतिक कार्यक्रममा व्यस्त छन् । मेला तथा महोत्सव आयोजकले सांगीतिक कार्यक्रम राख्दा यति बेला गायकगायिकालाई भ्याइ नभ्याइ छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मेलामहोत्सव आयोजना गरिँदा गायकगायिकाले सांगीतिक प्रस्तुतिका निम्ति अवसर पाएका हुन् । स्टेज कार्यक्रम बाक्लो संख्यामा हुँदा यो कलाकारको प्रमुख आम्दानीको स्रोतका रूपमा स्थापित भएको छ ।

यो महिना (पुस)का लागि गायिका रचना रिमालका अहिले नै सबै कार्यक्रम निश्चित भइसकेको छ । पुसका अधिकांश दिन उनी सांगीतिक कार्यक्रममा व्यस्त हुनेछिन् ।

Dabur Nepal
NIC Asia

“यो महिना हिजोसम्म चारपाँचवटा कार्यक्रम गरिसकेँ । आजबाट २० गतेसम्म लगातार देश तथा विदेशमा कार्यक्रम छन्,” रचना भन्छिन् ।

पुस १२ देखि १४ गतेसम्म झापाली समाज यूएईको ‘सांगीतिक धमाका’ याक एन्ड यती एभरेस्ट क्लब अस्टोरिया होटेल दुबईमा हुँदै छ । त्यहाँ उनले प्रस्तुति दिनेछिन् । पुस १५ गते कुपण्डोलमा हुने ललितपुर महोत्सव महोत्सवमा उनी सहभागी हुनेछिन् ।

“१५ गते नै यूएईबाट आउनेछु । त्यो दिन उतबाट आएर भ्याउँछु भनेर कार्यक्रम राखेको हुँ,” रचना भन्छिन् । 

पुस २० गतेपछिका सात दिनका निम्ति पनि उनका कार्यक्रम तय भइसकेको छ। बाँकी दुई दिनका लागि कुरा भइरहेको भन्दै रचना अगाडि थप्छिन्, “त्यो दुई दिन पनि कार्यक्रम गर्छु होला ।” 

माघ ७ गतेसम्मका लागि कार्यक्रम तय भइसकेको उनको भनाइ छ । “मंसिर, पुस, माघ र फागुन मेला तथा महोत्सवको सिजन हो,” रचना भन्छिन्, “दसैँ र तिहारमा पनि हुन्छ, मंसिर, पुस, माघ र फागुनमा जस्तो हुँदैन । फागुनबाट भने विस्तारै कम हुँदै जान्छ ।”

रचना सांगीतिक कार्यक्रममा सहभागी हुनुका साथै गीत रेकर्डिङमा पनि उत्तिकै सक्रिय छिन् । सोमबार (हिजो) आफूले चार गीत रेकर्ड गराएको उनले सुनाइन् ।

हरेक दिन छुट्टाछुट्टै जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदा लामो समय यात्रामा बित्ने गरेको उनी बताउँछिन् । नेपालमा सांगीतिक कार्यक्रम हुँदा कम्तीमा दैनिक करिब दुईदेखि तीन घण्टा हवाई यात्रामै बित्ने गरेको छ । महिनामा करिब चार दिन उनको समय प्लेन यात्रामै बित्ने गरेको छ । 

एलिना चौहानलाई पनि यति बेला भ्याइ नभ्याइ छ । पुसमा हरेक दिनजसो उनका कार्यक्रम छन् । पुसमा हालसम्म दुई दिन मात्र खाली रहेको तर त्यसमा पनि कार्यक्रमका निम्ति कुरा भइरहेको उनी बताउँछिन् ।

“माघमा पनि १० दिन कार्यक्रमका लागि निश्चित भइसकेको छ । तर, त्यति बेलासम्म प्रायः सबै दिनका लागि कार्यक्रमका लागि अफर आइसक्छ,” एलिना भन्छिन् ।

यो महिना मिति जुधेकाले नौदशवटा कार्यक्रम छोड्नुपरेको एलिनाको भनाइ छ । “एकैदिनका लागि धेरै ठाउँबाट अफर आउँछ, जसका कारण धेरै कार्यक्रम छोड्नुपर्छ,” कार्यक्रमको छोड्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, “मंसिर, पुस, माघ र फागुनमा धेरै कार्यक्रम नभ्याएर छोड्नुपर्छ ।”

एलिनाको समय पनि दैनिक दुईदेखि तीन घण्टा हवाई यात्रामै बित्छ । अरू महिनामा पनि कार्यक्रम हुने तर मिति जुधेर छोड्नुपर्ने अवस्था नहुने उनी सुनाउँछिन् ।

गर्मी महिनामा भने नेपालमा कम र विदेशमा बढी सांगीतिक कार्यक्रम हुने गरेको उनको भनाइ छ । नेपाली डायस्पोरामा सांगीतिक कार्यक्रम हुने गरेको छ ।

सांगीतिक कार्यक्रम हुँदा रेकर्डिङ पनि कम हुन्छ । यद्यपि, रेकर्डिङका लागि अफर आइरहेको उनी बताउँछिन् ।

“गीत रेकर्ड गर्नुपर्‍यो भनेर फोन आइरहेको हुन्छ । तर, काठमाडौंबाहिर नै धेरै हुने भएकाले रेकर्डिङका लागि धेरै समय छुट्ट्याउन सकिन्न,” एलिना भन्छिन्, “काठमाडौं आएको र दुईतीन घण्टा फुर्सद भएको समयमा रेकर्डिङ गर्नुपर्छ । अरू समयजस्तो महिनाको ५०/६० गीत रेकर्ड नभए पनि १०/१२ वटा रेकर्ड गरिरहेको छु ।”

पुसका नौ दिनमा अस्मिता अधिकारीले पाँच स्टेज कार्यक्रम गरिन् । मंगलबार (आज) मध्याह्न टेलिफोनमा कुरा गर्दा अस्मिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिइन् । सोमबार धरानमा भएको स्टेज कार्यक्रम सकाएर अस्मिता काठमाडौं फर्किएकी हुन् ।

“अब घर पुगेर गीत रेकर्डिङका लागि स्टुडियो जाँदै छु,” अस्मिता भन्छिन्, “रेकर्डिङ सकेर साँझ ठमेलस्थित पोटाला दरबार लाउञ्ज एन्ड बारमा सांगीतिक प्रस्तुति दिन जाँदै छु ।”

पुसका बाँकी २० दिनमा अस्मिताका १० कार्यक्रम निश्चित भइसकेको छ । “बाँकी अरू दिनका लागि पनि कुरा भइरहेको छ,” अस्मिता अगाडि थप्छिन्, “जनवरी १ मा जापान जाँदै छु । स्टेज कार्यक्रमहरू बाक्लै छन् ।”

क्रिसमस, नयाँ वर्ष, विभिन्न चाडपर्व र मेलामहोत्व हुँदा सांगीतिक कार्यक्रम पनि हुने गरेको उनी बताउँछिन् । ती कार्यक्रममा गायकगायिकाले सांगीतिक प्रस्तुति दिँदै आएका छन् ।

स्टेज कार्यक्रममा व्यस्त हुने गायकगायिकाले नै धेरै गीत रेकर्ड गराइरहेका छन् । अस्मिता समय मिलेसम्म रेकर्डिङ पनि गरिरहेकी हुन्छिन् । औसतमा दैनिक एकदुई गीत रेकर्ड हुने गरेको उनको भनाइ छ ।

पछिल्लो समय कलाकारको आम्दानीको मुख्य स्रोत नै स्टेज कार्यक्रम र रेकर्डिङ हुने गरेको छ । “स्टेज पफर्मेन्स र रेकर्डिङबाट राम्रो भइरहेको छ । कलाकारको आम्दानीको मुख्य स्रोत पनि यही भइरहेको छ,” अस्मिता भन्छिन्, “यो सम्पूर्ण प्रोसेसमा मैले इन्जोय गरिरहेको छु ।”

हाल मेलामहोत्वसको समय छ, बजारका चल्तीका गायकगायिका स्टेज कार्यक्रममा व्यस्त छन् । हरेक दिनजसो विभिन्न मेलामहोत्सवमा व्यस्त हुने समीक्षा अधिकारी यति बेला सांगीतिक कार्यक्रमकै निम्ति पोल्यान्डमा छिन् । उनी पनि सिजनका महिनामा ३० दिन नै स्टेज कार्यक्रम गर्छिन् ।

प्रमोद खरेल, शान्तिश्री परियार, प्रीति आले, पशुपति शर्मा, रामजी खाँडलगायत गायकगायिका पनि स्टेज कार्यक्रममा व्यस्त हुने कलाकार हुन् ।

शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, हेमन्त शर्मा, रामकृष्ण ढकाललगायत कलाकार समेत स्टेजमा व्यस्त हुने कलाकार हुन् ।   

कार्यक्रम र आयोजक हेरेर पारिश्रमिक निर्धारण हुने गरेको कलाकारहरू बताउँछन् । स्रोतका अनुसार, कलाकारले नेपालमा प्रतिस्टेज कार्यक्रमबापत न्यूनतम ६० हजार रुपैयाँभन्दा माथि लिने गरेका छन् ।

६० हजारदेखि डेख लाख रुपैयाँसम्म पारिश्रमिक लिँदा स्टेजमा व्यस्त हुने कलाकारको राम्रो आम्दानी हुँदै आएको छ ।

नेपालमा कार्यक्रम कम हुन थालेपछि विदेशमा स्टेज शो बढ्छ । जेठ लागेपछि नेपालमा पानी पर्न थाल्छ, त्यसपछि धेरै नेपाली भएका देशमा सांगीतिक कार्यक्रम हुने गरेको गायिका एलिना बताउँछिन् ।

“नेपालमा स्टेज कार्यक्रम कम भएपछि विदेशमा सुरु हुन्छ,” एलिना अगाडि थप्छिन्, “त्यसपछि विदेशबाट कार्यक्रमका लागि अफर आउनेक्रम बढ्छ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro