site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतलाई बंगलादेशको आग्रह : शेख हसिनालाई फिर्ता पठाऊ
फाइल तस्बिर ।

ढाका । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’मार्फत यो अनुरोध गरिएको बताए । “हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ,” तौहिद हुसेनले पत्रकारहरूलाई भने । 

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा ६ सयभन्दा बढी मानिसको मृत्यु भयो । 

७६ वर्षीया हसिना भारत भागेपछि सेनाले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो । 

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएकी थिइन् । 

युनाइटेड किङडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएकी थिइन् । 

“सन् २०२४ जुलाई ७ मा सुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा सुरु गरिएको थिएन, तर मलाई सत्ताच्यूत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भन्नुभयो...उहाँ मास्टरमाइन्ड हुनुहुन्थ्यो, उहाँले यो षड्यन्त्र सुरु गर्नुभयो किनभने सबै मागहरू पूरा भए र देशभरि विरोध प्रदर्शन भए पनि विरोधको कुनै सम्भावना थिएन...यो एक योजनाबद्ध षड्यन्त्र थियो,” हसिनाले दाबी गरेकी छिन् । 

उनले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताइन् । 

“आज बंगलादेश कठिन समयबाट गुज्रिरहेको छ । फासीवादी सरकारअन्तर्गत बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ । सम्पूर्ण बंगलादेश जलिरहेको छ... आज, बंगलादेश नष्ट भइरहेको छ,” उनले भनिन् । 

पदच्यूत प्रधानमन्त्रीले बंगलादेश सरकारद्वारा कथित राजद्रोहको आरोपमा पूर्व इस्कोन पुजारी चिन्मय कृष्ण दासको हालैको गिरफ्तारीको उल्लेख गर्दै भनिन्, “उनीहरूले चिन्मय कृष्ण दासलाई गिरफ्तार गरे र उहाँको बचाउ गर्न कुनै प्रकारको वकिल हुन नसक्ने बताए । यो कस्तो न्याय हो ? यसले प्रमाणित गर्छ कि बंगलादेशमा कानुन र व्यवस्था छैन ।”

अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यागमनको प्रभावबारे चिन्तित छन् ।रासस/एएनआई 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro