काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले संसारभर लोकतन्त्र क्षयीकरण भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले गरेको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा यादवले नेपालमा पनि लोकतान्त्रिक गणतन्त्रान्तमक संविधान र व्यवस्थाको प्रवर्धनका लागि पर्याप्त काम हुन नसकेकोतर्फ संकेत गरे ।
विश्वभरका लोकतान्त्रिक देशहरूमा समेत अनुदार नेतृत्व स्थापित हुँदै गएको उनको भनाइ छ । उनले नेपालमा संविधान र व्यवस्थाको प्रवर्धनका लागि सबैको सहकार्यको आवश्यकता बढेको बताए ।
“आज संसारमा लोकतन्त्रको क्षयीकरण भइरहेको छ । आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहँदा करिब ७८ वर्षमा लोकतन्त्रमाथि खतरा छ भन्दा असाध्यै दुःख लाग्ने गरेको छ,” यादवले भने, “पछिल्लो समय लोकतान्त्रिक व्यवस्था मान्ने देशहरूमा पनि अलोकतान्त्रिक र अनुदार नेतृत्व स्थापित हुँदै गएको छ ।”
उनले लोकतन्त्र उल्टो बाटोमा चलिरहेको पनि बताए । कर छलीसहित करिब ३६ अभियोग लागेका व्यक्तिलाई दुनियाँको लोकतान्त्रिक भनिएकै देशमा राष्ट्रपति निर्वाचित गरेको भन्दै उनले यसले विश्वभर लोकतन्त्रको चिन्ता बढाएको बताए ।