पेटीमा हिँड्दै थियो । बिहानको समय । सडक खालीखाली, पेटी खालीखाली । पसलहरू खुल्दै थिए र केही खुलिसकेका थिए ।
उसको खल्तीमा सयको नोट थियो । घरबाट उसलाई भनिएको थियो, ‘आजको लागि आधा किलो मोटो चामल र एक पाउ सस्तो दाल अनि पैसा बच्यो भने एक मुठा रायो ।’ त्यो पनि सस्तो भेटेमा । सस्तोको आग्रह थियो ।
उसले ‘हुन्छ’ मा बेसरी टाउको हल्लाएको थियो । एक सयको नोट त्यसै मास्नु थिएन । पत्नी खुस भएकी थिई । आजको लागि यत्ति रकमले घरखर्च चलाउनु थियो ।
घरमा ऊ थियो, पत्नी थिई र एउटा चारवर्षे छोरो थियो । ऊ गएतिर घरमा बस्ने पत्नी र छोरोले आशाको दृष्टिले हेरिरहे । नहेर्नु पनि भएन, बाउ र पति ऊ नै थियो । उसको विवेक र प्रतिबद्धतामाथि घरकाहरूलाई विश्वास थियो ।
उसलाई पत्नीले बिहानै खाजाका रूपमा ठोस केही दिन सकेकी थिइन । एक कप कालो चिया बनाएर दिएकी थिई । त्यसमा गुलियो थिएन । कारण, घरमा चिनी थिएन, सकिएको थियो ।
छोरो उठ्न लागेको थियो । उसका लागि रातिको अलिकति बासी भात बाँकी थियो । पत्नीले भनी, ‘तेल छ अलिकति भाँडाको पिँधमा, त्यसलाई निथारपिथार गरेर भात भुट्छु र ख्वाउँछु ।’
उसले बिनाचिनीको कालो चिया खाँदै कप उचालेर भन्यो, ‘यसले स्वास्थ्यलाई ठिक गर्छ । अहिले त धनीमानीहरू पनि यस्तै कालो र खल्लो चिया खाने गर्छन् ।’
कोठाबाहिर निस्केर ऊ सधैँ हिँड्ने सडकछेउको पेटीलाई हेर्यो । कोठा सडकभन्दा अल्लि भित्रपट्टि पर्थ्यो । पेटीमा विकासका सूचक रंगीन ब्लकहरू ओछ्याइएका थिए । पहिलेका उबडखाबड सिमेन्टका ढिक्काहरू हटाइएका थिए । पेटी एकदम अनन्तसम्म हिँडिरहूँजस्तो सफा र सम्म थियो ।
ऊ निस्केपछि एक फन्को नलगाई कोठामा फर्कंदैनथ्यो । गरिबी थियो र एक दिन कसरी गरिबीबाट मुक्त नभइएला भन्ने जोसमा ऊ हिँड्न थाल्थ्यो, मानौँ ऊ गरिबीबाट उन्मुक्त हुने रेसमा छ ।
अफसोस, तर त्यो दिन आइरहेको थिएन । ऊ भने दिनदिनै पेटीमा हिँडेर एक फन्को लगाइरहेको थियो, जहाँबाट हिँडेको हो उहीँ पुग्नलाई ।
तर, गरिबका पनि दिन फिर्छन् भनेजस्तो गरी कुनै एउटा चमत्कारले उसलाई पर्खिरहेको रहेछ । हिँड्दै गर्दा एउटा पसलअगाडि क्रस गर्न लागेकै थियो, अकस्मात् उसका आँखा एउटा हजारको नोटमा परे ।
कुनै ग्राहक पसलभित्र मालसामान माग्ने सोकेसअगाडि उभिएर सामान किनेपछि भुक्तनी गर्दा एउटा हजारको नोट फत्रक्क खसेको होला, त्यो उसले देख्यो ।
नोटहरूको बनोट अर्कै हुन्छ । तिनमा आकर्षण हुन्छ । नोटहरूको रङरोगन र कागज बेगद किसिमको हुन्छ – परैबाट आँखा तान्ने, इन्द्रियलाई सजग गराउने ।
सय–पचासका भन्दा हजार–पाँच सयका नोटमा बढी आकर्षण हुन्छ । गरिबीले नोटहरूको पहिचानप्रति निकै सचेत गराएको पनि हुँदो रहेछ ।
उसको अनुभवले त्यो भन्थ्यो र एक किसिमले ऊ नोटहरू कसरी प्राप्त गर्न सकिन्छ भन्ने एकमना चिन्तनमा मग्न रहने मान्छे थियो । अलिकति हास्यभावमा सोच्यो– कसरी कुर्सी हत्याउन सकिन्छ भन्ने शीर्ष नेताहरूझैँ ।
परिणामतः हजारको नोट उसका आँखाबाट उम्किन सकेन । त्यो नोट धेरै पुरानो पनि थिएन, धेरै नयाँ पनि थिएन । तर, त्यो त्यहाँ भुइँमा पसारिएको थियो । एक्लै ।
नोट बोलेजस्तो लाग्यो उसलाई । उसैलाई हार्दिकतासाथ निम्तो गरेजस्तो, ‘आऊ मलाई टिप र आफ्नो एक दिनको गरिबी आंशिक रूपमै भए पनि टार ।’
त्यो हजारको नोट टिप्न पाएदेखि उसले गरिबको दिन फिर्ने देख्यो, एकै दिनका लागि भए पनि ।
ऊ सरासर पसलभित्र पस्यो, केही किन्न हतार भएको ग्राहकझैँ ।
ऊ पसलभित्र पस्यो र यताउता हेर्यो । पसले उसलाई देखेपछि हाँस्यो र भन्यो, ‘भन्नोस् के सेवा गरूँ ?’ पसले शिष्ट देखियो । पसलेले के सेवा गर्नु थियो र रित्तो पसलभित्र पसेर उसले पसलेलाई कृतार्थ गरिररहेको थियो ।
ऊभन्दा अगि सामान किन्न आएको ग्राहकले खसालेको हुनुपर्र्छ, उसले देखेको त्यो हजारको नोट । उसले सोच्यो– पसलभित्र पसिहालेँ, पसलको साहुको अगाडि हजारको नोट निहुरी परेर टिप्नु भएन, केही सामान मागूँ त यो यताउता लाग्नेछ अनि टिपूँला ।
‘पख्नोस् साउजी, के किनूँ भनेर हेर्दै छु । हेर्न त पाइएला नि ?,’ उसले हाँस्दै भन्यो ।
‘हेरेको पैसा लाग्दैन ।’ साहुले पनि पुरानो भइसकेको कथनलाई नयाँ सन्दर्भ दिन फरासिलो पाराले हाँस्दै भन्यो ।
उसले पसलभित्र आँखा घुमायो । के थिएन पसलभित्र ? सबै थोक थियो । पाउरोटीका चाङ, टफी–चकलेट, सबै थरी चिसोका जम्बो बोतलदेखि लिएर र फुच्चे बोतलसम्म – कोही पहेँला, कोही राता र कोही सुन्तला रङका ।
अरूअरू सामान पनि थिए, आइक्रिम पनि थियो । आइसक्रिम स्टोर गरेर राखिने डिप फ्रिज पसलको ढोकाछेवैमा तेर्सो पारेर राखिएको थियो ।
तर, चामल थिएन, दाल थिएन । रायोको साग थिएन । आश्चर्यै मान्नुपर्ने केही थिएन ।
अनि, एक ठाउँ ग्राहकले स्पष्ट देख्ने गरी ठूलाठूला कम्प्युटराइज्ड अक्षरमा लेखेको टाँसिएको थियो, ‘एकपटक बिकेको सामान फिर्ता लिइने छैन ।’
यो सूचना उसको दिमागमा चढेन । उसले त्यस्तो गर्ने होइन, एकपटक सामान किनियो त किनियो । घरीघरी किन्ने क्षमता छैन भनेपछि किनिसकेको सामान किन फिर्ता गरिरहने ?
यो त अस्थिर र छुच्चा ग्राहकहरूले सामान साट्ने गर्दै दिक्क पार्ने गरेकाले पसलेले टाँसेको हुनुपर्छ भन्ने सोच्यो ।
अर्को कुरो यो थियो, ठाउँठाउँका पसलहरूमा लेखेर टाँसेका सूचना थिए– पसल बिक्रीमा । तलपट्टि सम्पर्कका लागि मोबाइल फोनको नम्बर दिइएको हुन्थ्यो ।
सामान बेच्न छाडेर पसलै बिक्री गर्ने भएका छन् पसलका मालिकहरू । कोभिड नाइन्टिनपछि यस्तो भएको थियो, मालसामान नबेचेर सिंगै पसल बिक्रीमा राख्नुपर्ने बाध्यता ।
पसल गरेर मात्रै भएन । घरखर्च पसलकै भरमा चलाउनुपर्ने हुन्छ । बैंकको ब्याज छ, घरखर्च छ । केटाकेटीको स्कुलको महँगो फिस छ । औषधिमुलो गर्नैपर्छ ।
तर, मन्दी छ, हटेको छैन । हट्न सकेको छैन । र, पसल पहिलेजसरी चल्नै छाडेको छ । पसल नै नबेचेर के गर्ने ? कोही गाउँ फर्कंदै छन्, कोही नोकरी गर्नतिर उद्यत छन् ।
उसलाई फाल्टु खाद्य सामान चाहिएको थिएन ।
एक छेउमा कुखुराका फुलहरूको क्यारेटका खात थिए र केही नपाएपछि उसले फुलको क्यारेटतिर औँल्याएर सोध्यो, ‘अन्डाको के भाउ छ नि साहुजी ?’
‘क्यारेटको ?,’ पसलेले पूरै क्यारेट लग्ने ग्राहक त लाग्दैन पहिरनले तर लगिहालेछ भने मेरो के खोट्टिने हो भनेरै हाँस्दै सोध्यो ।
‘क्यारेटको होइन, एउटाको के भाउ भनेको नि ! अन्डा नकिनेको धेरै भो,’ गरिबी प्रेरित अन्तिम वाक्य उसको मुखबाट अनायासै निस्क्यो ।
साथै, कुखुराको उसिनेको फुल खान ढिपी गरिरहने छोरोको आवाज उसका कानमा पर्यो । टार्दै आएको थियो । हजारको नोट तल छँदै छ, टिपेपछि लैजाऊँ न त पूरै सयको अन्डा !
छोरोलाई दुइटा र बुढी र बुढाले एकेकओटा खाउँला भन्ने सोच्यो र भनिहाल्यो, ‘सय रुपियाँको कतिओटा नि साउजी ।’
‘हुन त सय रुपियाँको ठ्याक्कै यतिओटा भन्न सकिन्न भाउका कारण, अन्डाको भाउ बढेको छ । फोरेर दिन पनि भएन । तर, म तपाईंलाई सयको पाँचओटा दिन्छु, भन्नुस् राखिदिऊँ ?’
साहुले बडो दया देखाइरहेछ, पैसा पनि दिनु छ । गरिबको स्वाभिमानमा ठेस लागेको हो ?
‘हुन्छ, राखिदिनोस् न त, पाँचओटै सही,’ मोलमोलाइ गरेको भए छओटा पो दिने थियो कि भन्ने उसको मनमा शंका जाग्यो ।
साहुले फुल नफुटून् भनेर प्लास्टिकका दुई साना झोला एउटाभित्र अर्को छिराएर पाँचओटा कुखुराको फुल झिक्न क्यारटे भए ठाउँतिर गयो । एकेक गर्दै फुल झिकेर सावधानीपूर्वक झोलामा राख्दै गयो ।
‘मौका यही हो ! उसले निहुरिएर हजारको नोट टप्प टिपेर हातमा लियो, मानौँ भर्खरै खल्तीबाट झिकेको छ । अनि, अर्को हातले कमेजको खल्तीबाट सय झिकेर पसलको काउन्टरमाथि राख्यो ।
एउटा हातले फुल राखेको झोला लिँदै उसले भन्यो, ‘हस् त साउजी, पैसा काउन्टरमाथि छ है त ।’
साहुले काउन्टरमाथि राखिदिएको सयको नोट टिपेर कन्तुरमा राख्यो र भन्यो, ‘पख्नोस्, त्यो अगि तपाईंले भुइँबाट टिपेको हजारको नोट यता पाऊँ त !’
उसले आश्चर्य मान्यो र केही थाहा नपाएझैँ गर्दै भन्यो, ‘कुन हजारको नोट साउजी ? मैले त देखिनँ । टिप्दा पनि टिपिनँ ।’
‘हेर्नोस्, त्यो मैले नै ग्राहक तान्न खसालेको नोट हो । ग्राहक तान्ने उपाय ! तपाईं पनि त्यो हजारको नोटले तानेर भित्र छिर्नुभएको हो । अन्डा किन्नुभो, चाहिए पनि नचाहिए पनि । घर जानुस्, बोनसमा पाएका अन्डा उसिन्नुस् र खानुस् । आफू पनि खानुस् र परिवारलाई पनि खुवाउनुस् । मलाई मेरो ग्राहक तान्ने हजारको नोट फिर्ता गर्नुस्, नत्र प्रहरीमा जानुपर्ला,’ साहुले स्वर कडा गर्दै भन्यो ।
साहुले ब्लफ दिँदै तर्सायो, ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ । हजारको नोट तपाईंले टिपेको स्पष्ट देखिइहाल्छ । प्रहरीले तपाईंलाई खोरमा थुन्न सक्छ । खोइ ल्याउनुस् !’
हातमा लिइराखेको पाँचओटा फुलको झोला थियो । उसले भनेको थियो साहुलाई, ‘अलि ठूलाठूला छानेर राख्नोस् है !’
ती अन्डा साहुले फिर्ता लिने कुरै भएन । सूचनै थियो– एकपटक बिकेको सामान फिर्ता गरिने छैन । बाध्य थियो, खल्तीबाट हजारको नोट झिकेर साहुको काउन्टरमाथि राखिदियो ।
साहुले भन्यो, ‘के गर्नु, व्यापार मन्द छ – एउटा न एउटा उपाय नगरी बोहनी हुन पनि मान्दैन ।’