site stats
बाह्रखरी :: Baahrakhari
देश
बजारनजिकै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित
फाइल तस्बिर ।

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर बजारनजिकै आज दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजार क्षेत्र नजिकैको श्रीकृष्ण सामुदायिक वनको पूर्व पश्चिमराजमार्ग छेउमा रहेको घाटगद्दीमा चितुवा देखापरेको हो ।

स्थानीय बासिन्दाले चितुवा देखेपछि होहल्ला गरेर वन क्षेत्रभित्रै भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले बताए । अमरपुर र कलुवापुर बजारको बस्तीसँगै जोडिएको क्षेत्रमा दिउँसै चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित बनेकाे उनले बताए ।

Argakhachi Cement Island Ad

ऐरका अनुसार एक साताअघि पूर्व पश्चिम राजमार्गको वनहरा पुल छेउमा साँझपख पाटेबाघ देखापरेको थियो । “सामुदायिक वन संरक्षणको प्रयास स्वरुप घना झाडी भएसँगै जंगली जनावरको सङ्ख्या बढ्दो छ”, ऐरले भने, “नीलगाई, चितल, बँदेललगायत जनावर देखिने क्रमसँगै चितुवा र बाघ देखिन थालेपछि स्थानीय उपभोक्ताले वन क्षेत्रमा जान छाडेका छन् ।”

सामुदायिक वनको सभाहलमा बिहान योगाभ्यासको कार्यक्रम केही दिनदेखि सञ्चालन हुँदै आएकामा चितुवा देखिएपछि सुरक्षाका कारणले कार्यक्रम बन्द गर्नु परेको स्थानीय बासिन्दाको भनाइ छ । दिउँसै हिंस्रक जनावर देखिन थालेपछि साँझका बेला हिँड्डुल गर्न डराउनुपर्ने अवस्था आएको स्थानीय टेकबहादुर भण्डारीले बताए । रासस

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २३:२९
प्रतिक्रिया दिनुहोस्