
काठमाडौं । सेती नदीमा निर्माणाधीन १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य ६३ प्रतिशत सकिएको छ । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत पुगेको हो । आयोजना निर्माण कार्य ०८३ असारभित्र (सन् २०२६ मे) सकाउने लक्ष्य छ ।
एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार (हिजो) आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरू, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो ।
कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत रूपमा छलफल गरी टोलीले निर्माण प्रगति, व्यहोरिरहेका समस्या, निर्माण तालिकालगायत विषयमा जानकारी लिएको थियो ।
टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायत विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँग समेत छलफल गरेको थियो । जग्गासम्बन्धी समस्या समाधानका निम्ति आवश्यक सहयोग र सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो ।
सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने कार्यकारी निर्देशक घिसिङले बताए । आयोजना तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने प्राधिकरणले जनाएको छ ।
प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ । मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ ।
आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलेर) गरी कंक्रिट लाइननिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । यसका निम्ति पेनस्टक पाइप जडान अन्तिम चरणमा छ ।
विद्युत्गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्वीजयार्ड निर्माण, विद्युत्गृहमा रहने उपकरणहरू जडानलगायत कार्य भइरहेको छ । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३ को समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका निम्ति एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।