site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लीलाबल्लभ अधिकारीबारे दरपिठविरुद्धको निवेदन न्यायाधीश चुडालको इजलासमा 
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीका विषयमा दरपिठविरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । यही मंसिर १० मा सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेर अधिकारी थुनामुक्त भएका थिए । उक्त निर्णय बदरको माग राख्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । 

सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले मुद्दा चलाउने वा नचलाउने अधिकार महान्यायाधिवक्ताले जिल्ला सरकारी वकिललाई प्रत्यायोजन गरेको भन्दै त्यसविरुद्ध रिट अघि नबढ्नेगरी दरपिठ गरिदिएका थिए । उक्त दरपिठविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले निवेदन दर्ता गराएका थिए । 

Argakhachi Cement Island Ad

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पैसा तिरेर जापान जानेहरूलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेकामा उनीहरूलाई लिएर गएको आरोप लागेका मन्त्रीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न वरिष्ठ अधिवक्ता त्रिपाठीको माग छ । 

उनको रिट अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरिदिएका थिए । दरपिठविरुद्ध त्रिपाठीले लगेको निवेदन सर्वोच्चमा बिहीबार दर्ता भएको हो । उनको निवेदनमा आज सुनुवाइ हुन लागेको हो । सुनुवाइपछि इजलासले दरपिठ सदर गरे रिटको प्रक्रिया समाप्त हुन्छ ।

दरपिठ खारेज भएमा सर्वोच्चले सरकारी वकिलको निर्णयमा सुनुवाइ गरी न्यायिक परीक्षण गर्नेछ । सुनुवाइको प्रक्रियामा गएर न्यायालयले मुद्दा फिर्ताको निर्णय बदर गरे अधिकारीलाई पुनः पक्राउ गरी अनुसन्धान अघि बढ्नेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर १० गते रिहा भएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्