site stats
बाह्रखरी :: Baahrakhari
देश
हिउँदको पहिलो वर्षा : मंगलबारदेखि हुनेछ ‘क्लियर’
फाइल तस्बिर ।

काठमाडौं । आउँदो आइतबार (भोलि) राति र सोमबार (पर्सि) देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त अवधिमा देशभर बदली (आकाशमा बादल) र केही स्थानमा वर्षा/हिमपात हुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिमी वायुको प्रणालीले यो वर्षको हिउँदको पहिलो वर्षा गराउने उनले जानकारी दिए ।

“बदली त देशभरि नै हुनेछ, विशेष गरी पश्चिमी क्षेत्रमा बढी प्रभाव पर्नेछ,” उनले बाह्रखरीसित भने, “सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ ।”

Argakhachi Cement Island Ad

यसबाहेक अरू केही क्षेत्रमा बदली र हल्कासम्म वर्षा हुन सक्ने उनले बताए । हिमाली र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको उनले जानकारी दिए ।

asdfgm-1733581180.jpg
उनका अनुसार, हाल भित्रन लागेको उक्त मौसमी प्रणाली लामो समय यहाँ रहँदैन । पश्चिमी क्षेत्रबाट प्रवेश गरेर त्यो छोटो अवधिमै पूर्व हुँदै बाहिरिनेछ ।

“लामो सिस्टम (प्रणाली) छैन । आइतबार (भोलि) रातितिर प्रवेश गरेर सोमबार (पर्सि) अपराह्नतिर बाहिरिनेजस्तो देखिन्छ,” उनले भने ।

मौसमविद् अर्याल यसलाई ‘एकदिने प्रणाली, दुई दिन प्रभाव’ भन्छन् । अर्थात्, आइतबार र सोमबार त्यसको प्रभाव पर्छ, तर त्यो एक दिन समयजतिको हुन्छ ।

“मंगलबारदेखि त क्लियर (मौसम सफा) नै हुन्छ,” उनले भने, “सोमबार बेलुका–रातिसम्म त्यसको असर अलिअलि रहला ।”

उक्त अवधिमा काठमाडौंमा बदली हुन्छ । हल्का वर्षा पनि हुन सक्ने उनले बताए । तर, काठमाडौंमा वर्षाको मजबुत सम्भावना नरहेको उनले स्पष्ट पारे ।

“जाडो भने जगाउँछ,” उनले भने, “त्यसको प्रभावले चिसो बढ्ने हुन्छ ।”

मधेस र कोसी प्रदेशका तराई भूभागमा बदली हुने तर वर्षाको सम्भावना न्यून देखिएको उनले बताए ।

यसबारे महाशाखाले विशेष बुलेटिन पनि जारी गरिसकेको छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ ।

२०८१ मंसिर २२ गते (शनिबार)

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

२०८१ मंसिर २३ गते (आइतबार)

दिउँसोːकोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

रातीː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू‍-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा  बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

२०८१ मंसिर २४ गते (सोमबार)

दिउँसोːसुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू‍-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा  गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

रातीː कर्णाली प्रदेश लगायत सुदूरपश्चिम प्रदेश,गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू‍-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको र बिहानको समयमा तराई तथा उपत्यका  धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्