site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बीआरआई सम्झौताबारे के भन्छन् सरोकारवाला ?

काठमाडौं । चीन सरकारसँगको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)बारे सरोकारवालाले धारणा राखेका छन् । शुक्रबार न्युज एजेन्सी नेपालले काठमाडौंमा आयोजना गरेको ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआई कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले आफ्नो धारणा राखेका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का सचिव रघुवीर महासेठले बीआरआईमा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताए । बीआरआई परियोजनाबाट नेपालमा बनेका रेल, सडकलगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने उनको तर्क छ ।

चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्न सक्ने भएकाले नेपालले बीआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता नरहेको उनले बताए । केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्‍याउन सक्ने भन्दै महासेठले बीआरआई फ्रेर्मवक परियोजना भारतविरोधी नभएको जिकिर गरे ।

Dabur Nepal
NIC Asia

नेपाल सरकारले चीनसँग बीआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गर्दै उनले बीआरआई फ्रेमवर्कमा बन्ने सडक पूर्वाधारमा अझै ओलाङ्चुङगोला, तमोरलगायत आयोजना समावेश गर्न बाँकी रहेको बताए । 

नेपालको प्रतिकूल नहुने गरी ऋण लिँदा केही समस्या नहुने भन्दै नेता महासेठले नेपाललाई चीन र भारतको विरोधस्थल बनाउन नदिने जिकिर गरे । नेपालले चीन र भारत मात्रै नभएर विश्वका कूटनीतिक सम्बन्ध भएका देशविरोधी गतिविधि गर्न दिन नहुने बताए । बीआरआई परियोजनामा ऋण र सहयोग केही पनि नपर्ने उनले दाबी गरे ।

‘‘ऋण चीनले दिने र देशले पनि लिने होइन । ऋण परियोजनाले लिने हो,’’ उनले भने, ‘‘नेपाल सरकारको सहयोगमा दुई देशको टिम बसेर निर्णय गर्छ । नेपाल सरकारले तिर्नेगरी ऋण हुँदैन । परियोजनाले तिर्नेगरी हुन्छ ।’’

एक चीन नीतिलाई नेपालले मात्रै नभएर अमेरिकाले पनि मानेको उल्लेख गर्दै नेता महासेठले विश्व राजनीतिक उत्तारचढावको कारणले अहिले नमानेको तर्क गरे । अहिले ताइवान स्वतन्त्र राष्ट्र भएको उनले बताए ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍श्रीलंका ऋण लिएर डुबेको नभई ऋणको दुरुपयोग गरेका कारण डुबेको उनको जिकिर छ । उनले भने, ‘‘श्रीलंकामा गृहयुद्ध, आर्थिक संकट, प्रतिबद्धता गरेको लगानी राख्न सकेन र चीनले ऋण दियो । आन्तरिक कारणले श्रीलंकाले चलाउन नसक्दा चीनले चलाएको हो ।’’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले सरकारले छिमेकी राष्ट्रहरूसँग गर्ने सन्धि सम्झौताहरूलाई गिजोलिरहेको बताए । उनले बीआरआईमा पनि औपचारिक डकुमेन्टहरू सार्वजनिक नगर्नुले ऋण हो वा अनुदान भन्नेमा आम नागरिकमा आशंका पैदा हुने बताए ।

उनले बीआरआई परियोजना अन्तर्गतका विषयहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका सन्धि र सम्झौता सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए । सरकारले गरेका सम्झौताहरू सार्वजनिक नहुँदा सञ्चारमाध्यममा आएका समाचारका आधारमा धारणा बनाउनुपर्ने र त्यसले आशंका पैदा भइरहने उनको भनाइ छ ।

"बीआरआईकै विषयमा पनि औपचारिक डकुमेन्ट्सहरू सार्वजनिक भएको छैन । नेपालले २०१७ का मेमा बीआरआईसँग सम्बन्धित एमओयूमा साइन गर्‍यो । हाम्रो संसद्‌मा कम्तीमा पनि यि विषयहरू छलफल भइदियो भने राम्रो हुन्छ । सामान्यतः हाम्रो दुई पक्षिय सन्धि सम्झौतापछि प्रश्न देखिने गरेको छ । एउटा त्यो सम्झौता अत्यन्त ठिक हो, अर्को होइन, त्यहाँ भएका सबै कुरा बेठिक हुन् भन्ने भाष्य निर्माणमा लागेको देखिन्छ । त्यो बीचको तथ्यमा बसेर हाम्रा धारणाहरू बन्नुपर्छ । त्यो बन्न सकेको छैन," उनले भने ।

सांसद खनालले परराष्ट्र नीतिलाई दलीयकरणको जालोमा लैजान खोजेको कुरा प्रधानमन्त्री ओलीको चीन भ्रमणअघिका गतिविधिले देखाएको आरोप लगाए ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताए । भ्रमण दलका सदस्यसमेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानुन, निजी क्षेत्रले लिने पहललगायतबारे चिनियाँ व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए । परम्परागत कानुन परिमार्जन, वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको उनले बताए । 

क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको उनले दाबी गरे । अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सीधा उडानका लागि पनि छलफल गरेको बताए ।

‘‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानून र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो,’’ उनले भने, ‘‘क्रेडिट रेटिङ हुनु आफैँमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ ।’’

२०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सडक, हवाई, रेल र सञ्चार सञ्जाल प्राथमिकताका साथ राखेको जानकारी दिए । 

यस्तै, बीआरआई फ्रेमवर्क कार्यदलका विज्ञ सदस्य तथा अधिवक्ता सेमन्त दाहालले बीआरआई परियोजनामा ऋण वा अनुदान लिने सर्वाधिकार नेपालसँग रहेको बताए । उनले यो विषय चीन सरकारले समेत स्वीकारिसकेको बताए । उनले नेपाललद्वारा प्रवर्द्धित परियोजनामा बीआरआईलाई ऋण लिने वा अनुदानका रूपमा स्वीकार्ने भनेर आफ्नो अनुकूलताको आधारमा निर्णय लिन सक्ने अधिकार नेपालसँगै रहेको बताए ।

मिडियामा आएजस्तो नेपालले गलत प्रस्तावमा हस्ताक्षर नगरेको उनको दाबी छ । उनले बीआरआई कार्ययोजना निर्माण गर्न बनेको कार्यदलको प्रस्तावअनुसार नै हस्ताक्षर गरेकाले कोही पनि डराउनुनपर्ने जिकिर गरे । नेपालले परियोजनाको महत्त्वलाई हेरेर निष्कर्षमा पुग्न सक्ने  भएकाले अन्य देशहरूसँग समेत योजनाहरूमा सहकार्य गर्ने बाटो खुला भएको दाबी गरे ।

"आर्थिक सहकार्यमा नेपालको विकास र आवश्यकतालाई ध्यानमा राख्छौँ भनेर लेखिएको छ । त्यसकारण हामीले कुनै पनि परियोजनालाई कार्यान्वयन गर्नका लागि वित्तीय सहयोग चाहिन्छ । वित्तीय स्रोतको सवालमा यहाँबाट प्रस्तावित कागजातमा मिडियामा आएको ‘ग्रान्ड फाइनान्सिङ मोडालिटी’को प्रस्ताव भएकै हो," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro