site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाइडबडीमा विचौलियासँग घुस खानेमाथि छुट्टै अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । वाइडी बडी प्रकरणमा बिचौलिया दीपक शर्माबाट घुस बुझ्ने नेपाली उच्चअधिकारीबारे तत्काल छुट्टै अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

वाइडी प्रकरणसँगै बोलपत्र आफ्नो पक्षमा पार्न शर्मा सौदाबाजी संलग्न रहेको र घूस खुवाएको अमेरिकामा उठिसकेको थियो । तर, अख्तियारले उक्त घूसका विषयमा अनुसन्धान नगरी मुद्दा दायर गरेको थियो ।

नेपाली मूलका बेलायती नागरिक शर्माले अमेरिकामा खोलिएको ‘एएआर कर्प’ वाइडी बडी जहाज आपूर्तिमा मुख्य भूमिका खेलेको थियो । अख्तियारले शर्मालाई अभियुक्त बनाएको थियो । तर, शर्माले क–कसलाई घूस दिए भन्ने सवालमा अख्तियारले अनुसन्धान गरी अभियोग लगाएको थिएन ।

Dabur Nepal
NIC Asia

शर्माले निगमका अधिकारीहरुलाई घूस खुवाएको विषयमा अमेरिकामा स्वीकार गरिसकेको हुँदा छुट्टै अनुसन्धान गर्न अदालतले आदेश दिएको हो । विशेष अदालतले भनेको छ, ‘‘शर्माले सौदावाजी सम्झौतामा २०२४ जुलाई १७ (२०८१ साउन ९) मा हस्ताक्षर गरी स्वीकार गरेको देखिन्छ । सो सम्बन्धमा तत्काल छुट्टै अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन आयोगमा लेखी पठाउने समेत ठहर्छ ।’’

शर्माले निगमका पदाधिकारीहरुसँग मिलेमतोमा योजनाबद्ध तरिकाले नेपालको खरिद कानुनविपरीत मूल्य बढाएका थिए । निर्धारित समयमै जहाज आपूर्ति नगरी गैरजिम्मेवार र बद्नियतपूर्वक काम गरेका थिए । निगमका पदाधिकारीहरुलाई प्रलोभनमा पारी ‘नेगोसिएसन’का बाहनामा शर्तमाथि शर्त थोपर्ने मात्र होइन कि एकातिर भारबहन क्षमता घटाएको र अर्कातिर मूल्यसमेत बढाउँदै लाभ लिएका थिए ।

जहाजको भारबहन २३० टनमा झारिएको र मूल्य चाहिँ २४२ टनकै लिँदै १ करोड ३३ लाख ८८ हजार १ सय ९ अमेरिकी डलर भ्रष्टाचार भएको आयोगको अनुसन्धानले खुलाएको थियो । त्यसमा विशेष अदालतले आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी आपूर्तिकर्ताकै शर्तहरु स्वीकार गरी निगमलाई अन्तिम भुक्तानीको सटहीदरका आधारमा एक अर्ब ४७ करोड १० दश लाख ८५ हजार ४ सय ८२ रुपैयाँ पचासी पैसा भ्रष्टाचार भएको ठहर गरेको छ ।

जहाज आपूर्तिकर्ता कम्पनीका अभियुक्तहरु कोही पनि विशेष अदालतमा बयान दिन उपस्थित भएनन् । उनीहरु उपस्थित नभए पनि तिनको बद्नियतपूर्वक संलग्नता रहेको ठहर विशेष अदालतको छ । 

उता, शर्मा अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ उल्लंघनको अभियोगमा दोषी ठहरिएका थिए । अमेरिकाको कोलम्बिया जिल्लाको डिपार्टमेन्ट अफ जस्टिसले जहाजको बोलपत्र सौदाबाजीमा अनुसन्धान गरेको थियो । जहाजको बोलपत्र प्राप्त गर्न दीपक शर्माले निगमका अधिकारीलाई घूस खुवाएको ठहर गरेको थियो ।

घूस खुवाउन अमेरिका, आयरल्याण्ड, युनाइटेड अरब इमिरेट्समा बैंकिङ खाता खोलिएको तथ्य पनि बाहिर आएको छ । शर्माले २५ लाख अमेरिकी डलर घूस खुवाएको तथ्य सार्वजनिक छ । यसरी घूस खुवाउने काम सन् २०१५ देखि सन् २०१९ सम्म भएको थियो । घूसकै कारण वाइड बडीको टेण्डर पाएको पनि शर्माले अमेरिकामा स्वीकार गरेका छन् । 

निगमले अमेरिकी कम्पनी एएआर कर्पाेरेसनबाट दुईवटा वाइड बडी ‘ए३३०–२००’ जहाज खरिद गरेको थियो । एएआर आपूर्तिकर्ता कम्पनी हो, निर्माता कम्पनी होइन । जहाज खरिद प्रक्रिया शुरु हुँदाका बखत निर्माता कम्पनीसँग खरिद नगरी कारोबारी बिचौलिया कम्पनीसँग सम्झौता गरेपछि प्रश्न उठेको थियो । 

निगमले युरोपेली जहाज अमेरिकी एएआर कम्पनीमार्फत खरिद गरेको थियो । एएआर कम्पनी जहाज भाडामा दिने कम्पनी हो । उक्त कम्पनीबाट शर्मा जहाज खरिद–बिक्रीमा बिचौलिया भूमिका निर्वाह गरेका थिए ।

२०७३ असोजमा वाइडबडी विमान निम्ति बोलपत्र आह्वान गरेको थियो । निगमले २०७३ माघ २ गते एएआर कम्पनीसँग जहाज खरिद गर्ने आशय व्यक्त गर्यो । त्यसको बाह्र दिनपछि जहाज खरिद समझदारी गर्दै २०७३ फागुन ४ गते १० लाख अमेरिकी डलर बैना रकम पठाएको थियो ।

डेढ महिनापछि जहाज खरिद सम्झौता भएको थियो । २०७५ असार १४ पहिलो जहाज नेपाल भित्रिएको थियो भने करिब एक महिनापछि दोस्रो जहाज नेपाल भित्रिएको थियो ।

निगमलाई जहाज बिक्रीका निम्ति कम्पनीहरुबीच ‘कन्सर्टिम’ बनेको थियो । जसमा एएआर इन्टरनेसनल इन्क, जर्मन एभिएसन क्यापिटल, हाइ फ्लाइ ट्रान्सपोर्ट एरोज संलग्न थिए । त्यसअतिरिक्त ‘स्पेसियल प्रपोज कम्पनी’ले जहाज बिक्रीबाट प्राप्त रकम व्यवस्थापन गर्न ‘एस्क्रो एजेन्ट’का रुपमा नर्टन रोज फुलब्राइट कम्पनी संलग्न रहे ।

विशेष अदालतले जहाज बिक्रीमा संलग्न कम्पनी र छ जना विदेशी नागरिकलाई दोषी ठहर गरेको छ । अदालतले ‘एस्क्रो एजेन्ट’का प्रतिनिधिलाई आरोपबाट सफाइ दिएको थियो । जहाज खरिद प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रहेको देखिन नआएको र भुक्तानीको क्रममा संलग्न भएको हुँदा सफाइ दिएको हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro